लखनउ — बलिङ र ब्याटिङमा प्रभाव देखाउँदै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ । सिजनको पहिलो दुवै खेल जित्ने रोयल च्यालेन्जर बेङ्लुरु र दिल्ली क्यापिटल्सपछि तेस्रो टोली हो ।
टस हारेर ब्याटिङमा आएको लखनउलाई पञ्जाबले १७१–७ को स्कोरमा रोकेको थियो । प्रभसिमरन सिंह र कप्तान श्रेयश ऐरले अर्धशतक बनाएपछि पञ्जाबले १६.२ ओभरमै लक्ष्य पूरा गरेको थियो । प्लेयर अफ द म्याच सिंहले ३४ बलमा ६९ र लगातार दोस्रो खेलमा अर्धशतक बनाउने क्रममा ऐरले ३० बलमा अविजित ५२ रन बनाए ।
सिंहले ९ चौका र ३ छक्का तथा ऐरले ३ चौका र ४ छक्का प्रहार गरे । अघिल्लो खेलमा अविजित ९७ रन बनाएका ऐरले स्कोर बराबर भएको समयमा विजयी छक्का प्रहार गरेका थिए । नेहल वाधेराले २५ बलमा अविजित ४३ रन बनाउने क्रममा ३ चौका र ४ छक्का प्रहार गरे । प्रियांश अर्या ८ रनमा आउट भएका थिए । लखनउबाट दुवै विकेट दिग्भेष राठीले लिए ।
यसअघि लखनउबाट निकोलास पुरनले ३० बल खेली ५ चौका र २ छक्का प्रहार गरी ४४, आयुष बदोनीले ३३ बल खेली १ चौका र ३ छक्कासहित ४१, ऐडन माक्रमले १८ बलमा २८, डेबिड मिलरले १८ बलमा १९ र अब्दुल समादले १२ बलमा २७ रन बनाएका थिए । मिचेश मार्स शून्य र कप्तान ऋसभ पन्त २ रनमै आउट भएका थिए । पञ्जाबबाट असरदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर ३ तथा लकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यान्सेन र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।
