जय ट्रफीको फाइनलमा पुलिस र आर्मी

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि खेल्नेछन्, चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय संरचनामा भएको थियो, फाइनल खेल तीनदिवसीय हुनेछ

पुस २९, २०८१

भूषण यादव, अजित तिवारी

Police vs Army in Jai Trophy final

जनकपुर, वीरगन्ज — जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने भएका छन् । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय संरचनामा भएका थिए । तर अब फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

पुलिस क्लबले जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसित बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा मधेश प्रदेशलाई एक इनिङ्स र ३२ रनले पराजित गरेको थियो । बागमतीसँग विजय हात पार्न पुलिसलाई खासै ठूलो चुनौतीको सामना गर्नु परेन । 

पुलिसले १ सय १६ रनको लक्ष्य २३ ओभरमा पूरा गरेको थियो । ओपनर दिलीप नाथ ४ रनमा आउट भए पनि कुशल भुर्तेल र अमित श्रेष्ठले आक्रामक खेल्दै ३२ बलमा ४३ रनको साझेदारी गरे । आरिफ शेखको अनुपस्थितिमा कप्तानी गरिरहेका कुशलले १९ बल खेली ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । 

पहिलो इनिङ्समा पनि ७९ रन बनाएका अमितले दोस्रो इनिङ्समा पनि अर्धशतक बनाए । उनले ४५ बलमा ५६ रन बनाउने क्रममा ९ चौका प्रहार गरे । शंकर राना १ र रसिद खान शून्यमा आउट भए । अर्जुन साउद २० र प्रेम तामाङ १ रनमा अविजित रहे । बागमतीका कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिश जीसी र सूर्य तामाङले १–१ विकेट लिए । 

यसअघि बिनाक्षति ८ रनबाट दोस्रो दिनको खेल प्रारम्भ गरेको बागमतीको दोस्रो इनिङ्स ५३ ओभरमा २ सय १८ रनमा टुंगिएको थियो । इशान पाण्डे ३ रनमा आउट भएपछि रित गौतम र शुभ कंसाकारले दोस्रो विकेटमा १ सय ९ रन जोडेका थिए । ४४ बलमा अर्धशतक पूरा गरेका शुभले ७४ बलमा ७२ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे । 

Police vs Army in Jai Trophy final

रितले ९३ बल खेली ८ चौकासहित ५२ रन बनाए । रोशन विक ४, उत्तम थापामगर १४, प्रतीक श्रेष्ठ १३, नन्दन १०, सन्दीप १६, प्रतिश ३ रनमा आउट भए । सूर्य र रिजन ढकालको जोडीले अन्तिम विकेटमा २४ रनको साझेदारी गरेका थिए । सूर्य ३० बल खेली २ चौका प्रहार गर्दै १६ रनमा आउट भए ।

रिजन १० रनमा अविजित रहे । पुलिसका देब्रेहाते स्पिनर ललित राजवंशीले २० ओभर गर्दै ५९ रन खर्चेर श्रवण यादवले ९ ओभर गर्दै ३३ रन खर्चेर २ तथा गुलशन झा, रसिद, कुशल र प्रेमले १–१ विकेट लिए । जय ट्रफीको फाइनल खेल वीरगन्जस्थित नारायणी रंगशालामा हुनेछ । फाइनल खेल्न पुलिस टोली सोमबार वीरगन्ज पुग्नेछ । 

८ विकेटले आर्मी विजयी

त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । नारायणी रंगशालामा आर्मीले २८ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गरी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

फलोअन गरेको मधेश प्रदेशले दोस्रो इनिङ्समा १ सय ५० रनमात्र बनाएपछि आर्मीले झिनो लक्ष्य पाएको थियो । पहिलो इनिङ्समा पनि १ सय २ रनमात्र बनाएपछि मधेस १ सय २३ रनले पछि परेको थियो । दोस्रो इनिङसमा मधेशबाट मयन यादवले सर्वाधिक ४९ रन बनाए । कप्तान हरिशंकर साहले २५ रन जोडे । अभिषेक तिवारी १९ र नीरज यादव १७ रनमा आउट भए । आर्मीका बसिर अहमदले चार विकेट लिए । उनले २०.१ ओभरमा ७ मेडन राख्दै २३ रन खर्चे । पहिलो इनिङ्समा ६ विकेट लिएका आर्मीका बलर शाहब आलमले दोस्रो इनिङ्समा ३ र आकाश चन्दले २ विकेट लिए । शाहब प्लेयर अफ द म्याच घोषित भए । 

आर्मीले २८ रनको लक्ष्य ६ ओभरमै पूरा गरेको थियो । इमरान शेखले ८ रन र बसिर अहमदले ४ रन बनाएर नट आउट रहे । मधेशका प्रदीप पासवानले आर्मीका तृतराज दासलाई १३ र सन्तोष कार्कीलाई ४ रनमा आउट गरे । टस हारेर ब्याटिङ गरेको आर्मीले २२५–९ मा पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो । बसिर अहमले ६७, भीम सार्कीले ५२ र इमरानले ४२ रन जोडेका थिए । मधेशबाट रञ्जित कुमारले ५ तथा प्रदीप पासवानले २, अभिषेक र हरिशंकरले १–१ विकेट लिए । 

जवाफमा मधेश ३५.५ ओभरमा १ सय २ रनमा अलआउट भएपछि टोली फलोअनमा परेको थियो । शाहबले ६, सोमपाल कामी, आकाश चन्द, बसिर र पवनले १–१ विकेट लिए । 

भूषण

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully