पहिलो दिन रहेको बलरको दबदबा चिर्दै मधेश प्रदेशका मयन यादवद्वारा शतक
जनकपुर/वीरगन्ज — नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको जय ट्रफी मेन्स इलाइट कप प्रतियोगितfको दुवै खेल बराबरीमा सकिएको छ । आर्मी र पुलिस एवं वाग्मती र मधेशबीच भएको दुई दिवसीय खेल बराबरीमा सकिएको हो । प्रतियोगितामा कुल चार टिम सहभागी रहने छन् । क्यानका पूर्व अध्यक्ष जयकुमारनाथ शाहको स्मृतिको उनकै नाम राखेर यो प्रतियोगिता हुने भएको हो ।
आर्मी र पुलिस बराबरी
शाहब आलमले घरेलु क्रिकेटकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै उनले सोमबार जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध ८ विकेट लिए । अघिल्लो दिन ५ विकेट लिएका उनले पुलिसको बाँकी रहेको ३ विकेट पनि लिए ।
नारायणी क्रिकेट रंगशालामा पुलिसले १०३–७ बाट दिनको खेल सुरु गरेको थियो । टोली २२ रन थपेर अलआउट भयो । पुलिसबाट गुलशन झाले सर्वाधिक ४७ रन बनाए । अघिल्लो दिनको खातामा १३ रन थपेका उनी शाहबको पहिलो सिकार भए । उनले ५४ बलमा समान ३ चौका र छक्का प्रहार गरे ।
प्रेम तामाङ ३९ बलमा १० र श्रवण यादव खाता नखोली आउट भए । दुवैलाई शाहबले आउट गरे । शाहबले १५.१ ओभरमा २ मेडन राख्दै ५८ रन खर्चेर ८ विकेट लिएका हुन् । काठमाडौं (क्षेत्र ३) बाट रितेश बरालले २०५७ मा नेपालगन्ज (क्षेत्र ५) विरुद्ध ७ विकेट लिएका थिए । पुलिसका ललित राजवंशीले पहिलो इनिङ्समा ४७ रन खर्चेर ७ विकेट लिएका थिए ।
शाहबको प्रदर्शनका बावजुद आर्मीलाई पुलिसले बराबरीमा रोकेको छ । आर्मीले पहिलो इनिङ्समा १ सय २१ रनमात्र बनाउन सक्यो । पुलिसले जबाफमा १ सय २५ रन बनायो । आर्मी दोस्रो इनिङ्समा १ सय ७५ रनमा अलआउट भयो ।
सोमपाल कामीले अविजित ८२ र तृतराज दासले ३४ रन बनाए । सोमपालले १ सय ३८ बलमा १० चौका र १ छक्का प्रहार गरे । सन्तोष कार्की ७, भीम सार्की १५, कुशल मल्ल २, बसिर अहमद र कप्तान विनोद भण्डारी समान १, पवन कार्की ९, विवेक यादव ११, शाहब ३ र आकाश चन्द ४ रनमा आउट भए । पुलिसका कुशल भुर्तेलले ४, गुलशन झाले ३ र ललित राजवंशीले २ विकेट लिए ।
एक सय ७२ रनको लक्ष्य पाएको पुलिसले ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । आर्मीले १४ र पुलिसले १५ अंक पाएको छ ।
पुलिसका ओपनरद्वय दिलीप नाथ (९) र कुशल भुर्तेल (५ रन) ले पुनः राम्रो सुरुआत गर्न सकेनन् । गुलशन पनि १ र रशिद खान १० रन बनाएर पेभेलियन फर्के । अमित श्रेष्ठले पुलिसबाट सर्वाधिक ३६ रन बनाए । अर्जुन साउदले ९४ बलमा १९ र शंकर रानाले ९ बलमा ५ रन बनाएर खेल बराबरीमा टुंग्याउन सहयोग गरे । शाहब र आकाशले २–२ तथा पवनले एक विकेट लिए । कुल १० विकेट लिएका आर्मीका शाहब प्लेयर अफ द म्याच भए ।
जब मयनको ब्याट चल्यो
ब्याटर मयन यादव जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । मधेश प्रदेशका उनले सोमबार जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती प्रदेशविरुद्ध १ सय ६ रन बनाएका थिए ।
बलरहरू विशेष गरी स्पिनर हाबी रहेको खेलमा मयनको शतकपछि मधेश विजय नजिक पुगेर रोकिएको थियो । उनले १ सय ८ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरेपछि मधेशले २११–९ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै बागमतीलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो ।
बागमतीले २० ओभरमा ६ विकेट गुमाई ९७ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा टुंगिएको थियो । दुवै टोलीले यो खेलबाट समान १५ अंक बटुलेका छन् ।
पहिलो इनिङ्सको आधारमा ४८ रनले पछाडि पर्दा मधेश दबाबमा परेको अवस्थामा मयनले सानदार ब्याटिङ प्रदर्शन गरेका थिए । उनलाई ३५ औं ओभरमा बागमतीका कप्तान सन्दीप लामिछानेले स्लिपमा रित गौतमबाट क्याच गराए ।
मयनसँग ओपनिङ जोडीको रूपमा आएका कप्तान हरिशंकर साह १२ बलमा ११ रन बनाएर रिजन ढकालको बलमा आउट भए । नीरजकुमार यादवले १७ बलमा ३ चौकासहित १७ रन बनाए । शाहिल पटेल शून्य र हिमांशु दत्त ८ रनमा आउट भए ।
मयनले विशाल पटेलसँग सातौं विकेटमा ५१ रनको साझेदारी गरे । सन्दीपको बलमा लगातार दुई चौका र एक छक्का प्रहार गर्दै मयन शतकतिर लम्किएका थिए । तर २२ औं ओभरमा सन्दीपले विशाललाई रनमा आउट गरे । मयनले ३४ औं ओभरमा १ सय २ बल खेल्दै आफ्नो शतक पूरा गरेका थिए । त्यसक्रममा उनले १२ चौका र २ छक्का प्रहार गरे । अभिषेक तिवारीले १९, रुपेश सिंह १४, भुलवान सहनी ४ रन बनाई आउट भए । सन्दीपले १७ ओभरमा ८८ रन खर्चिंदै ५ र सूर्य तामाङले ८.२ ओभरमा ३५ रन दिएर २ विकेट लिए ।
बागमतीबाट शुभ कंसाकारले २० बलमा २३, प्रतिश जिसीले २४ बलमा १६, रित गौतमले १७ बलमा २५, आशुतोष गहियाले २६ बलमा १७ रन जोडे भने इशान पाण्डे शून्यमा आउट भए । मधेशबाट हरिशंकरले ५ ओभरमा १४ रन दिएर ३, रुपेश, अभिषेक र रन्जितकुमारले १–१ विकेट लिए ।
यसअघि ३४–२ बाट दिनको खेल सुरु गरेको बागमती १ सय ५० रनमा अलआउट भयो । इशान ९, शुभ ३५, रोशन विक शून्य, उत्तम थापामगर १ र र प्रतिश शून्यमै आउट भए । सन्दीप र नन्दन यादवले आठौं विकेटमा ४८ रनको साझेदारी गरे । सन्दीपले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए । नन्दनले रिजन ढकालसँग अन्तिम विकेटमा ४१ रन जोडे । रिजनले २३ वलमा अविजित १३ रन बनाए । नन्दनले ५५ बल खेलि ६ चौका र १ छक्का प्रहार गरि ४७ रन बनाए । मधेशका रुपेशले १० ओभरमा ३२ र अभिषेकले ६.५ ओभरमा २५ रन खर्चेर ४–४ तथा विशाल र रञ्जितकुमारले १–१ विकेट लिए ।
