काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ । जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । जनकपुरले १ सय ३९ रनको लक्ष्य १७.१ ओभरमा १ सय ४३ रन बनाउँदै पूरा गर्यो ।
जिम्मी निशम २० बलमा ४० र हर्ष ठाकर १४ बलमा १३ रन अविजित रन बनाई जनकपुरलाई विजय दिलाए । निशमले ५ छक्का प्रहार गरे । म्याट क्रिच्लेको एकै ओभरमा ३ छक्कासहित २४ रन प्रहार गरेका उनले नै विजयी छक्का प्रहार गरेका थिए । कप्तान अनिल साह १ रनमै आउट भएका थिए ।
आसिफ शेखले ३३ र लाहिरु मालिन्थाले ४५ रन बनाउँदै विजयको आधार तयार पारेका थिए । आसिफले ३४ बल खेली ३ चौका र मालिन्थाले ३२ बल खेली ८ चौका प्रहार गरे । पोखराबाट विपिन खत्री, माइकल लिस्क र कप्तान कुशल भुर्तेलले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभर खेली ७ विकेट गुमाई १ सय ३८ रन बनाएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा म्याट क्रिच्लेले पोखराबाट सर्वाधिक ३५ रन बनाए । उनले ३० बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
माइकल लिस्कले १३ बल खेली ३ छक्कासहित २५ रन बनाए । उनलाई अन्तिम ओभरमा किशोर महतोले आउट गरे । किशोरले अन्तिम ओभरमा ३ रनमात्र दिएका थिए । ओपनरद्वय दिनेश खरेल १० र एन्ड्रयु गाउसले २० रन बनाए । गाउसले १६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले फेरि निराश पारे । उनलाई ललित राजवंशीले स्टम्प आउट गरे । दीलिप नाथ ११ र रामोन रिफर १७ रनमा आउट भए ।
जनकपुरबाट ललितले ४ ओभरमा ३१ रन खर्चेर ३ र जिम्मी निशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । पोखराको यो लगातार दोस्रो हार हो ।
