नेपाली पौडीवाजले तरंगित त्यो ओलम्पिक

पेरिस ओलम्पिकमा नेपालका दुई पौडीवाज एलेक्जेन्डर शाह र डुवाना लामाको सहभागिता रहनेछ 

श्रावण ८, २०८१

ध्रुव तुलाधर

That Olympics waved by Nepalese swimmers

काठमाडौँ — ओलम्पिकमा नेपाली पौडी खेलाडीले सहभागिता जनाउन थालेको पनि २८ वर्ष भइसक्यो । नेपाली पौडीवाजले पहिलो पटक सन् १९९६ को एटलान्टा ओलम्पिक खेलेका थिए । यो त्यही ओलम्पिक हो, जहाँ तत्कालीन युवराज दीपेन्द्र पनि खेलाडीको हौसला बढाउन अमेरिका पुगेका थिए ।

२६ औं ग्रीष्मकालीन ओलम्पिक एटलान्टामा ६ खेलाडीको सहभागिता रहँदा पौडीमा सीताराम शाही र निस्मा गुरुङले प्रतिस्पर्धा गरेका थिए । जतिबेला निस्मा नेपाली टोलीकी कान्छी खेलाडी थिइन् । उनको उमेर १६ वर्ष मात्र थियो । पौडीबाट कम उमेरमै ओलम्पिक खेल्नेक्रममा रुना प्रधानले १५ वर्षमै सिड्नी र श्रेया धितालले १७ वर्षमै लन्डन ओलम्पिक खेलेको इतिहास छ । यो नेपालका लागि मात्र भयो ।

That Olympics waved by Nepalese swimmersगौरिका सिंह त ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी भइदिइन् । सन् २०१६ को रियो ओलम्पिक खेल्दा गौरिकाको उमेर १३ वर्ष २५५ दिन मात्र थियो । २०७ राष्ट्रका ११ हजार २ सय ३८ खेलाडीले रियोमा भाग लिँदा गौरिका सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । ओलम्पिक सुरु हुनुअघिदेखि नै गौरिका चर्चाको शिखरमा रहिन् । जसले गर्दा नेपालको ओलम्पिक सहभागितामै तरंग ल्याइदिएको थियो । ग्रीष्मकालीन ओलम्पिक भए पनि आयोजक देश ब्राजिलमा विन्टर सिजन (जाडो मौसम) चलिरहेको थियो ।

लन्डनमा हुर्केबढेकी गौरिकाले रियो जानुअघि १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र ३ कांस्य पदक जितेर हलचल मच्चाएकी थिइन् । सागको पौडी इतिहासमा नेपालका लागि व्यक्तिगत ‘इभेन्ट’मा त्यो पहिलो ऐतिहासिक पदक थियो । १३ औं सागमा त गौरिकाले ४ स्वर्ण नै जितिन् ।

नयना शाक्य, करिस्मा कार्की, शिरीष गुरुङलगायतका पौडीवाज घरेलु पौडीमा जगजगी मच्चाएर ओलम्पिक पुगेको खेलाडीमा पर्छन् । तर, ओलम्पिक पौडीमा नेपालको प्रदर्शन भने व्यक्तिगत उत्कृष्ट र राष्ट्र्रिय कीर्तिमानमै समेटिँदै आएको छ । कुनै पनि खेलाडी हिट चरणभन्दा अगाडि बढ्न सकेका छैनन् । यसअघि पौडीबाट ओलम्पिकमा गौरिका र प्रसिद्धजंग शाहले मात्र लगातार दुई ओलम्पिक खेलेको इतिहास छ ।

यो त भयो इतिहासका कुरा । अब तीन दिनपछि हुने पेरिस ओलम्पिकमा नेपालका दुई पौडीवाजले भाग लिनेछन् । त्यसमा एलेक्जेन्डर शाह र डुवाना लामा छन् । एलेक्जेन्डर पनि लगातार दुई ओलम्पिक खेल्ने पौडीवाजमा नाम लेखाउँदै छन् । उनले तीन वर्षअघि टोकियो ओलम्पिक खेलेका थिए ।

That Olympics waved by Nepalese swimmersउनीहरू दुवै ‘युनिभर्सालिटी कोटा’ बाट ओलम्पिक छनोट भएका हुन् । एलेक्जेन्डर (एलेक्स) अमेरिका र डुवाना थाइल्यान्डमा रहेकाले उतै रही आफ्नो तयारी पूरा गरेका थिए । उनीहरू उतैबाट पेरिस पुगेका छन् । पेरिसमा एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइल र डुवानाले महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । दुवैको लक्ष्य आफ्नो प्रदर्शन सुधार्दै राष्ट्रिय कीर्तिमान रच्नु हो ।

एलेक्सको ‘इभेन्ट’मा राष्ट्रिय कीर्तिमान उनकै नाममा छ । गत फेब्रुअरीमा वर्ल्ड एक्वाटिक च्याम्पियनसिप, दोहामा उनले उक्त कीर्तिमान स्थापित गरेका थिए । त्यहाँ उनले ५२.१७ सेकेन्डबाट दूरी पार गरे । उनी १०८ प्रतिस्पर्धीमा ६२ औं स्थानमा थिए । उनले त्यसअघि टोकियो ओलम्पिकमा बनाएको ५३.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधारेका हुन् । टोकियोमा उनी ७० प्रतिस्पर्धीमा ५९ औं स्थानमा थिए । उनले टोकियो ओलम्पिक उद्घाटनको मार्चपासमा गौरिकासँगै राष्ट्रिय झन्डा बोकेका थिए ।

गत वर्ष चीनमा भएको १९ औं एसियाली खेलकुदमा भने एलेक्सको प्रदर्शन उत्साहजनक रहेन । सोही ‘इभेन्ट’मा उनको प्रदर्शन ५४.१४ सेकेन्डको थियो । सागकी पदकधारी डुवाना भने गौरिकाको कीर्तिमान तोड्ने अभियानमा हुनेछिन् । २०० मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान (२ मिनेट ११.९४ सेकेन्ड) गौरिकाको नाममा छ । यो गौरिकाले सन् २०१७ को २० औं नेसनल पौडी च्याम्पियनसिपमा बनाएकी हुन् ।

That Olympics waved by Nepalese swimmersडुवानाले १३ वर्षकै उमेर दक्षिण एसियाली खेलकुद (साग) खेलिन् । आफ्नै देशमा भएको १३ औं सागकी दुई रजत र तीन कांस्य जितिन् । डुवानाको २०० मिटर फ्रिस्टाइलमा व्यक्तिगत उत्कृष्ट टाइमिङ भने २ मिनेट १२.४६ सेकेन्ड हो । यो टाइमिङ गत जुलाईमा वर्ल्ड एक्वाटिक च्याम्पियनसिप (जापान, फुकुओवा) मा बनाएकी थिइन् । डुवानाले फेब्रुअरीमा दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा भाग लिएकी थिइन् । त्यहाँ उनको टाइमिङ २ मिनेट १४.५० सेकेन्डको थियो । हाङचाउ एसियाड पनि खेलेकी डुवानाले त्यहाँ भने ब्रेस्टस्ट्रोकमा खेलेकी थिइन् ।

डुवाना तिनै जलपरी हुन्, जसले नवौं राष्ट्र्रिय खेलकुद, पोखरामा सर्वाधिक ९ स्वर्ण र एक रजत जितेकी थिइन् । त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन उनको व्यक्तिगत योगदान विशेष रह्यो । नेपालगन्जको आठौं राष्ट्रिय खेलकुदमा पनि ५ स्वर्ण र ६ रजत जितेकी पौडीवाज हुन् ।

पेरिसमा एलेक्स र डुवानाको प्रशिक्षकका रूपमा नयना शाक्य गएकी छन् । पूर्वओलम्पियन नयना दुवै खेलाडीले राम्रो प्रदर्शन गर्ने बताउँछिन् । उनले भनिन्, ‘ओलम्पिकमा हाम्रो प्रदर्शन भनेको व्यक्तिगत उत्कृष्ट गर्दै ‘नेसनल रेकर्ड’ बनाउनु हो । एलेक्स र डुवाना दुवैको तयारी हेर्दा हामी त्यो लक्ष्य पूरा गर्न सक्छौं ।’

खेलाडी करिअरपछि प्रशिक्षक बनेकी नयनाले दुवै खेलाडी बाहिर ट्रेनिङ गरिराखेको भए पनि उनीहरूको ‘प्रोगेस रिपोर्ट’बारे अपडेट भइराखेकाले आफू विश्वस्त रहेको बताइन् । थाइल्यान्डमा अध्ययनरत डुवाना नेपाल आतेजाते गरिरहन्छिन् । यहाँ नयनाले नै ट्रेनिङ गराइरहेकी हुन्छिन् । त्यसले गर्दा डुवानाको प्रदर्शनमा उनी जानकार छिन् । एलेक्ससँग समन्वय गरी अपडेट लिइरहेको र उसलाई पनि आवश्यक सुझाव दिइरहेको प्रशिक्षक नयनाले बताइन् ।

सोमबार पेरिस उडेकी प्रशिक्षक नयनाले भनिन्, ‘पहिला खेलाडीका लागि ओलम्पिक गएकी थिएँ । अब प्रशिक्षकका रूपमा जाँदै छु । एकदमै उत्साही छु ।’ उनले २००४ को एथेन्स ओलम्पिक खेलेकी थिइन् । २० वर्षपछि फरक भूमिकामा ओलम्पिक फर्केकी नयनाले त्यहाँ गएर नयाँ कुरा सिक्न पाउने आसमा आफू उत्साही भएको बताइन् । भनिन्, ‘अहिले प्रशिक्षकको जिम्मेवारी छ । आफ्ना खेलाडीलाई कसरी उच्च प्रदर्शन दिलाउने त्यो मुख्य काम नै भयो । त्यसबाहेक त्यहाँ त विश्वका एकसेएक उत्कृष्ट प्रशिक्षक, ट्रेनरहरू आउँछन् । उनीहरूबाट धेरै कुरा सिक्न पाउँछु भन्ने लागेको छ ।’

राष्ट्रियमा जलपरी छवि बनाएकी नयना आठौं साफको रिलेमा स्वर्ण र एसिया प्यासिफिक एज ग्रुप पौडीमा दुई कांस्य जितेकी खेलाडी हुन् । उनले दुई एसियाली खेलकुदसहित आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully