ओलम्पिक खेल्न जाने खेलाडीलाई राष्ट्रपति पौडेलद्वारा बिदाइ

श्रावण ४, २०८१

कान्तिपुर संवाददाता

President Poudel bids farewell to athletes going to the Olympics

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको भन्दै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

उनले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले दृढ संकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई समेत सुझाव दिए । सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । 

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरू सहभागी थिए । 

कान्तिपुर

Link copied successfully