लुम्बिनी प्रदेश सभाको बैठक सत्तापक्षबाटै बहिष्कार- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी प्रदेश सभाको बैठक सत्तापक्षबाटै बहिष्कार

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बजेटमाथिको छलफल सकिएर मन्त्री र मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सभामुख पूर्णबहादुर घर्तीले सहमतिका लागि आधा घण्टाको समय दिएका हुन् ।

समय दिनुअघि नै सत्ता पक्षले नै बैठक बहिष्कार गर्दै बैठकस्थलबाट मुख्यमन्त्री पोखरेलसहित मन्त्री र सदस्यहरु बाहिरिएका छन् ।

अहिले जारी छलफलमा सत्ता पक्षले सहमति गरेर अघि बढ्न आग्रह गरेको छ । विपक्षी गठबन्धनले बजेटलाई प्रक्रियामा लगेर टुंगो लगाउने अडान राखेको छ । मुख्यमन्त्री पोखरेलले बैठकमा जवाफ दिँदै बजेटलाई सफल बनाउन आग्रह गरेका छन् । उनले बजेट असफल हुँदा अस्थिरताको दुश्चक्रमा फस्दै गएकाले गम्भीर भएर छलफल गरी अघि बढ्न पनि आग्रह गरेका छन् ।

विपक्षी गठबन्धनले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । विपक्षी गठबन्धनको निर्णयसँगै सरकार संकटमा परेको छ । सरकारले असार १ गते ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

विपक्षले सरकार अल्पमतमा रहेको भन्दै वैधानिक रुपले बहुमत सावित गर्न वा विश्वासको मत लिनुपर्ने अडान राख्दै बजेट माथिको छलफल अवरोध गर्दै आएको थियो । दुवै पक्षको सहमतिपछि आइतबारदेखि मंगलबारसम्म बजेट माथि छलफल भएको थियो ।

बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्री र मुख्यमन्त्रीले दिएपछि बजेट निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तयार भएको थियो । बजेट निर्णयार्थ प्रस्तुत हुनु पूर्व सत्ता पक्षका मुख्य सचेतक भुमिश्वर ढकालले छलफलका लागि समय उपलब्ध गराउन माग गरेपनि विपक्षी गठबन्धनले प्रक्रियामा लैजान भनेपछि सत्ता पक्षका मुख्यमन्त्रीसहित सरकारका मन्त्री र प्रदेश सभा सदस्यहरु बैठकस्थलबाट बाहिरिएका हुन् ।

सरकार अल्पमतमा परेपछि बजेट थप अन्योलमा परेको छ । सत्ता पक्षका मुख्य सचेतक ढकालले छलफल गरेरै अघि बढ्ने बताए ।

प्रकाशित : असार ३१, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्‍त्री देउवा

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर : रासस

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

प्रकाशित : असार ३१, २०७८ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×