कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय क्‍वारेन्टाइनबाट एक सयजना नेपाल आए

माधव ढुंगाना

भैरहवा — भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको छ । 

भारतीय क्‍वारेन्टाइनबाट एक सयजना नेपाल आए

भारतका विभिन्न स्थानबाट घर फर्केका उनीहरुलाई गत चैत १८ गते लकडाउन र सिमाना सिल भएपछि सुनौली दशगजाबाट नौतनवाको क्वारेन्टाइनमा बस्नेगरी फर्काइएको थियो । १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन दिइने भन्दै फर्काइए पनि ३ हप्तासम्म नेपाल ल्याउन सरकारीस्तरबाट पहल नगरिएपछि उनीहरु निकै आक्रोशित थिए । नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई शुक्रबार स्वदेश ल्याइएको हो ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले ३ हप्ता अघि नौतनवाको क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई तीन चरणमा स्वदेश ल्याइने बताए । उनका अनुसार, उनीहरुलाई स्वदेश ल्याउने बारेमा केन्द्र सरकारले स्थानीय स्तरबाट निर्णय गर्नु भनेर निर्देशन दिएपछि स्वदेश ल्याउन थालिएको हो ।

प्रजिअ पन्थले स्वदेश ल्याउने क्रममा उनीहरु सबैको नेपालतर्फ सिमानामै कोरोनासम्बन्धि स्वास्थ्य जाँच गरेर र सम्बन्धित जिल्लामा पुन १४ दिनको क्वारेन्टाइनमा बस्ने गरी पठाइने बताए । ‘सिमानामै उनीहरुको आरडिटीबाट स्वास्थ्य परीक्षण गरिन्छ,’ पन्थले भने, ‘परीक्षणका क्रममा नेगेटिभ देखिएमा सम्बन्धित जिल्लामा १४ दिन क्वारेन्टाइनमा बस्ने गरेर र पोजिटिभ देखिनेलाई बुटवलस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखिने व्यवस्था गरेका छौं ।’

नौतनवा क्वारेन्टाइनमा रहेका सबैको एकै दिनमा स्वास्थ्य परीक्षण सम्भव नभएकाले तीन चरणमा ल्याउने व्यवस्था गरिएको उनले बताए । नेपाल प्रवेश गर्नासाथ सिमानामै उनीहरुलाई लाइनमा लगाएर स्वास्थ्यकर्मीले आरडिटी स्वास्थ्य परीक्षण गर्न सुरु गरेका छन् ।

शुक्रबार नेपाल ल्याइएकामध्ये ३४ जना अर्घाखाँची जिल्लाको मालारानी गाउपालिकाका छन् । मालारानी गाउपालिकाका अध्यक्ष बालकृष्ण आचार्य आफ्ना जिल्लाका बासिन्दालाई लिन अर्घाखाँचीबाटै बस लिएर सिमानासम्म आइपुगेका छन् । उनले आफ्नो गाउँपालिकामा व्यवस्था गरिएको क्वारेन्टाइनमा १४ दिनसम्म राखिने बताए ।


रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले अन्य जिल्लाका बासिन्दाको हकमा नौतनवा क्वारेन्टाइनमा रहेका सबैजना आइसकेपछि मात्र कसरी पुर्‍याउने भन्नेबारेमा निर्णय लिइने बताए । उनका अनुसार सबै जम्मा नआउँदासम्मका लागि पहिला आएकालाई भैरहवाकै क्वारेन्टाइनमा राखिने छ ।

सिमानादेखि करिब डेढ किमी वर डन्डापुल नजिकैको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा नेपालको क्वारेन्टाइनमा राखिएका १ सय ५४ जना भारतीय नागरिकलाई स्वदेश पठाउने बारेमा भने शुक्रबारसम्म कुनै निर्णय गरिएको छैन ।

प्रकाशित : वैशाख १२, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?