सभापतिको निर्देशन पालना नगरे रास्वपा संसदीय दल नेताको पद स्वतः रिक्त हुने

संसदीय दलको नेतालाई फिर्ता बोलाउने व्यवस्था पनि विधानमा राखिएको छ । 

असार २२, २०८३

जयसिंह महरा

The post of RSVP parliamentary party leader will automatically become vacant if the chairman's instructions are not followed.

What you should know

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको मार्गनिर्देशन पालना नगरेमा पार्टी संसदीय दलको नेताको पद स्वतः रिक्त हुने प्रावधान विधानमा राखेको छ । चितवनमा ७ देखि १३ असारसम्म भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा संसदीय दलको नेताको पद रिक्त हुने प्रावधानमा सभापतिको मार्गनिर्देशन नमाने भन्ने व्यवस्था राखिएको छ ।

रास्वपामा सभापति रवि लामिछाने छन् । उनी महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् । रास्वपा संसदीय दलको नेतामा वालेन्द्र शाह छन् । गत  १३ पुसमा भएको सभापति लामिछाने र शाहबीचको सहमतिअनुसार पार्टीको नेतृत्व सभापतिले र सरकारको नेतृत्व वरिष्ठ नेताले गर्ने भनिएको थियो । ७ बुँदे सहमतिअनुसार वरिष्ठ नेताले सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

पार्टी विधानमा सभापतिले दिएको निर्देशन नमानेको अवस्थामा संसदीय दलको नेताको पद स्वतः रिक्त हुने प्रावधान राखिएको छ । विधानको दफा ६८ मा 'संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वानसम्बन्धी व्यवस्था' गरिएको छ । दफा ६८ (१) मा संसदीय दलको नेताको पद रिक्त हुने सामान्य अवस्थाहरूको व्यवस्था गरिएको छ । जसमा दलको नेता स्वतः पदमुक्त हुने व्यवस्था निम्नानुसार राखिएको छ : 

(क) निजले दलको नेताको पदबाट लिखित राजीनामा दिएमा वा निजको मृत्यु भएमा । 

(ख) निज सम्बन्धित संघीय संसद् वा प्रदेश सभाको सदस्य नरहेमा (सांसद पद खारेज भएमा वा कार्यकाल सकिएमा) ।

(ग) निजले पार्टी त्याग गरेमा वा पार्टीबाट निष्कासित भएमा । 

(घ) सरकारको नेतृत्व गरिरहेको अवस्थामा सम्बन्धित संसदको सदनभित्रै विश्वासको मत गुमाएमा । 

(ङ) यस विधानको ११ (क) को अ को ३ अनुसार प‍ार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा ।

(च) निजविरुद्ध संसदीय दलमा प्रत्याह्वान वा अविश्वास प्रस्ताव पारित भएमा । 

यस विधानको ११  (क) मा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । विधानको दफा ११ (क) अ को ३ मा सभापतिले संसदीय दलसँग समन्वय गर्ने भनिएको छ । जसमा लेखिएको छ, 'पार्टी र संसदीय दलबीच वैचारिक, नीतिगत तथा राजनीतिक समन्वय गर्ने । पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा, संसदमा पार्टीको आधिकारीक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्गनिर्देशन प्रदान गर्ने । यस्तो मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुनेछ ।'

विधानको दफा ६८ (१) ङ को प्रावधानअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद स्वतः रिक्त हुने विधान रास्वपा महाधिवशेनले पारित गरेको हो । त्यस्तै, पार्टी संसदीय दलको नेतालाई 'प्रत्याह्वान' गर्ने व्यवस्था पनि गरिएको छ । त्यसरी प्रत्याह्वानमा परेमा पनि पार्टी दलको नेताको पद स्वतः रिक्त हुनेछ ।

रास्वपाको विधान सोमबारमात्र पार्टीको वेबसाइटमार्फत सार्वजनिक भएको हो । यसअघि यो विधान सार्वजनिक गरिएको थिएन ।  

The post of RSVP parliamentary party leader will automatically become vacant if the chairman's instructions are not followed.

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully