रास्वपामा २ भन्दा बढी 'वरिष्ठ नेता' हुने

रास्वपाको वरिष्ठ नेताको कर्तव्य- 'पार्टीको नीति निर्माण, सांगठनिक संचालन र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयहरूमा सभापति तथा केन्द्रीय समितिलाई आवश्यक सल्लाह, सुझाव प्रदान गर्ने ।'

असार २२, २०८३

जयसिंह महरा

There will be more than 2 'senior leaders' in the RSP.

What you should know

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको विधानले दुईभन्दा बढी वरिष्ठ नेता हुने प्रावधान राखेको छ । चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानले दुई वा दुईभन्दा बढी वरिष्ठ नेता हुनसक्ने प्रावधान राखेको हो ।

रास्वपाको पहिलो महाधिवेशन ७ देखि १२ असारसम्म चितवनमा भएको थियो । रास्वपाको विधान सोमबारमात्र पार्टीको वेबसाइटमार्फत सार्वजनिक भएको हो । यसअघि यो विधान सार्वजनिक गरिएको थिएन । 

रास्वपाको विधानमा पहिलोपटक वरिष्ठ नेताको व्यवस्था गरिएको हो । विधानको दफा ११ मा पदाधिकारीको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । वरिष्ठ नेतालाई पार्टी पदाधिकारीको सूचीमा राखिएको छ । दफा ११ (ञ)मा 'वरिष्ठ नेता'को व्यवस्था गरिएको छ । 

पार्टी सभापतिको प्रस्तावमा वरिष्ठ नेतालाई केन्द्रीय समितिले मनोनीत गर्ने प्रावधान राखिएको छ । पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रम र केन्द्रीय समितिमा दोस्रो वरीयतामा वरिष्ठ नेता रहने व्यवस्था गरिएको छ । 'बहु-वरिष्ठ नेताको वरीयता निर्धारण : मनोनित वरिष्ठ नेताहरूको संख्या दुई वा दुईभन्दा बढी भएको अवस्थामा निजहरूबीचको आपसी वरीयताक्रम केन्द्रीय समितिको निर्णय गरी निर्धारण गरेबमोजिम हुनेछ,' विधानमा लेखिएको छ । 

यस व्यवस्थाले रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने बाटो खुलेको हो । हाल पार्टीमा वालेन्द्र शाहलाई वरिष्ठ नेता बनाइएको छ । आगामी दिनमा आवश्यक परेको खण्डमा पार्टी सभापतिले अन्य नेतालाई पनि वरिष्ठ नेताको पदमा मनोनित गर्ने प्रस्ताव केन्द्रीय समितिमा लिन सक्नेछन् । गत १३ पुसमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर वालेन्द्र शाहबीच ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिअनुसार पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई तोकिएको थियो । सहमतिअनुसार वरिष्ठ नेताले सरकारको र सभापतिले पार्टीको नेतृत्व गर्ने तय भएको थियो ।

वरिष्ठ नेताको काम, कर्तव्य र अधिकार पनि विधानमा स्पष्ट पारिएको छ । रास्वपा विधानको व्यवस्थाअनुसार 'पार्टीको नीति निर्माण, सांगठनिक सञ्चालन र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयहरूमा सभापति तथा केन्द्रीय समितिलाई आवश्यक सल्लाह, सुझाव प्रदान गर्ने' वरिष्ठ नेताको काम, कर्तव्य र अधिकार हुनेछ ।

त्यस्तै, वरिष्ठ नेताले पार्टीभित्र आन्तरिक एकता, सांगठनिक सुदृढीकरण र भावनात्मक सद्भाव कायम राख्नका लागि सन्तुलनकारी भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था विधानमा राखिएको छ । केन्द्रीय समिति वा पार्टीका पदाधिकारीले तोकेका तथा सुम्पेका अन्य विशेष जिम्मेवारी पनि वरिष्ठ नेताले पूरा गर्नुपर्ने विधानमा लेखिएको छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully