रास्वपामा पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समिति सदस्य हुनुपर्ने व्यवस्था छ।
What you should know
भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्न रातभर सभापति रवि लामिछानेसहितका नेताहरूले आकांक्षीहरूसँग छलफल गरेका छन् । छलफलपछि केही पदमा आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिए पनि महामन्त्री र सहमहामन्त्रीमा भने आकांक्षीहरूको संख्या घटेको छैन ।
खुला उपसभापति पदमा गरेको दाबीबाट विराजभक्त श्रेष्ठ पछि हटेका छन् । पार्टी सभापति रवि लामिछाने र अर्थमन्त्रीसमेत रहेका अर्का दाबेदार स्वर्णिम वाग्लेसँग परामर्शपछि श्रेष्ठ उम्मेदवारी दिनबाट पछि हटेका हुन् ।
महिला उपसभापतिमा सोविता गौतम र तोशिमा कार्कीको उम्मेदवारी परेको छ । सुरुमा उपसभापतिको उम्मेदवार बन्न खोजेका समीक्षा बाँस्कोटा र इन्दिरा राना मगरले गौतमलाई समर्थन गरेका हुन् । महिला उपसभापतिमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि सभापति लामिछानेले आकांक्षीसँग छलफल गर्न स्वर्णिम वाग्लेलाई खटाएका थिए । पछि लामिछाने स्वयंले पनि कुराकानी गरेपछि बाँस्कोटा र राना प्रतिस्पर्धाबाट पछि हटेका हुन् ।
रानाले कान्तिपुरसँग भनिन्, ‘माननीय स्वर्णिम वाग्ले आउनुभएको थियो, कुरा गर्नुभयो। मैले आदिवासीको प्रतिनिधित्व हुने भएकाले पनि उम्मेदवारी दिन्छु भनेको थिएँ ।’ पछि सभापति लामिछानेले नै रानासँग कुरा गरेका थिए। त्यसपछि उनी गौतमको समर्थक बस्न तयार भएकी हुन्।
उपसभापतिकै आकांक्षी बाँस्कोटाले पनि गौतमलाई समर्थन गरेकी छन्। उनले चाहिँ शीर्ष नेताहरूसँग भेटेपछि आफ्नो दाबी फिर्ता लिएकी हुन्। उनी संसदीय समिति सभापति र पार्टीमा केन्द्रीय सदस्य भइसकेको र भविष्यमा पार्टीमा थप जिम्मेवारी पाउनुपर्ने उनको माग थियो।
तोशिमा कार्कीले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उनको प्रस्तावकमा उपसभापतिकै आकांक्षी लिमा अधिकारी रहेकी छन्। अधिकारी निवर्तमान कोषाध्यक्ष हुन्। उनले आफूलाई उपसभापति बनाउनुपर्ने भनी पार्टी नेतृत्वसँग माग गर्दै आएकी थिइन्। केन्द्रीय सदस्य जितेपछि उनले नेतृत्वबाट सहयोग नपाउने भएपछि धार बदलेर कार्कीलाई समर्थन गरेकी थिइन्।
महामन्त्रीबाट शिशिर खनाल पछि हटेका छन्। पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिन आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा खनालले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफूले दाबी गरेको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको उल्लेख गरेका छन्।
खनालबाहेक एक महामन्त्री पदका लागि ७ जना नेताले उम्मेदवारी घोषणा गरेका थिए। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनिष झा, गणेश कार्कीले उम्मेदवारी दिने घोषणा गरेका थिए। त्यस्तै, विवेकशील साझा पार्टीकी तत्कालीन महासचिव रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले समेत महामन्त्रीमा उम्मेदवारी दिने बताएका थिए। सभापति लामिछानेसहित नेताहरू महामन्त्रीमा सहमति जुटाउनका लागि आकांक्षीहरूसँग छलफल गरेका थिए, तर सहमति निस्किएन।
सहमहामन्त्री पुरुषतर्फ मिलन लिम्बु, अशिम शाह, बब्लु गुप्ता, यज्ञमणि न्यौपाने, पुकार बम, सुलभ खरेललगायतले उम्मेदवारी घोषणा गरेका छन्। महिलातर्फ ज्वाला संग्रौला, निशा डाँगी र निशा मेहताले उम्मेदवारी घोषणा गरेका छन्। उनीहरूबीच पनि छलफल भइरहेको छ।
रातभरि काम गर्दा पनि रास्वपा केन्द्रीय निर्वाचन आयोगले निर्वाचित केन्द्रीय सदस्यको नामावली घोषणा गर्न सकेको छैन। जसका कारण पदाधिकारीका लागि उम्मेदवारी फारम भरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन। रास्वपामा पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समिति सदस्य जितेको हुनुपर्ने व्यवस्था छ।
रास्वपाले विधानमार्फत १५८ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना तय गरेको छ, जसमा प्रत्यक्ष निर्वाचित, समावेशी, प्रदेश प्रतिनिधित्व तथा सभापतिबाट मनोनीत सदस्यहरूको मिश्रित व्यवस्था छ। पदाधिकारीको संख्या १९ पुर्याइएको छ, जसमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ खुला, १ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (२ खुला, १ महिला, २ मनोनीत), प्रवक्ता १ (मनोनीत), सहप्रवक्ता ३ (१ महिला, सबै मनोनीत) व्यवस्था छ । कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था छ ।
