परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झाले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन्।
परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झाले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । त्यस्तै, तत्कालीन विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना, रास्वपाका नेता सागर ढकाल र गणेश कार्कीले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्।
केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भई विजयी उम्मेदवारहरूको घोषणा भएसँगै उनीहरूले महामन्त्री पदमा दाबी प्रस्तुत गरेका हुन्। रास्वपाको निर्वाचन कार्यतालिकाअनुसार बिहीबार मध्यरातिदेखि पदाधिकारी चयनका लागि मतदान गर्ने तयारी छ।
यद्यपि मतदानअघि पदाधिकारीहरूलाई सर्वसम्मत रूपमा चयन गर्ने प्रयास जारी रहेको रास्वपाका एक नेताले बताए। सहमतिको प्रयास सफल नभए निर्वाचन प्रक्रियामार्फत महामन्त्रीसहित अन्य पदाधिकारी चयन गरिनेछ।
यसअघि महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्वाचित गरिसकेको छ। लामिछाने एकल उम्मेदवार रहेपछि उनी सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए।
रास्वपाको विधानअनुसार सभापतिसहित दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ ।महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्येबाट पदाधिकारी चयन गर्ने प्रावधान छ । पार्टी स्थापनापछि पहिलो पटक भइरहेको महाधिवेशनले आगामी पाँच वर्षका लागि रास्वपाको नेतृत्व चयन गर्ने भएकाले पदाधिकारी निर्वाचनलाई चासोका साथ हेरिएको छ।
