प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।
What you should know
चितवन — प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकारसहित सचिवालयका तीन जना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार शाहले रास्वपाको खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फ उम्मेदवारी दर्ता गराएका हुन् । शाहले गत भदौ २३-२४ को जेन-जी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको भन्दै रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहबीच वार्ताका लागि भूमिका खेलेका थिए ।
उनको कमलपोखरीस्थित कार्यालयमा रास्वपा सभापति रवि लामिछाने र तत्कालीन मेयर शाहबीच ७ बुँदे सहमति भएको थियो । सोही सहमतिमा टेकेर शाह प्रधानमन्त्रीको उम्मेदवार बनी रास्वपामा प्रवेश गरेका थिए । शाह २०७९ को चुनावबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
हाल उनी प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा काम गरिरहेका छन् । उनी संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले गठन गरेको कार्यदलका संयोजकसमेत हुन् । त्यस्तै, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा ढकाल सूचना, प्रविधि तथा सुशासन सल्लाहकारको पदमा कार्यरत थिए । रास्वपाले गत प्रतिनिधिसभा निर्वाचनमा उनलाई समानुपातिक उम्मेदवार समेत बनाएको थियो । पार्टीको चुनावी घोषणापत्र (वाचा–पत्र) निर्माण गर्न गठित समितिमा पनि उनी सहभागी थिए । ढकालले कम्प्युटर इन्जिनियरिङमा स्नातक, व्यवस्थापन विषयमा एमबीए तथा विपद् जोखिम व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्रीको सचिवालयमा स्वकीय उपसचिवको पदमा कार्यरत प्रकृति ढकालले पनि रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले रास्वपाको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा उनी सक्रिय रहँदै आएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वकीय उपसचिवका रूपमा कार्यरत ढकालले सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयमा काम गरिरहेकी छन् । ढकालले बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन गरेकी छन् ।
