थप दिनका लागि कम्तीमा दैनिक ५० लाख रुपैयाँ खर्च हुने देखिन्छ ।
काठमाडौँ —
सबै काम समयमै भएको भए भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन मंगलबार नै सकिने थियो । तर सुरुदेखि नै कार्यतालिकाअनुसार काम सुरु नभएकाले महाधिवेशन सकिने दिन मात्रै लम्बिएको छैन, व्यवस्थापन खर्च पनि बढ्दै गएको छ ।
आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमले उद्घाटनदेखि बन्दसत्रसम्मका लागि सोमबार र मंगलबार प्रतिनिधिहरूका लागि खाजा र खानाको व्यवस्था पार्टीले गरेको बताए । उनले महाधिवेशन लम्बिएपछि थप दिनको क्याटरिङ सेवाका लागि होटलसँग सम्झौता गरिएको जानकारी दिए ।
रास्वपाले सोमबार र मंगलबारका लागि दैनिक ६ हजार जनाका लागि बिहानको खाजा र दुई छाक खानाको व्यवस्था गरेको थियो । पार्टी प्रतिनिधि, अन्य अतिथि र सुरक्षाकर्मीसहित दैनिक करिब ६ हजार जनाले खाना तथा खाजा खाएको गौतमले बताए । उनले भने, 'थप दिनका लागि कम्तीमा दैनिक ५० लाख रुपैयाँ खर्च हुने देखिन्छ ।'
महाधिवेशन लम्बिँदा खर्च व्यवस्थापनमा समस्या परेको भन्दै केही प्रतिनिधिहरूले आक्रोशसमेत पोखेका थिए । त्यसैले बन्दसत्र उद्घाटनका क्रममा पार्टी सभापति रवि लामिछानेले प्रतिनिधि दर्ता शुल्क ऐच्छिक बनाउने घोषणा गरेका थिए ।
पार्टी प्रतिनिधिले पाँच हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यसलाई ऐच्छिक बनाउँदा खर्चका कारण कठिनाइमा परेका प्रतिनिधिलाई केही राहत हुने उनले बताएका थिए ।
