रास्वपा केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी छ ।
What you should know
भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । ७ असार २०७९ मा घोषणा गरिएको रास्वपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए । प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापतिसँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए । रास्वपा सभापतिका लागि १ प्रस्तावक र ५१ समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो ।
सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले बताए । ‘चुनावअघिको समायोजन प्रक्रियाबाट विभिन्न राजनीतिक समूहलाई रास्वपामा लिएर आएका थियौं । यो ऐतिहासिक महाधिवेशनले सबैलाई एउटा पार्टीभित्र एकीकृत गरेर लाने वातावरण सिर्जना भएको छ,’ उनले भने, ‘रवि लामिछाने पार्टी सभापति निर्विरोध हुनुभएको छ । उहाँले सुरु गरेको यात्रामा हामी सबै अटाएका छौं भन्ने सबैलाई परेको छ ।’ शाहले सभापतिमा लामिछानेलाई प्रस्ताव गरेपछि महाधिवेशनको बन्दसत्र स्थलबाहिर बार्दलीमा आएर दुवैले हात हल्लाएका थिए ।
प्रतिनिधि छनोटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्दसत्र मंगलबार मात्रै सुरु भएको थियो । मंगलबार दिउँसो ३ः१५ बजे मात्रै बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए । यस्तै सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरे । अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले पेस गरे ।
बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । पार्टी सभापति पदको मनोनयन फाराम वितरण र दर्ताका लागि साँझ ७ देखि ७ः३० बजेसम्मको समय तोकिएको थियो । निर्वाचनबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । केन्द्रीय सदस्य पदको फाराम वितरण तथा दर्ता मंगलबार राति साढे ७ देखि साढे ९ सम्म तोकिएको थियो ।
उम्मेदवारविरुद्ध दाबी विरोध तथा जाँचबुझ गरेर राति ११ः४५ बजे नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ ।
बुधबार बिहानै मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले भने, ‘केन्द्रीय सदस्यका लागि बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी गरेका छौं । मतदानमा ८ घण्टा समय लाग्छ ।’
रास्वपा केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी छ । ‘मतदानस्थलमा रहेका प्रतिनिधिले ईभीएम र प्रवासमा रहेका प्रतिनिधिले रास्वपाको मोबाइल एपबाट मतदान गर्नॅहुनेछ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउँछ,’ निर्वाचन आयोग प्रमुख केसीले भने ।
रास्वपाको महाधिवेशनमा दुई चरणमा निर्वाचन हुने पार्टी विधानको व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने विधानको प्रावधान रहेको छ । केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन् ।
यसपालि विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्याइएको छ । यसअघि पदाधिकारी संख्या १२ थियो । यस पटक रास्वापमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (१ महिला) हुने व्यवस्था राखिएको छ ।
वरिष्ठ नेता वालेन्द्र शाह बन्ने पक्का भएको छ । खुला उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी पर्ने नेताहरूले बताउँदै आएका छन् । महिला उपसभापतिमा भने सोविता गौतम, लिमा अधिकारी, प्रतिभा रावललगायतको उम्मेदवारी पर्न सक्ने नेताहरूको भनाइ छ । त्यस्तै खुला महामन्त्रीमा मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाललगायतका नेताहरूले दाबी गरिरहेका छन् । डा. तोसिमा कार्कीले महिला उपसभापति वा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको चर्चा छ । सहमहामन्त्रीमा दीपक बोहरा, अशोक चौधरी, क्रान्तिशिखा धिताल, निशा डाँगी, निशा मेहतालगायतलाई उम्मेदवारका रूपमा हेरिएको छ । केन्द्रीय सदस्यमा निर्वाचित भए मात्र यी नेताले पदाधिकारीमा उम्मेदवारी दिन पाउनेछन् ।
