नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा चर्किँदै मतभेद

नेकपा माओवादीका महासचिव चन्दको नेतृत्वमा ‘एकीकृत क्रान्ति’ अघि बढ्न नसकेको र यसबारे समीक्षा गर्नुपर्ने कुरा उठाएपछि केन्द्रीय सचिवालय सदस्य एवं पूर्वसभासद् उमा भुजेल र केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई कारबाही गरेपछि मतभेद चर्किएको हो ।

असार २, २०८३

गंगा बीसी

Disagreements are growing within the Maoists led by Netra Bikram Chand.

What you should know

काठमाडौं — ‘कृषि क्रान्तिबाट समाजवादी बाटोमा अघि बढ्ने’ नीति लिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले केन्द्रीय सचिवालय सदस्य उमा भुजेल (शिलु) र अर्का नेता चन्द्रबहादुर खड्का (असल)लाई पार्टीबाट निष्कासन गरेपछि मतभेद चर्किएको छ । नेकपा माओवादीका महासचिव चन्दको नेतृत्वमा ‘एकीकृत क्रान्ति’ अघि बढ्न नसकेको र यसबारे समीक्षा गर्नुपर्ने कुरा उठाएपछि उनीहरूलाई निष्कासन गरिएको हो ।

२०६९ मा पुष्पकमल दाहालले नेतृत्व गरेको तत्कालीन माओवादीले क्रान्तिको बाटो छाडेको भन्दै नेत्रविक्रम चन्दसहित मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा बाहिरिएका थिए । ०७१ मा मोहन वैद्यबाट पनि अलग भई नयाँ पार्टी (तत्कालीन नेकपा) गठन गरेका चन्दले करिब ६ वर्ष सशस्त्र प्रकृतिका गतिविधि गरेका थिए । 

पछिल्लो समय पार्टीभित्र भुजेल र खड्काले महासचिव चन्दविरुद्ध फरक मत राख्न थालेपछि कारबाही गरेका हुन् । भुजेलले पार्टी गठनको १२ वर्ष भइसकेको अवस्थामा पार्टीले लिएको बाटोबारे समीक्षा हुनुपर्ने बताएपछि जिम्मेवारीबाटै हटाइएको बताइन् ।  

‘एकीकृत क्रान्तिका लागि पार्टी गठन भएको १२ वर्षभन्दा बढी भइसक्यो । पार्टीले जुन गति लिएर विचार प्रवाह गर्नुपर्थ्यो । किन भएन भनेर समीक्षा हुनुपर्ने मत राखेकी थिएँ,’ उनले भनिन्, ‘कम्युनिस्ट पार्टी रक्षात्मक अवस्थामा पुगेको छ । समाजवादको बाटोमा अघि बढ्न कम्युनिस्ट शक्तिहरु एकताबद्ध हुनुपर्छ भन्ने मत राख्दा कारबाही भोग्नु पर्‍यो ।’ भुजेल तत्कालीन माओवादी लडाकुको पूर्वकमान्डर एवं  संविधानसभा सदस्य हुन् । उनी माओवादी महासचिव चन्दको विश्वासिलो नेताका रुपमा समेत परिचित थिइन् ।

कारबाहीमा परेका अर्का नेता खड्काले महासचिव चन्दले पार्टीभित्र वैचारिक बहस गर्न खोज्दा असहिष्णु भएको गुनासो गरे । ‘हामीले पार्टीभित्र वैचारिक बहसबाट अघि जाऔं भन्ने मत राखेका थियौं । नेतृत्व अहंकारी र असहिष्णु भएर कारबाही गरियो,’ उनले भने, ‘पार्टी क्रान्तिकारी दिशामा किन अघि बढ्न सकेन भन्ने हाम्रो प्रश्न थियो ।’

यसअघि नेकपा माओवादीका नेताहरू चिरन पुन र कर्णजीत बुढाथोकी पुष्पकमल दाहालले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए । 

महासचिव चन्द निकट नेता सुदर्शन मंगालेले भुजेल र खड्काले पलायनको बाटो रोजेकाले जिम्मेवारीबाट मुक्त गरिएको बताए । ‘क्रान्तिकारी पार्टीबाट पलायनको बाटो रोजेकाले जम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले भने, ‘उहाँहरू वैचारिक रुपमा पतन हुनु भएको हो ।’ भुजेल र खड्काले भने महासचिव चन्दमा सामन्तवादी संस्कार देखिएको बताए । ‘क्रान्तिकारी पार्टीका महासचिवमा आफूले गरेको मात्र सबै ठिक भन्ने सामन्तवादी चिन्तन र फरक मत राख्नेमाथि कारबाही गर्ने संस्कार देखियो,’ उनीहरूले भने । 

खड्काले छुट्टै पार्टी बनाउने बिषयमा छलफल भइरहेको बताए । ‘पहिले हामी पार्टीको एउटा संरचना बनाउँछौं, त्यसपछि एकताबारे कुरा हुनेछ,’ उनले भने । तत्कालीन माओवादी जनयुद्धका बेला प्रहरीले भुजेललाई २०५६ मा पक्राउ गरी गोरखा जेलमा राखेको थियो । उनी, कमला नहकीसहित ६ महिला सुरुङ खनेर जेलबाट भागेका थिए । सशस्त्र युद्धमा भुजेल लडाकुको ब्रिगेड कमान्डर भएकी थिइन् । 

भुजेलले गुटबन्दी गरेपछि कारबाही गरियो : नेकपा मओवादी

नेकपा माओवादीले सचिवालय सदस्य भुजेलले महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचनलकारी, पलायनवादी, गुटबन्दी गर्दै हिँडेका कारण कारबाही गरेको जनाएको छ । महासचिव चन्दले भनेका छन्- संगठनका क्षेत्रमा छलफल गर्दा सचिवालय सदस्य कमरेड सिलले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलयनवावी गुटबन्दी गर्दै हिँडेको, पार्टी कार्यविशा, नेतृत्व र जनक्रान्तिविरुद्ध भड्काब गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो ।

चन्दको सचिवालयमा रहेर लामो समय काम गरेका खड्का भने फागुनको निर्वाचनमा सल्यानबाट उम्मेदवार भएका थिए । औपचारिक रुपमा फागुनको निर्वाचनमा चन्दले संसदीय निर्वाचनलाई स्वीकार गरेका थिए । फागुन २१ को निर्वाचनमा तत्कालीन नेकपाले नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी माओवादी र चुनाव चिह्न गुलाब लिएको थियो । नेकपा संयोजक दाहालले माओवादीधार छाडेकाले चन्दले त्यसलाई अघि बढाउने भन्दै पार्टीको नाम माओवादी राखेका थिए । प्रतिनिधिसभा निर्वाचनमा देशभर १३० जना उम्मेदवार उठाए पनि एकजनाले पनि जित्न सकेनन् ।

नेकपा माओवादीले सानुपातिकतर्फ २३ हजार ८०० मत प्राप्त गरेको थियो । उक्त दलले कुनै समानुपातिक सिट भने प्राप्त गर्न सकेन । चन्द आफै भने उम्मेदवार थिएनन् । 

जेन-जी आन्दोलनअघि दाहालसँग एकता गर्न छलफल गरे पनि फागुनको चुनावमा चन्द एक्लै मैदानमा होमिएका थिए । माओवादीका दर्ननौं नेताहरू नेकपामा प्रवेश गरेपछि ‘पार्टी फुटाउन खोजेको भन्दै’ चन्द दाहालसँग बिच्किएका थिए ।

चन्दले जनविद्रोह गर्ने रणनीति अघि सारी अर्को माओवादी पार्टी बनाएका थिए । वैद्यले बोकेको जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि चन्दले ०७१ मंसिरमा वैद्यबाट अलग हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । त्यसपछि अर्धसशस्त्र संघर्ष सुरु गरी चन्द लगायतको नेतृत्व भूमिगत भएको थियो ।

अवैधानिक गतिविधि गरेपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ फागुन २८ मा नेकपामाथि प्रतिबन्ध लगाएको थियो । तत्कालीन नेकपाका नेताहरू हेमन्तप्रकाश ओलीलगायत पक्राउ गरेका थिए । उनीहरूलाई ज्यान मुद्दा लगाइएको थियो । नेकपाको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए भने नेकपाका १२ कार्यकर्ताको मृत्यु भएको थियो । नेकपाका १०० भन्दा बढी कार्यकर्तालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा मुद्दा लगाइएको थियो । शान्तिपूर्ण प्रतिस्पर्धामा आउने प्रतिबद्धता जनाएपछि ओली सरकारले नै नेकपामाथिको प्रतिबन्ध हटाएको थियो । सरकार र नेकपाबीच ०७७ फागुन २१ मा तीनबुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा पनि शान्तिपूर्ण राजनीतिमा सहभागी भएको थियो ।

गंगा

Link copied successfully