शान्ति प्रक्रियामा आएपछि २०६४ को संविधानसभा निर्वाचनमा माओवादी सबभन्दा ठूलो दल बन्न सफल भएको थियो । अनेकौं टुटफुटपछि पछिल्लो पटक नेकपा एकीकृत समाजवादी र माओवादीबाटै अलग भएका साना कम्युनिस्ट पार्टीसँग माओवादीले एकता गरी नाम परिवर्तन गर्ने भएको छ ।
काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अध्यक्ष माओत्सेतुङको नामबाट पार्टीको नाम राखेको माओवादीले अन्ततः नाम र माओवाद छाडेको छ । मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै आएको उसले फेरि माओवाद पनि छाडेको छ । योसँगै माओवादीमा फेरि फुट देखिएको छ ।
सशस्त्र संघर्षमार्फत ‘गाउँदेखि सहर कब्जा गर्ने’ नीति लिई उसले नेकपा एकता केन्द्रबाट २०५१ फागुनमा माओवादी नाम राखेको थियो । पुष्पकमल दाहालको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रको तेस्रो विस्तारित बैठकले ‘नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा निर्माण गरी पार्टीको नाम माओवादी राखिएको थियो ।
माओवादीको नामबाट १० वर्षे सशस्त्र युद्ध गरेको उसले २०७५ जेठमा एमालेसँग एकता गर्दा पहिलो पटक र पछिल्लो पटक नेकपा एसलगायत साना कम्युनिस्ट दलसँग एकता गर्दा नाम र माओवाद छाडेको हो ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी, जनसमाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी ( चिरन पुन, नेकपा (माओवादी समाजवादी (कर्णजीत), नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) बीच एकता सहमतिपत्रमा शनिबार हस्ताक्षर भयो । माओवादी छाडेर कम्युनिस्ट अभियान सुरु गरेका गोपाल किराती पनि माओवादीमा फर्केका छन् । एकीकृत पार्टीको नाम नेकपा समाजवादी वा नेपाली कम्युनिस्ट र चुनाव चिह्न तारा रहने नेताहरूले बताएका छन् ।
पछिल्लो एकता प्रक्रियाप्रति असमति जनाउँदै माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्मा र राम कार्कीले अर्को अभियान सुरु गरेका छन् । योसँगै माओवादी जुट्यो अनि फुट्यो पनि । माओवादीबाट अलग भएका मोहन वैद्य, सीपी गजुरेलको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेक्रवित्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी छुट्टै अस्तित्वमा छन् । नेकपाको माओवादीसँग एकताका लागि वार्ता भए पनि सफल हुन सकेन । बरु नेकपाका नेताहरू चिरन पुन र कर्णजित बुढा नेकपा छाडेर माओवादीमा मिसिएका छन् ।
सशस्त्र संघर्षको दस वर्षको अवधिमा पार्टीभित्र अन्तरसंघर्ष चर्किए पनि पार्टी टुटफुट भएन । सशस्त्र संघर्षका बेला तत्कालीन अध्यक्ष दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई, रामबहादुर थापाबीच अन्तरसंघर्ष भए पनि पार्टीं एकढिक्का हुँदै २०६३ मा प्रतिस्पर्धात्मक राजीतिमा आयो । संविधानसभामार्फत संविधान निर्माण र माओवादी ‘जनसेना समायोजन’ अघि बढेपछि तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा माओवादी पहिलो पटक विभाजन भएको थियो ।
२०४५ सालदेखि दाहालको नेतृत्वमा रहेको पार्टी औपचारिक रूपमा २०६९ असारमा विभाजन भएको थियो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापनको संविधान निर्माण र शान्ति प्रक्रियाप्रति असमति जनविद्रोहको नीति लिँदै क्रान्तिकारी माओवादी गठन गरेका थिए । हाल वैद्यले महासचिव छाडेर वरिष्ठ नेता सीपी गजुरेललाई नेतृत्व सुम्पेका छन् । माओवादीमा आएको यो नै सबैभन्दा ठूलो विभाजन थियो ।
शान्ति प्रक्रियामा आएपछि २०५१ मा छुटेर गएको नेकपा एकता केन्द्र माओवादीमा मिसियो । तत्कालीन महासचिव निर्मल लामाको नेतृत्वमा नेकपा एकता केन्द्र विभाजन भएको थियो भने पुष्पकमल दाहाल नेतृत्वमा माओवादी गठन भयो ।
२०५१ असारमा नेकपा (एकता केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामा समूह अलग भएको थियो । माओवादी सशस्त्र संघर्ष सुरु गर्ने नीतिप्रति असमति जनाउँदै एकता केन्द्र शान्तिपूर्ण बाटोमा अघि बढ्यो ।दसवर्षे सशस्त्र संघर्ष बिसाएपछि माओवादी र नेकपा एकता केन्द्र मसालबीच एकता सम्भव भयो ।
२०६५ पुसमा नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएको थियो । त्यसबेला पार्टीको नाम एकीकृत नेकपा (माओवादी) र नेकपा एमालेबीच २०७५ जेठमा एकता भएपछि माओवादीले नाम र माओवाद छाडेको थियो । तर सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको मुद्दामा एमाले र माओवादी अलग गरेपछि माओवादी पुरानै पथमा फर्किएको थियो ।
२०६९ मा मूल माओवादीबाट वैद्यतिर लागेका नेताहरू रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसालले २०७३ जेठमा माओवादीमै फर्केपछि नेकपा (माओवादी केन्द्र) राख्ने निर्णय भएको थियो । थापाले २०७३ जेठमा क्रान्तिकारी माओवादी फुटाएर माओवादीको मूल धार समातेका थिए ।
वैद्य माओवादीले जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि चन्द ०७१ मंसिरमा पार्टी विभाजन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए ।
सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको र २०६४ सालमा सबभन्दा ठूलो दल बनेको माओवादी अनेकौं टुटफुटपछि गएको आम निर्वाचनमा तेस्रो दलमा खुम्चिएको थियो । माओवादी केन्द्रमा दाहाल अध्यक्ष, क्रान्तिकारी कम्युनिस्ट पार्टीमा वैद्य महासचिव, नेपाल कम्युनिस्ट पार्टीमा नेक्रविक्रम चन्द महासचिव छन् । त्यस्तै माओवादी आन्दोलनकै प्रभावशाली नेता बाबुराम भट्टराई नयाँ शक्ति, जसपा हुँदै नेसपा (नयाँ शक्ति) मा आइपुगेका छन् । यद्यपि उनले पछिल्लो समय नेतृत्व भने दुर्गा सोबलाई हस्तान्तरण गरेका छन् ।
माओवादी आन्दोलनबाटै आएकाहरू पनि स-साना गुट र उपगुटमा सीमित छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा धर्मेन्द्र बास्तोला महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा आहुति महासचिव, आम जनता पार्टीमा प्रभु साह अध्यक्ष छन् । माओवादी कम्युनिस्ट पार्टीमा रामनारायण पाल महासचिव छन् । माओवादीका नाममा अरु दल पनि निर्वाचन आयोगमा दर्ता छन् ।
संविधान जारी भएपछि २०७२ असोज ९ मा भट्टराईले माओवादी त्याग गरी पार्टी छाडेका थिए । माओवादीमा दोस्रो नेताका रूपमा रहेका भट्टराई दाहालसँग लामो संघर्षपछि ०६८ असोजमा प्रधानमन्त्री बनेका थिए ।
माओवादी निर्माणको पृष्ठभूमि सशस्त्र युद्धकै तयारीसँग जोडिएको छ । २०४८ मंसिर ४ मा नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनले दाहालको प्रस्तावमा मार्गनिर्देशक सिद्धान्त माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पास गरेको थियो । त्यही महाधिवेशनले दाहाललाई महामन्त्रीमा निर्वाचित गरेको थियो ।
२०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाको नामबाट भाग लिई उसले प्रतिनिधिसभामा ९ र राष्ट्रिय सभामा २ सिट जितेको थियो । शान्ति प्रक्रियामा आएपछि २०६४ को संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दल बन्न सफल भएको थियो । अनेकौं टुटफुटपछि पछिल्लो पटक नेकपा एकीकृत समाजवादी र माओवादीबाटै अलग भएका साना कम्युनिस्ट पार्टीसँग माओवादीले एकता गरी नाम परिवर्तन गर्ने भएको छ ।
ठूला फुट
एकता
