कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिकै बल लगाएर दौडिराख्नु भएको छ : कांग्रेस नेता आङ्देम्बे
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा नेता आङ्देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरुले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडिराखेको बताए । कांग्रेस 'लास र दास'को पार्टी नभएको पनि उनले बताए । संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिराखेको बडो कारुणिक दृष्य आफूले देखेको पनि आङ्देम्बेको भनाइ छ ।
'सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसको सीमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफैं लज्जित छु । उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थ्ये तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ,' उनले भने ।
नेता आङ्देम्बेले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको पनि बताए । सीमा विवादको समाधान गहन कूटनीतिक संवादमार्फत टुंगो लगाउनुपर्ने पनि उनको भनाइ छ ।
