सत्ताको टेपले टालिएका ती ओठहरू सत्यको पक्षमा बोल्न सकेनन्, उठेनन् : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे
काठमाडौँ — कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दा पनि ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएलगत्तै बोलेका आङ्देम्बे रास्वपा सांसदहरूमाथि आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
उनले रास्वपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन भनेरसमेत प्रश्न गरे । आङ्देम्बेले भने, 'सत्ताको टेपले टालिएका ती ओठहरू सत्यको पक्षमा बोल्न सकेनन्, उठेनन् । नेपालको संसद्को बहुमत सांसदहरूले स्वीकारेका छन् कि नेपालले भारतको सीमा मिचेकै हो । १८१ वटा हातहरूले गडगडाहट ताली बजाएर समर्थन जनाएर राति निद्रा लाग्यो कि लागेन म सोध्न चाहन्नँ, खाना खानुभयो कि भएन म त्यो सोध्न चाहन्नँ ।'
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा दिएको अभिव्यक्ति क्रसबोर्डर अकुपेसन अर्थात 'सीमा वारपारको जग्गा भोगाधिकार' र दशगजा क्षेत्र अतिक्रमितबारे सम्बन्धित भएको स्पष्ट पारेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइको स्पष्टीकरण दिएका हुन् । यसबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको पनि उनले बताए । जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले भने, 'सम्माननीय प्रधानमन्त्रीज्युले दिएको अभिव्यक्ति केही स्थानमा क्रसबोर्डर अकुपेसन र दशगजा क्षेत्र अतिक्रमणबारे सम्बन्धित छ ।'
