प्रहरी नियन्त्रणमा परेका सचिव पुष्करले प्रधामन्त्रीलाई के पठाएका थिए मोबाइल सन्देश ?

सचिव पुष्करले मेसेजमा प्रधानमन्त्री शाहलाई लेखेका थिए, 'राजदूत पदका लागि आवेदन पेस गरेँ, सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।'

जेष्ठ २२, २०८३

जयसिंह महरा

What mobile message did Secretary Pushkar, who was under police control, send to the Prime Minister?

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहलाई नेपाल सरकारका बहालवाला सचिव कृष्णहरि पुष्करले राजदूत बनाउन सहयोग माग्दै मोबाइल सन्देश पठाएको खुलेको छ ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पुष्करलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरीले सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आदेशमा नियन्त्रणमा लिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछ गरी राति मात्रै छोडेको थियो ।

सचिव पुष्करलाई नियन्त्रणमा लिएर छोड्नुका पछाडि प्रधानमन्त्री शाहलाई राजदूत पदका विषयमा लेखेको सन्देश रहेको छ ।प्रहरी स्रोतका अनुसार सचिव पुष्करले आफ्नो सम्भावना मुख्यसचिवमा नरहेकाले राजदूत बनाइमाग्न भन्दै मोबाइलमा सन्देश पठाएका थिए ।

प्रधानमन्त्रीलाई सचिव पुष्करले लेखेको सन्देशमा आवश्यक सहयोगको अपेक्षा रहेको उल्लेख छ । 'सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर । यही भएर मेरो सेवा निवृत्ति आगामी असार २४ गते सुनिश्चित छ,' पुष्करले प्रधानमन्त्रीलाई लेखेका थिए, 'यसैबीच राजदूत पदका लागि विज्ञापन हेरेँ, हजुर । यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।'

सचिव पुष्करले आफूलाई प्रधानमन्त्रीको 'आज्ञाकारी' भएको पनि लेखेका छन् । उनले स्थायी ठेगाना जलेश्वर ४ सुगा, महोत्तरी रहेको पनि म्यासेजमा लेखेका थिए । उक्त मेसेज प्रधानमन्त्री कार्यालयले प्रहरीलाई पठाएर सोधपुछ गर्न भनेको थियो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सचिव पुष्करलाई बिहीबार कपनस्थित घरबाटै नियन्त्रणमा लिइएको थियो । उनीमाथि ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री शाहलाई म्यासेज पठाएको आरोप लगाइएको थियो ।   

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully