राष्ट्रपति रबरस्ट्याम्प बनेर जेमा पनि हस्ताक्षर गरिरहनु भएको छ : ओली
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् । जेन-जी आन्दोलनपछि राष्ट्रपति पौडेलले संसद् विघटन र त्यसपछि गरेका कामले लोकतन्त्रमा प्रहार भएको ओलीले आरोप लगाएका छन् ।
बुधबार पार्टीको एक कार्यशालामा उनले राष्ट्रपतिका कदमले लोकतन्त्र सिध्याउने काम गरेको आरोप लगाए ।
‘राष्ट्रपतिबाट बडो जुक्तिले लोकतन्त्र बचाएको भनियो, अहिलेसम्म आइपुग्दा राष्ट्रपति रबरस्ट्याम्प बनेर जेमा पनि हस्ताक्षर गर्ने । संविधानको रक्षक र पालकका रूपमा जुन चिज गर्नुपर्ने हो, त्यो नगरेर, जुन चिज नगर्नुपर्ने हो, त्यो चिज गरेर,’ उनले भने, ‘जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यूले गरिरहनु भएको छ । बडो जुक्तिका साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सिध्याउने काम भएको छ । जुन कुरा एमालेलाई मान्य छैन ।’
ओली आफैंले तत्कालीन नेकपाको घरझगडाका कारण दुई पटक संसद् विघटन गरेका थिए । पहिलोपल्ट उनले २०७७ पुस ५ र दोस्रोपल्ट २०७८ जेठ ८ मा संसद् विघटन गरेका थिए । तर सर्वोच्चले उक्त विघटनलाई २०७८ असार २८ मा असंवैधानिक ठहर गरेको थियो ।
