नेतृत्वको विकल्प खोजे कारबाही गर्ने ओलीको चेतावनी 

पूर्वराष्ट्रपति भण्डारीलाई अघि बढाउने ओलीको संकेत, उपाध्यक्ष पौडेल भन्छन् : सैनिक पार्टीका रूपमा होइन, राजनीतिक पार्टीका रूपमा अघि बढाउनुपर्छ 

जेष्ठ २०, २०८३

गंगा बीसी

Oli warns of action if leadership alternatives are sought

What you should know

काठमाडौँ — एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले प्रतिवाद गरेका छन् । पार्टी नेतृत्व र आधिकारिक निर्णयविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने पनि उनको चेतावनी छ । 

आइतबारदेखि सुरू भएको एमालेको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टएभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामक रूपमा प्रस्तुत भएका हुन् । केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफ्नो विकल्प खोज्ने नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ०८२ पुसमा आफू महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकाले बीचमै नेतृत्व नछाड्ने बताए । 

भदौको जेन-जी आन्दोलनपछि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका ओलीले आफ्नो विकल्प खोज्ने उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूलाई चेतावनीसमेत दिए ।

‘म गत पुसमा अध्यक्षमा छान्नु भएको थियो । सजिलो पर्‍यो भने प्रधानमन्त्री खानु, अप्ठ्यारो पर्‍यो भने झोला फ्याँकेर भाग्नु होइन । जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतत्व गर्नु भनेर अध्यक्ष छानेको हो । आशंका हुन सक्छ-  बीचमै झोला फ्याँकेर अलपत्र पारेर हिड्छ कि भन्ने आशंका नलिनु होला । पार्टीलाई सफलतामा पुर्‍याएर विश्राम लिनुपरे विधिसम्मत तरिकाले लिने हुन्छ,’ उनले भने, ‘मेरो टाउको दुखेको थाहा पाए अब मर्छ भनेको धेरै समय भइसक्यो । त्यसकारण म अब स्वस्थ छु । यस आन्दोलनलाई अत्यन्तै गम्भीरताका साथ लिएको छु । यस परिस्थितिबाट पार्टी, देशलाई चुनौती सामना गर्दै अघि लैजाने संकल्प यथावत छ ।’

एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्योलमा पारेको टिप्पणी गरे । ‘पार्टीको शीर काट्यो भने पार्टी कुद्छ भन्ने  पार्टीमा कतिपयको सोच आयो,’ उनले भने, ‘चुनौतीलाई चिर्न समीक्षा गर्न कि अन्योलमा पर्न ?’

Oli warns of action if leadership alternatives are sought

उपाध्यक्ष विष्णु पौडेलले बोलेलगत्तै उनले विधानको उल्लंघन गरे सह्य नहुने उनको चेतावनी थियो । ‘एमाले फेरि उठ्छ । अहिले धक्का दिनेलाई फेरि धक्का दिएर अघि बढ्छ । विधि उल्लंघन गरे विधानबमोजिम कारबाही हुन्छ,’ उनको भनाइ थियो, ‘यस्तो परिस्थितिमा जे पनि गर्न टोलरेट हुन सक्दैन ।’ 

नेतृत्व फेरेर नभई नीति र विश्लेषण, विचारमा एकताबद्ध भएर संगठन चुस्तदुरुस्त हुनुपर्ने ओलीको तर्क थियो । ‘पार्टीका विधिविधान छाडेर हस्ताक्षर गर्न कुद्ने, भ्रम फैलाउन कुद्ने ?,’ उनको आक्रोश थियो, ‘यस्ता क्रियाकलापले भ्रम फैलाउँछ ।’

कार्यशालामा उपाध्यक्ष पौडेलले एमालेले भिन्न विचारसहितका आन्तरिक एकता हुनुपर्ने बताएका थिए । ओलीप्रति संकेत गर्दै उनले ‘सैनिक प्रवृत्तिको पार्टी’ का रूपमा एकता हुन नसक्ने तर्क गरेका थिए । 

‘विविधतामा एकता हुनुपर्छ । एकरूपतामा एकता होइन । यस प्रकारले निर्देशित भएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘एकरूपतामा एकता खोज्ने दार्शनिक रूपमा पनि गलत छ । प्रकृतिको बहुलता हाम्रो पार्टीमा हुनुपर्छ । व्यक्तिको विभिन्न विचारमा छलफल गरेर साझा निष्कर्षमा पुग्न सक्छौं । विविधतामा एकता गर्ने कोसिस गर्दै आएका छौं ।’

Oli warns of action if leadership alternatives are sought

उनले प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल हुनुपर्ने बताए । ‘राजकीय पार्टी होइन, राजनीतिक पार्टीका रूपमा । सैनिक पार्टीका रूपमा होइन, राजनीतिक पार्टीका रूपमा अघि बढाउनुपर्छ । जनताबाट अनुमोदित भएको पार्टी हुनुपर्छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने पार्र्टी बनाउन खोजेका छौं ।’

साउनको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेका ओलीले आइतबार भने भण्डारीलाई पार्टीमा सक्रिय बनाउने संकेत गरे । ‘कतिपय साथीहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पाएको कुरा अहिले पनि उठाइरहनु भएको छ । अस्ति भर्खर आवेदन दिनुभयो, कमिटीले सदस्यता दियो,’ उनले भने, ‘राष्ट्रपति भएको बेला सदस्य हुनु भएन । उहाँ ०३७ सालदेखि पार्टी सदस्य हो । यसमा भ्रममा पर्नु हुँदैन ।’

गंगा

Link copied successfully