मीनबहादुर गुरुङले दान दिएको जग्गा एमालेले फिर्ता गर्ने

पार्टी मुख्यालय व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले २०८१ पुसमा कारबाहीसमेत गरेको थियो ।

जेष्ठ ७, २०८३

कान्तिपुर संवाददाता

UML to return land donated by Min Bahadur Gurung

What you should know

काठमाडौँ — एमालेले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङले दानमा दिएको जग्गा नलिने भएको छ । सोमबार बसेको सचिवालय बैठकमा पार्टी मुख्यालय निर्माणका लागि गुरुङले दिएको जग्गा फिर्ता गर्नेबारे छलफल भएको उपमहासचिव योगेश भट्टराईले जानकारी दिए । अब एमालेले मदननगर, बल्खुमै पार्टीको मुख्यालय बनाउने भएको छ । 

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती) लाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ सचिवालय बैठकमा गरिएको प्रस्तावमा भनिएको छ ।  उपमहासचिव भट्टराईले भने, 'बैठकमा छलफल भएको छ । यसबारे औपचारिक निर्णय शुक्रबार बस्ने सचिवालय बैठकले गर्नेछ ।' 

२०८१ असोज २५ गते तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले  कीर्तिपुर नगरपालिका- २  मैत्रीनगरमा भवन निर्माणको शिलान्यास गरेका थिए । 

एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने बताएको थियो । गुरुङ दम्पतीले भवन निर्माणका लागि १० रोपनी १४ आना जमिन उपलब्ध गराएका थिए । 

२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका-१४  मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । अहिले भने च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ । 

दानमा जग्गा लिन हुन्न भन्ने तीन नेतालाई गरिएको थियो कारबाही

पार्टी मुख्यालय व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले २०८१ पुसमा कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो । 

व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । 

कान्तिपुर

Link copied successfully