'समयमै यसलाई सुधार्न नसक्नु हाम्रो कमजोरी थियो। त्यो कमजोरी स्वीकार गर्ने र सच्याउने जिम्मा अब हाम्रै हो,' उनले भने, 'यो दुःख आखिर किन र कसका लागि?'
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने नियमलाई ‘हेपाहा नीति’ भनेर आलोचना गरेका छन् । सर्लाहीको सीमावर्ती क्षेत्रबाट भारतको मधुवनी जिल्लाबाट फर्किएर थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सीमावासी नागरिकहरूको दैनिक जीवन कष्टकर बनेको बताएका छन् ।
बिहान कामका लागि सीमा पार गर्ने एक ज्यालादारी मजदुरलाई एउटा बिस्कुटको प्याकेटका कारण दुई घण्टा रोकिनुपरेका प्रसंग उल्लेख गर्दै थापाले यस्तो नियम अव्यवहारिक रहेको र सीमा क्षेत्रका महिला, विद्यार्थी, किसान तथा श्रमिक वर्गलाई सबैभन्दा बढी मार परेको बताए । 'यो नागरिकमैत्री नीति हुँदै होइन, यो एक प्रकारको हेपाहा नीति हो। यो मधेशको दैनिकीमा लागेको घाउ हो,' उनले भने ।
यस्तो व्यवस्था विगतका सरकारको पालामा, आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि कानुनमा रहेको तर यसलाई व्यावहारिक रूपमा लागू नगरिएको उनले बताए । 'समयमै यसलाई सुधार्न नसक्नु हाम्रो कमजोरी थियो। त्यो कमजोरी स्वीकार गर्ने र सच्याउने जिम्मा अब हाम्रै हो,' उनले भने, 'यो दुःख आखिर किन र कसका लागि?'
थापाले सरकारसँग तत्काल यो अव्यवहारिक निर्णय फिर्ता लिन र सीमामा पहिले जस्तै सहज आवतजावत सुनिश्चित गर्न माग गरेका छन् । उनले सीमान्त क्षेत्रहरूलाई राष्ट्रका किनारा मात्र नभई अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित सङ्गमका रूपमा हेर्नुपर्ने बताए ।
