सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको नेतृत्व सम्हाल्दै पूजा

गुजरादेखि राष्ट्रिय सभासम्म पुगेकी एक शालिन र प्रभावशाली महिला नेतृ ।

वैशाख ९, २०८३

शिव पुरी

Pooja takes over leadership of Public Policy and Delegated Legislation Committee

What you should know

रौतहट — संसदीय अभ्यासमा महत्त्वपूर्ण मानिने राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको नेतृत्वमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद पूजा चौधरी चयन भएकी छन् । 

सरकारद्वारा निर्मित नियम, कानुन र सार्वजनिक नीतिको निगरानी गर्ने गरिमामय समितिको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएसँगै संसदीय अनुगमन थप प्रभावकारी हुने अपेक्षा गरिएको सांसद पूजालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

रौतहटको गुजरा नगरपालिका–८ सिम्राभवानपुर घर भएकी ४७ वर्षीया पूजा मधेश केन्द्रित राजनीतिमा सक्रिय जनता समाजवादी पार्टी (जसपा) नेपालसँग आबद्ध छन् । उनी मधेशका पुराना र जसपाका प्रभावशाली नेता गोविन्द चौधरीकी सुपुत्री हुन् । गोविन्द २०४८ सालमा नेपाली कांग्रेसबाट चुनाव लडेर सांसद भएका थिए । पछि उनले कांग्रेस छाडेर मधेशवादी दलमा आबद्ध भए । बुबाको राजनीतिक पदचाप पछ्याउँदै पछिल्लो समय सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय थिइन् पूजा । २०८० माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशको महिला क्लस्टरबाट उम्मेदवार बनेकी पूजाले एमालेकी उषा चौधरीलाई पारजित गर्दै निर्वाचित भएकी थिइन् । 

छोटो समयमै संसदीय अभ्यासमा सक्रियता देखाएका कारण उनलाई पार्टीले महत्त्वपूर्ण समितिको नेतृत्वका लागि अघि सारेको छ । समितिको सभापति पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् । जसपाले सामाजिक क्षेत्रको अनुभव, महिला तथा चौधरी समुदायको प्रतिनिधित्वलाई कदर गर्दै राष्ट्रियसभामा समावेश गरेको थियो । सामाजिक सेवाको पृष्ठभूमिबाट संसद्को यात्रा तय गरेकी पूजाले आफ्नो पहिचान केवल राजनीतिज्ञका रूपमा मात्र होइन, एक समर्पित सामाजिक अभियन्ताका रूपमा पनि बनाएकी थिइन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति संसदीय व्यवस्थामा अत्यन्तै प्राविधिक र शक्तिशाली समिति मानिन्छ । संसदले बनाएका ऐनअन्तर्गत सरकारले बनाउने नियमावली, निर्देशिका र कार्यविधिहरू संविधान र मूल कानुन अनुसार छन् कि छैनन् भनेर हेर्ने मुख्य जिम्मेवारी यस समितिको हो । राज्यका महत्त्वपूर्ण संसदीय निकायको नेतृत्वमा महिलाको पहुँच स्थापित भएको छ । 

‘संसदीय मर्यादा र समितिको क्षेत्राधिकारभित्र रहेर सरकारलाई उत्तरदायी बनाउने र कानुनको कार्यान्वयनमा कडाइ गर्ने मेरो मुख्य प्राथमिकता हुनेछ,’ उनले भनिन्, ‘संसदमा मेरो उपस्थिति केवल संख्याका लागि होइन, मधेशका जनताको आवाज र गुजराको विकासका लागि समर्पित रहनेछ । म मेरो जिम्मेवारी निकै इमानदारीका साथ निर्वाह गर्नेछु ।’ 

२०६७ सालमा भारतको हैदरावाद केन्द्रीय विश्वविद्यालयबाट एमबीए गरेकी थिइन् । राजनीतिमा आउनुअघि २०६८ सालमा उनले काठमाडौंस्थित नेसनल हेल्थ केयरमा म्यानेजरका रूपमा तीन वर्ष काम गरिन् । त्यहाँ छाडेर चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर अस्पतालको रेखदेखमा खटिइन् । उक्त अस्पताल श्रीमान् डा. शुभाष चौधरीले संचालन गरेका थिए । अस्पतालको रेखदेखसँगै राजनीतिमा चासो राख्ने पूजा २०७९ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (१) बाट चुनाव लडिन् । तर स्वतन्त्र उम्मेदवार केशव चौधरीसित पराजित हुन पुगिन् । समाजमा केही गरौं भन्ने हुटहुटी भएकी पूजा गाउँका मानिसलाई परेको बेला समाजिक काममा अग्रसर रहँदै आएकी थिइन् । समय गुज्रिँदै गएपछि जसपा नेपालले उनलाई राष्ट्रिय सभामा लगेको हो । अहिले उनले राष्ट्रिय राजनीतिमा एक होनहार महिला नेतृका रूपमा आफ्नो बलियो उपस्थिति जनाएकी छन् । 

राष्ट्रिय सभाको बैठकमा रौतहटको शिक्षा, किसानले खेतीको समयमा भोग्दै आएको मलको समस्या र भारतीय बाँधका बारेमा बोलेर चर्चामा कमाएकी थिइन् । रौतहट र गुजरा नगरपालिका क्षेत्रको विकास, शिक्षा र स्वास्थ्यको अवस्था सुधार्नका लागि संघीय सरकारको ध्यानाकर्षण गराउने कार्यमा उनी सक्रिय भई लागेकी छन् । गुजरा नगरपालिकाको स्थायी बासिन्दा भएकाले स्थानीयस्तरमा गहिरो प्रभाव रहेको छ । सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने र मन्त्रिपरिषद्ले बनाउने उप–नियम तथा निर्देशिकाहरूको वैधानिकता परीक्षण गर्ने मुख्य जिम्मेवारी रहेको समितिमा उनको कार्यकालले संसदीय सर्वोच्चतालाई थप उचाइ दिने विश्वास लिइएको बुवा गोविन्द चौधरीले सुनाए । 

संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । राष्ट्रिय सभाअन्तर्गत चारवटा संसदीय समिति छन् । यसमध्ये दुईमा महिला र दुईमा पुरुष सभापति रहेका छन् । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएका हुन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully