संसदीय समिति सभापतिको उम्मेदवारबारे छलफल गर्दै विपक्षी दल

बैठकमा श्रम संस्कृति पार्टीलाई लेखा समितिको सभापति दिनेबारे पनि चर्चा चलेको थियो ।

वैशाख ३, २०८३

कुलचन्द्र न्यौपाने

Opposition parties discussing candidate for parliamentary committee chairman

काठमाडौँ — संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलका नेताहरू बैठकमा जुटेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा कांग्रेस, एमाले र नेकपा सहभागी छन् ।

कांग्रेसबाट महामन्त्री गुरुराज घिमिरे, भीष्म आङदेम्बे, अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, योगेश गौचन थकालीसहित बैठकमा छन् भने एमालेबाट सचिव पद्मा अर्याल, पूर्वउपाध्यक्ष गुरु बराल, नेकपाका वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाललगायत नेता छलफलमा छन् ।

एमाले नेता बरालले संसदीय समितिको सभापति चयन गर्ने विषयमा विपक्षी दलहरुको साझा धारणा बनाइने बताए ।

बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार लेखा समितिको सभापतिमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई दिने समझदारी भएको खबर बैठकमा पुगेको थियो । 'एक नेताले रास्वपा सभापति रवि लामिछानेसँग सम्पर्क गर्न खोजेका थिए,' उनले भने, 'यसअघि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिनेबारेमा रास्वपा सभापतिसँग छलफल भइरहेको थियो, आजै एकाएक श्रम संस्कृतिलाई दिने भनिएपछि जानकारी लिन खोज्दा रास्वपा सभापतिले टेलिफोन उठाउनुभएको छैन ।’ रास्वपाले समर्थन नगरे पनि विपक्षी दलहरुको सहमतिमा उम्मेदवार दिइने उनको भनाइ छ ।

कांग्रेस नेता भीष्म आङदम्बेले विपक्षी दलहरुबीच छलफल जारी भएको बताए । उनका अनुसार राज्य व्यवस्था तथा सुशासन, अर्थ र लेखा समितिमा तीन दल मिलेर उम्मेदवार दिनबारेमा छलफल भइरहेको छ ।

संसदीय समितिका सभापति पदका लागि आजै मनोनयन दर्ताको कार्यक्रम छ । दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय राखिएको छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully