'अवैधानिक विशेष महाधिवेशनबाट बनेका कुनै कार्यसमिति, कुनै संचरनाले स्पष्टीकरण सोधेको भन्ने कुरा निरर्थक छ, हास्यास्पद छ र अर्थहीन छ ।'
What you should know
काठमाडौँ — कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बुधबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर गर्दै स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
पार्टीले स्पष्टीकरण सोधेकोमा उनीसँग कान्तिपुरले कुरा गर्दा उनले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमिति अवैधानिक भएको र आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निरर्थक भएको बताए । उनले भने, 'अवैधानिक विशेष महाअधिवेशनबाट बनेका कुनै कार्यसमिति, कुनै संचरनाले स्पष्टीकरण सोधेको भन्ने कुरा निरर्थक छ हास्यास्पद छ र अर्थहीन छ ।'
उनको भनाइ जस्ताको तस्तै :
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सानेपा केन्द्रीय पार्टी कार्यालयमा तत्कालीन अवस्थामा निर्वाचन आयोगले नेपाली कांग्रेसका विषयमा गरेको निर्णयलाई नेपालको संविधानको विपरीत, प्रचलित कानुनको विपरीत राजनीतिक दलसम्बन्धी ऐन विपरीत नेपाली कांग्रेसको विधान विपरीत र निर्वाचन आयोग स्वयंले विगतमा पार्टीहरुका बारेमा यस्तै विषयमा गरेका निर्णयहरुको स्थापित नजिरका विपरीत निर्णय गरेको कुरालाई अवैधानिक, असंवैधानिक, गैरकानुनी, पार्टी विधान विपरीत नजिर विपरीत भनेर हामीसँग सम्मानित सर्वोच्च अदालतमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले मलाई कार्यवाहक सभापतिको हैसियतले अख्तियारी दिएर म यो मुद्दाको विरुद्धमा निर्वाचन आयोगको निर्णयकोविरुद्ध सर्वोच्च अदातलमा गएको र त्यो मुद्दा सर्वोच्च आयोगमा विचाराधीन छ ।
विशेष महाधिवेश अवैधानिक, अझ अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै अदालतमा गएको अवस्थामा फागुन २१ को निर्वाचनमा विशेष महाधिवेशन अवैधानिक भएको र त्यसबाट निर्वाचित कार्यसमिति र पदाधिकारी, अवैधानिक पदाधिकारीले हस्ताक्षर गरेको टिकटबाट चुनाव लडेर जानु राजनैतिक रुपमा अनैतिक हुन जान्छ भनेर चुनाव लड्न नगएको कुरा विदितै छ ।
यो कुरा मैलै सार्वजनिक रुपमा त्यतिबेला नै भनिसकेको अवस्था छ । र अहिलेचैँ त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसैले हामीले सर्वोच्च अदालतबाट न्याय पाउँछौँ भन्नेमा विश्वास छ ।
नेपालको सबैभन्दा पुरानो राजनीतिक दल अहिलेको देशको अवस्था मुलुकको लोकतन्त्र मुलुकको संविधानको अवस्थामा सम्मानित सर्वोच्च अदालतले चाँडै नै यो मुद्दाको फैसला किनारा गर्नेछ भन्नेमा हामीलाई विश्वास छ । यो ब्याकगराउन्डमा म कार्यवाहक सभापतिको नाताले मुद्दामा गएको अवस्थामा र कार्यवाहक सभापतिकै रुपमा म अहिले त्यो मुद्दा लडिरहेको अवस्थामा त्यो अवैधानिक विशेष महाधिवेशनबाट बनेका कुनै कार्यसमिति, कुनै संचरनाले स्पष्टीकरण सोधेको भन्ने कुरा निरर्थक छ, हास्यास्पद छ र अर्थहीन छ ।
सम्मानित सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यो मान्नुपर्छ र त्यही अनुसार नेपाली कांग्रेस अगाडि बढ्नुपर्छ, अगाडि बढ्छ ।
