कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर

वैशाख २, २०८३

कुलचन्द्र न्यौपाने

Congress asks Purna Bahadur Khadka for 7-day explanation

काठमाडौँ — कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ । 

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर गर्दै स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।

बैठकले यसअघि नै खड्कालाई सचेत गराइसकेको उल्लेख गर्दै पुनः सोही प्रकृतिको गतिविधि दोहोरिएको निष्कर्ष निकालेको छ । समितिका अनुसार खड्काले मिति २०८२ चैत १४ गते र त्यसपछि पुनः चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गरी आफू पार्टीको जिम्मेवारीमा रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

समितिले यस्तो कार्य पार्टी विधानविपरीत भएको ठहर गर्दै कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टी सदस्यहरूले अनुशासन उल्लंघन गरेका घटनाबारे उजुरी दिने समयसीमा पनि बढाइएको छ । समितिले यसअघि तोकिएको २०८२ चैत मसान्तको म्याद बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याउने निर्णय गरेको छ ।

समितिले तोकिएको नयाँ समयसीमाभित्र प्राप्त हुने उजुरीमाथि मात्र कारबाही गरिने र त्यसपछि आउने उजुरीमाथि कुनै प्रक्रिया अगाडि नबढाइने स्पष्ट पारेको छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully