प्रधानमन्त्री वालेन्द्र शाहप्रति भारतीय मिडियाको यतिविघ्न चासो

प्रधानमन्त्री वालेन्द्र शाहका बारेमा भारतीय मिडियाको कभरेज सधैं उस्तै छैन । उनी मेयर हुँदा र प्रधानमन्त्री भएपछिको कभरेजको शैली फरक देखिन्छ ।

चैत्र २८, २०८२

अनिल गिरी

Indian media's intense interest in Prime Minister Balendra Shah

What you should know

काठमाडौँ — नेपालको प्रधानमन्त्री बनेदेखि नै भारतीय मिडियामा वालेन्द्र शाह छाएका छन् । यसअघि, काठमाडौं महानगरपालिकाको मेयर छँदा भारतीय मिडियामा उनको चर्चा थियो । तर, त्यसबेला उनलाई ती मिडियाहरुले ‘भारत–विरोधी’ का रुपमा चर्चा गरेका थिए ।

मेयर छँदा शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको विषयले भारतीय मिडियामा व्यापक कभरेज पाएको थियो । सन् २०२३ मा भारतीय फिल्म ‘आदिपुरुष’ ले सीतालाई ‘भारतकी छोरी’ भनेर वर्णन गरेपछि शाहले उक्त लाइन तत्कालै सच्याउन चेतावनी दिए । ती लाइन नसच्याएमा महानगरभित्रका सिनेमा हलहरूमा बलिउड चलचित्रहरू प्रतिबन्ध लगाउने निर्णय पनि गरे ।

Indian media's intense interest in Prime Minister Balendra Shah

यस्तो निर्णय लगत्तै हलवालाहरुले प्रदर्शन रोके । त्यतिबेला हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाको निम्ति 'आदिपुरुष' को प्रदर्शन रोक्ने निर्णयमा पुगेको बताएका थिए । यतिमात्रै नभएर मेयर छँदा वालेन्द्रले बारम्बार आफ्नो सामाजिक सञ्जालमा  भारतसँगको सीमा विवादबारे लेखेका थिए । 

गत भदौमा जेन-जी आन्दोलनका दौरान भारतका पत्रपत्रिका र टेलिभिजनका संवाददाताहरु नेपालमा समाचारका लागि जम्मा भएका थिए । त्यसबेला मेयर शाह राष्ट्रिय बहसको पात्र बनिसकेका थिए । पुसमा शाहले मेयर पदबाट राजीनामा दिएर रास्वपाको वरिष्ठ नेताको रूपमा सामेल हुने निर्णय गरे । यतिबेला भने भारतीय मिडियामा वालेन्द्रको चर्चा सिमितमात्रै थियो । त्यसको केही समयमै रास्वपाले जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गर्ने निर्णय गर्‍यो । यसपछि भने फेरि भारतीय मिडियामा शाहको चर्चा हुन थाल्यो । 

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले शाहको कभरेजमा वृद्धि हुनुको एउटा प्रमुख कारण उनी मधेशी मूलको हुनु रहेको बताए । ‘भारतले नेपालको दक्षिणी भागलाई धेरै रणनीतिक महत्त्व दिन्छ । यो सबैलाई थाहा भएकै हो,’ अर्यालले भने । 

शाहले जानकी मन्दिरमा पूजाअर्चना गरेपछि जनकपुरबाट आफ्नो अभियान सुरु गरे । उनले मैथिलीमा भाषण पनि गरे । यसपछि भारतीय मिडिया र नयाँ दिल्लीको रणनीतिक वृत्तमा उनको हिन्दु समर्थक छविको चर्चा हुन थाल्यो । पश्चिमा मिडियाले उनलाई ‘र्‍यापर’ भनेर लेबल लगाएका छन् । भारतीय मिडियाले उनको धार्मिक आत्मीयतालाई नेपाल–भारत सम्बन्धको लागि नयाँ सेतुका रुपमा वर्णन गरिरहेका छन् । 

ओडिशा राज्यको ढेंकानाल क्याम्पसस्थित भारतीय जनसञ्चार संस्थानमा अध्यापन गर्ने आनन्द प्रधानले प्रधानमन्त्रीका रुपमा शाहको आगमनलाई भारतीय मिडियाले नेपाली राजनीतिमा भएको पुस्तान्तरणका रुपमा लिएको बताए ।

‘उनको आगमनलाई भ्रस्टाचार र विचारविहीन शासनबाट वाक्क हुँदै गएका युवा र शिक्षित जेन-जी नेतृत्वको उदयका रुपमा लिइएको छ । उनको उदयलाई प्रशंसाको साथ हेरिएको छ, जसले यस क्षेत्रमा अर्थपूर्ण परिवर्तनको आशा र चाहना दुवैको संकेत गर्छ,’ प्रधानले भने । 

शाहको चुनावी प्रचारप्रसार र भारी विजयपछि भारतीय कूटनीतिज्ञहरूले पनि यो विकासलाई नेपाल र भारतबीचको सम्बन्धलाई पुनर्स्थापित गर्ने अवसरको रूपमा हेरेको देखिन्छ ।

पूर्वभारतीय राजदूतहरू रञ्जित राय, राकेश सूद र मन्जीव सिंह पुरीले भारतको कूटनीतिक समुदायका सदस्यहरूसँग मिलेर नेपाली राजनीतिमा उनको प्रवेशलाई सचेततापूर्वक स्वागत गरेका छन् । पुराना दलहरुले तनावपूर्ण बनाएको सम्बन्धलाई उनले सुधार गर्ने सम्भावना देखेका छन् । भारतीय मिडियासँगका लेख र अन्तर्वार्ताहरूमा उनीहरूले प्रधानमन्त्री शाहले भारतसँगको सम्बन्ध ‘पुनर्स्थापित’ गर्न सक्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ रणनीतिक दिशा प्रदान गर्न सक्ने बताएका छन् । 

टाइम्स अफ इन्डियाले उनलाई ‘इन्जिनियर, र्‍यापर, मेयर, विघटनकारी’ भनेर व्याख्या गर्दै एक परिवर्तनकारी राष्ट्रिय नेताको रूपमा उनीबारे छलफल गर्‍यो ।

इन्डियन एक्सप्रेसले उनलाई राजनीतिक परिवर्तनको प्रतीकको रूपमा प्रस्तुत गर्‍यो । जो, सामान्य अवस्थाबाट नेपालको बदलिँदो राजनीतिक परिदृश्यमा केन्द्रीय व्यक्तित्वमा उदाए । अन्य मिडियाहरुले उनलाई नेपाली कांग्रेस, नेकपा–एमाले र अन्य कम्युनिस्ट दलका परम्परागत राजनीतिक नेताहरूसँग तुलना गरेका छन् । 

अर्को प्रभावशाली भारतीय पत्रिका 'द हिन्दु'ले आफ्नो सम्पादकीयमा ३५ वर्षको उमेरमा उनी नेपालका पहिलो मधेशी प्रधानमन्त्री बनेको उल्लेख गरेको छ । उनले शक्ति संरचनामा ब्राह्मण–क्षेत्रीसहितको पहाडी अभिजात वर्गको पुरानो प्रभुत्वलाई तोड्ने उल्लेख गरेको छ ।

राष्ट्रपति कार्यालयमा हिन्दु अनुष्ठान र वैदिक मन्त्रसहित आयोजित उनको शपथ ग्रहण समारोहलाई भारतीय मिडियाले व्यापक रूपमा कभर गरेका थिए ।

भारतीय टेलिभिजन च्यानल आज तकले उनको शपथ ग्रहण समारोहलाई ‘राज तिलक’ शीर्षक दिएको थियो । जसको अर्थ, नयाँ राजालाई गरिने राज्याभीषेक समारोह हो । Indian media's intense interest in Prime Minister Balendra Shah

‘नेपालका नयाँ प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोह रामनवमीको दिन हिन्दु वैदिक परम्परा अनुसार आयोजना गरियो । जसले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ,' आजतकको रिपोर्टमा उल्लेख छ । 

अर्यालले भने, ‘भारतीय मिडियाले शाहको मधेशी मुललाई ध्यानमा राखेर भारतसँग उनले कस्तो प्रकारको सम्बन्ध कायम राख्नेछन् भन्ने नियालिरहेका छन् । नयाँ दिल्लीप्रति उनको सम्भावित अडान, उनको राजनीतिक व्यक्तित्वलाई हेरिरहेका छन् । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक दृष्टिकोणलाई नै पछ्याउँछन् वा फरक देखिन्छन् भनेर नियालिरहेका छन् ।’

२०७२ सालमा भारतीय नाकाबन्दी र २०७६ को नक्सा विवादपछि राष्ट्रिय राजनीतिमा ओलीले राष्ट्रवादी छवि बनाएका थिए । भारतीय सञ्चारमाध्यमले शाहसँग बलियो युवा समर्थन रहेको बताएका छन् । उनको संस्थापनविरोधी भावना र भदौको जेनजी आन्दोलनमा उनले खेलेको भूमिकाको चर्चा गरिरहेका छन् । 

'केही भारतीय सञ्चारमाध्यमले पश्चिमी शक्तिहरूसँग उनको सम्बन्धको बारेमा  शंका गरेका छन्,’ अर्यालले भने, ‘पहाडी अभिजात वर्गको सत्तामा लामो पकड तोड्दै नेपालको पहिलो मधेश मूलको प्रधानमन्त्रीको रूपमा उनको उदय भारतीय मिडियाको लागि आश्चर्य र चासो दुवै बनेको छ । साथै, उनले विगतमा मेयर छँदा गरेका केही कामले उनीहरुलाई चिन्तित पनि गराएको छ । जस्तो, भारतले आफ्नो नक्सामा एकतर्फी रूपमा लिपुलेक र कालापानी समावेश गरेपछि शाहले मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।'

आउटलुक इन्डियाले उनको उदयलाई पुराना राजनीतिक दलहरू विरुद्धको जेन-जी लहर भनेको छ । यसमा उनलाई युवा मतदाताले नेपालमा गरेको व्यापक राजनीतिक पुनर्संरचनाको महत्वपूर्ण पक्षका रुपमा प्रस्तुत गरएिको छ । 

अन्य रिपोर्टहरूले उनलाई संस्थापन विरोधी, विघटनकारी व्यक्तित्व, परम्परागत अभिजात वर्गलाई चुनौती दिने, बलियो र कहिलेकाहीं विवादास्पद आवाज बोल्ने व्यक्तिका रूपमा चित्रण गरेका छन् । 

रास्वपा अध्यक्ष रवि लामिछाने र शाहलाई चुनावी सफलताको लागि बधाई दिने सुरुवाती विदेशी नेताहरूमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक थिए । यसले भारतमा मिडियाको ध्यान बढाउन पनि योगदान पुर्‍यायो ।भारतीय मिडियाका रिपोर्टिङहरु सत्तातर्फ झुकाउ राख्ने र विदेश नीतिमा सत्ताकै लाइन पछ्याउने गरेको भन्दै आलोचित छन् ।  

दक्षिण एसियाली विश्वविद्यालयका सह–प्राध्यापक धनञ्जय त्रिपाठीका अनुसार बंगलादेश र नेपालको चुनावले भारतीय मिडियामा पाएको कभरेज केही फरक देखिन्छ । ‘भारतीय मिडियामा बंगलादेशको चुनावलाई बढी नजिकबाट पछ्याइएको थियो । यसको विपरीत, नेपालको चुनावको कभरेज मुख्यतया जेन-जी विद्रोहको प्रभावको मूल्यांकनमा केन्द्रित थियो । नेपालको अप्रत्याशित जनादेशले भारतीय मिडियाको केही ध्यान खिचेपनि, प्राथमिक ध्यान समग्र परिणाम र स्थापित राजनीतिक दलहरूको पतनमा केन्द्रित रह्यो,’ उनले भने ।

केही हिन्दी पत्रपत्रिकाहरू र भारतीय समाचार टेलिभिजन च्यानलहरूमा शाहको राष्ट्रवादी अडान र विगतमा उनले भारतबारे गरेका टिप्पणीहरू बारम्बार उल्लेख गरिन्छ ।

भारतीय थिंक ट्यांकहरूमा काम गर्ने दिल्लीस्थित नेपाली विश्लेषक आकांक्षा शाहले शाहको व्यक्तित्व, चरित्र र शैलीप्रति भारतमा एक प्रकारको जिज्ञासा कायम रहेको बताइन् । ‘उनको उमेर, विशेषगरी चासोको विषय हो ।किनकि छिमेकमा यस्तो युवा व्यक्तिलाई नेतृत्वदायी भूमिकामा देख्नु असामान्य हो,’ विश्लेषक शाहले भनिन्, ‘मलाई लाग्छ नयाँ प्रधानमन्त्रीलाई लिएर भारतमा उत्साह छ । शाहले स्वदेश र विदेशमा मिडियासँग खुला संवाद गर्छन् वा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै बढी नियन्त्रित शैली अपनाउने भनेर यहाँका धेरै मिडियाकर्मीले जिज्ञासा राख्ने गरेका छन् ।’

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully