काठमाडौंमा सोमबारदेखि भारतीय फिल्म 'आदिपुरूष' को प्रदर्शन बन्द

असार ३, २०८०

गोविन्द पोखरेल, रीना मोक्तान

काठमाडौँ — भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म 'आदिपुरुष' नेपालमा पनि विवादित बनेपछि सोमबारबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि हलवालाहरुले पनि सोमबारबाट प्रदर्शन रोक्ने भएका छन् ।

हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाको निम्ति सोमबारदेखि 'आदिपुरुष' को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिए ।

महानगर प्रहरीले हलसम्मै पुगेर फिल्म प्रदर्शनमा रोक लगाउने कोसिस गरेपछि यो निर्णयमा पुगेको ढुंगानाले बताए । 'आजै (आइतबार) सिभिल मलको हलमा नगर प्रहरी पुगिसक्नुभयो । हामी सोमबारबाट फिल्म देखाउँदैनौं । हामी त जनताको सुरक्षाको जिम्मेवारीमा रहेको पक्ष हौं । हामीले त एक कदम पछाडि रहेर जनताको सुरक्षालाई ध्यानमा राखेर संयमित भएर अहिलेका लागि फिल्मको प्रदर्शन रद्द गर्छौं‚' ढुंगानाले ईकान्तिपुरसँग भने ।

आइतबार अपराह्न महानगर प्रमुख शाहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेखेका छन् । 'जानकी भारतीय छोरी' हुन् भन्ने संवाद फिल्मको मूल भागबाट हटाउनका लागि सरकारलाई ३ दिन पहिले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै शाहले चलचित्रका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन् । 

यसअघि विवादित संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि 'आदिपुरुष'को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । गत बिहीबार फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाई फिल्मको जाँचपास अनुमतिपत्र लिएका थिए । मेयर शाहले नेपालमा मात्र नभई भारतमा समेत उक्त संवाद नसच्याए उपत्यकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै गत शुक्रबार फेसबुकमा लेखेपछि 'आदिपुरुष' को विवाद चर्किएको थियो । त्यसैले सुरक्षाको कारण देखाउँदै 'चलचित्र संघ' ले शुक्रबारको बिहानीको सो पनि रद्द गरेको थियो । 

उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताउँदै महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मेयर शाहले शुक्रबार सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयलाई पत्र पनि पठाएका थिए । उक्त पत्रमा, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले कूटनीतिक पहल गरिनुपर्छ‚’ भन्ने उल्लेख थियो । 

मेयरले यसरी पठाएको पत्रबारे सरकारले आइतबार बिहानसम्म केही प्रतिक्रिया दिएको थिएन । दिउँसो उता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले विज्ञप्ति जारी गरी सेन्सर बोर्डबाट प्रदर्शनपूर्व नै उक्त संवादलाई हटाउन लगाइसकिएको उल्लेख गरेका छन् । हल सञ्चालकहरूले सेन्सर बोर्डले पास गरिसकेको भएकाले फिल्म प्रदर्शन जारी राखेका थिए । आइतबार काठमाडौंका हलहरूमा फिल्म प्रदर्शन भएपछि मेयर शाहले सोमबारबाट पूर्णत: बन्द गर्ने निर्णय गरे । केही हलहरूमा महानगर प्रहरी पठाएर फिल्म सञ्चालन गरेबापत कुनै सुरक्षा थ्रेट भए त्यसको जिम्मेवारी आफैं लिने भन्दै हल सञ्चालकलाई चेतावनी दिए । अझ नमाने सोमबारबाट प्रशासनिक बल प्रयोग नै गरेर बन्द गराउन सक्ने जवाफ महानगर प्रहरीबाट आएपछि हल सञ्चालकहरू फिल्म नदेखाउने निर्णयमा पुगेका हुन् ।

'प्रदर्शन रोक्ने आधिकारिक चिठ्ठी पनि उहाँहरूसँग छैन । के आधारमा हामीले प्रदर्शन रोक्ने पनि थाहा छैन,' सबैभन्दा ठूला हलहरूको सञ्जाल क्यूएफएक्ससँग समेत आबद्ध रहेका उपाध्यक्ष ढुंगानाले भने, 'सेन्सर बोर्डले नै प्रदर्शनको अनुमति दिएको कुरामा महानगरले हस्तक्षेप गर्नु त हामी मारमा पर्नु हो ।’ 

सरकारले जे भन्छ त्यही निर्णयमा आफूहरू पुग्ने ढुंगानाको भनाइ छ । 'अब न्यायपालिकाले यो विवादको छिनोफानो गरिदिनुपर्छ । यो विषयमा सञ्चार मन्त्रालय र विकास बोर्डले किन बोलिरहेको छैन‚ थाहा छैन हजारौंले फिल्म हेरिसके‚' उनले  भने ‘तर, त्यो संवादमाथि खासै आपत्ति जनाउनुभएको छैन ।अब हामी सरकारले जे भन्छ त्यही गर्छौं ।' 

'आदिपुरुष' का नेपाल वितरक मनोज राठी भारतमा प्रदर्शन हुने फिल्मबाट पनि उक्त संवाद हटाउने तयारी रहेको बताउँछन् । 'हामीलाई त सरकारले नै फिल्म प्रदर्शन गर्ने अनुमति दिएको हो । महानगरमा फिल्मको सेन्सर भएको होइन नि त । यसरी फिल्म नै रोक्ने कुरा त महानगरको अधिकार क्षेत्रमा पर्दैनजस्तो लाग्छ । फिल्मको प्रदर्शन रोक्ने त सञ्चार मन्त्रालयले हो । खासमा सेन्सर पास भइसकेपछि त सञ्चार मन्त्रालयले पनि फिल्मको प्रदर्शन रोक्न पाउँदैन,' राठीले भने, 'भारतले पनि त्यो संवाद फिल्मबाट हटाइसकेको छ । त्यसको चिठ्ठी हामी कुर्दै छौं । फिल्मको संवाद त्यति ठूलो छँदा पनि छैन । फिल्ममा जानकी भारतकी छोरी भनेकै छैन, भारतकी किसी बेटीको भन्ने संवाद छ । जुन म्युट नै गरिसक्यौं ।' 

निर्देशक मनोज पण्डित मेयर शाहको यो कदमको प्रशंसा गर्छन् । 'बालेनले जे निर्णय गर्नुभयो‚ त्यसको सापेक्षता छ । सबै फिल्मलाई बन्द गर्ने भन्ने हिसाबले आजबाट नेपालमा हिन्दी फिल्म नै चल्दैन भन्ने दृष्टिकोण राख्ने होइन । तर, तिमीहरूले नेपाललाई गलत तरिकाले देखाउन खोज्यौ भने नेपाल त्यसको विरुद्धमा खडा हुन सक्छ है भन्ने पोलिटिकल स्टेटमेन्ट हो यो,' पण्डित भन्छन्, 'यो संवाद, संवादमात्रै होइन त्यसमा भारतले नेपाललाई कसरी लिन्छ भन्ने दृष्टिकोण छ । खासमा मेयरको यो कदम तत्कालका लागि तीतो सुनिएला । तर, यसले कालान्तरसम्म असर देखाउँछ । यो मोदीको 'न्यारेटिभ्स' लाई चुनौती दिने बालेनको 'न्यारिटिभ्स' को म प्रशंसा गर्छु ।'

मेयर शाहले यो आफ्नो यो कदमलाई आफूले निर्वाह गरेको संवैधानिक दायित्वको रुपमा समेत  व्याख्या गरेका छन् । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बताउँदै उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएको मेयर बालेन्द्रको भनाइ छ । 

उनले भनेका छन्, 'काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ ।'

मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले 'आदिपुरुष' मा समावेश गरिएको संवादले सांस्कृतिक आक्रमण भएको दाबी गरे । 'यो चलचित्रको संवाद नहटाउँदा हाम्रो समाज नै खल्बलाउँछ । हामीले सरकारलाई यस विषयबारे पहिल्यै ध्यानाकर्षण गराएका थियौं,' भुपदेवले भने,' हिन्दी फिल्म हेर्नका लागि मनपर्ने मानिसहरू सामान्य हिसाबले जानु हुन्छ । तर‚ जो मानिसहरू यसको विपक्षमा छन्‚ त्यसले असर गर्छ । सम्भावित हिंसा नहोस् भनेर हामीले यो कदम चालेका हौं ।' 

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले हिन्दी फिल्म सोमबारदेखि सञ्चालन गर्न नदिने निर्णय अनुमोदन भइसकेको बताए । सरकारलाई ध्यानाकर्षण गराउनका लागि भने पत्र पठाए पनि कुनै सुनुवाइ नभएपछि काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालन हुने हिन्दी फिल्महरू सोमबारदेखि बन्द गराइएको प्रवक्ता मानन्धरले बताए । 

महानगर क्षेत्रभित्र सञ्चालन हुने हल,पार्टी प्यालेस तथा मलहरू स्थानीय सरकारको कानुनमा रहेर कर तिरेर सञ्चालन भएको बताउँदै उनले महानगरले गरेको निर्णयलाई हल सञ्चालकहरूले मान्नुपर्ने उनको दाबी छ । 'स्थानीय सरकारलाई कर तिरेर सञ्चालन भएका हलहरू महानगरसँग सम्बन्ध बिगार्न चाहँदैनन्,' मानन्धरले भने, 'महानगरले हिन्दी फिल्म सञ्चालन गर्न नदिने घोषणा गरिसकेपछि स्वाभाविक रुपमा उहाँहरूको सहयोग हुनुपर्छ । हामी स्थानीय सरकार भएकाले पनि सहयोग गर्नुहुन्छ ।'

उनले आदिपुरुष चलचित्रमाथि धेरैको आक्रोश रहेको बताउँदै सम्भावित घटना हुन नदिनका लागि यो निर्णय लिइएको दाबी गरेका छन् ।

महानगर प्रहरीले नै आफैं हल बन्द गराउन मिल्ने कि नमिल्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । फिल्म हलमा प्रदर्शन हुने चलचित्र रोक्न लगाउने विषयको सवालमा भने काठमाडौं महानगरपालिकाले ल्याएको नगर प्रहरीसम्बन्धी विनियमावली २०७२ मा नगर प्रहरीलाई फिल्म हलमा चलचित्र प्रदर्शन रोक्न लगाउने सम्बन्धमा कुनै पनि विवरण उल्लेख छैन । उक्त विनियमावलीको परिच्छेद-३ मा नगर प्रहरीको कर्तव्य र अधिकारसम्बन्धी विवरण छ । उक्त विनियमावलीमा नगर प्रहरीलाई सार्वजनिकस्थलमा राखिएका निर्माण सामग्री हटाउन लगाउने, फुटपाथ खाली गराउने, पसलमा मूल्य सूची राख्न लगाउनेदेखि छाडा पशु पक्राउ गरेर लिलामी गर्ने, छाडा कुकुर नियन्त्रण गर्ने, मरेको जीवजन्तु समयमै गाड्नेलगायत २८ वटा काम गर्न सक्ने उल्लेख छ । 

हलमा असुरक्षा भएको र फिल्म प्रदर्शनमा रोक लगाउनेबारे भएको निर्णयबारे नेपाल प्रहरीले भने  औपचारिक रुपमा कसैबाट केही कुरा नआएको बताएको छ । काठमाडौं उपत्यका प्रहरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सुरक्षाको कारण देखाउँदै हल सञ्चालकहरू आफूकहाँ नआएको बताए । 

नेपाल प्रहीका प्रवक्ता एवं डीआईजी कुबेर कडायत हालसम्म सुरक्षाकै लागि भनेर हलबाट जानकारी नआएको बताए । उनले भने, 'काठमाडौंका फिल्म हल तथा सिनेमा घरहरूमा त्यो किसिमको थ्रेट छैन । त्यो आएको भनेर जानकारी कसैले दिएको छैन । सुरक्षाको कुरा हो भने प्रहरी जतिखेर पनि परिचालित हुन्छ ।'

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully