रास्वपालाई राप्रपा सचेतक खुस्बु ओलीको प्रश्न - 'राजनीतिक प्रतिबद्धता अब परिस्थितिअनुसार बदलिने विकल्प मात्र हो कि त्यसमा कुनै नैतिक, राजनीतिक दायित्व पनि बाँकी छ ?'
What you should know
काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक आचरण र विश्वसनीयताको परीक्षणमा असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुस्बु ओलीले बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपा सचेतक ओलीले रास्वपाको आश्वासनलाई विश्वास गरेर उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको बताइन् । रास्वपाले राप्रपालाई आश्वासन दिएर श्रम संस्कृति पार्टीका उम्मेदवारको समर्थक बसेको ओलीको भनाइ थियो । 'संसद् संविधान, नियम, नियमावलीहरूले मात्रै टिकेको हुँदैन, संसद् दलहरूबीचको विश्वास, प्रतिबद्धता र विशेषगरी जिम्मेवार राजनीतिक संस्कारमा टिकेको हुन्छ,' ओलीको भनाइ थियो, 'सत्तारुढ दलहरूसँगको संवादपछि उपसभामुख पदको सन्दर्भमा बनेको समझदारी अन्तिम घडीमा लत्याइयो । यस विषयले हामी दलहरूबीच विश्वास भन्ने कुरा कति सस्तो रहेछ भन्ने कुरा देखियो ।'
राप्रपासँगको संवादपछि विश्वासघात भएको राप्रपाको भनाइ छ । राप्रपा सचेतक ओलीले उपसभामुखमा तृष्णा राखेर उम्मेदवारी नदिएको बताइन् । 'यो संविधानले प्रतिपक्षलाई निहीत गरेको पदको मात्र प्रश्न होइन, यो राजनीतिक आचारण र विश्वसनियताको पनि परीक्षण थियो । राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ,' ओलीले भनिन्, 'सहकार्यको आधार विश्वास हो भनिन्छ तर यहाँ त अविश्वासलाई नयाँ राजनीतिक संस्कार झै संस्थागत गरियो ।'
राजनीतिक प्रतिबद्धता परिस्थितिअनुसार परिवर्तन गर्न नहुने सचेतक ओलीको भनाइ थियो । उनले प्रश्न गरिन्, 'राजनीतिक प्रतिबद्धता अब परिस्थितिअनुसार बदलिने विकल्प मात्र हो कि त्यसमा कुनै नैतिक, राजनीतिक दायित्व पनि बाँकी छ ?'
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले विश्वसनीय व्यवहार नगरेको ओलीको भनाइ थियो । 'राप्रपा बोलीको पक्का रहँदै आएको छ तर रास्वपाले उदाउँदै गरेको आफ्नो रानजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धतामाथि विश्वास गरिहाल्न नसक्ने नजीर स्थापित गरेको छ । आजको प्रश्न पदको होइन, राजनीतिक आचरणको हो,' ओलीले भनिन् ।
नयाँ राजनीतिक दलहरूले सिन्डिकेट राख्न नहुने पनि राप्रपा सचेतक ओलीको भनाइ थियो ।
राप्रपाले आदिवासी महिलालाई उपसभामुख पदमा उम्मेदवार बनाएको ओलीको भनाइ थियो । महिलालाई राजनीतिज्ञको रूपमा स्वीकार गर्न सक्नुपर्ने पनि उनले बताइन् । राप्रपाबाट महिला उम्मेदवार हुँदै गर्दा आलोचना भएको भन्दै उनले आपत्ति जनाइन । श्रीमानको कारणले मात्रै महिलाको पहिचान गर्नु गलत भएको भन्दै ओलीले महिलालाई राजनीतिज्ञको रूपमा स्वीकार गर्नुपर्ने बताइन् ।
संसद्मा युवा मात्रै भनेर नहुने ओलीको भनाइ थियो । संसद्मा अनुभवीहरूको पनि आवश्यकता रहेको उनले बताइन् । 'यो सदन युवाको ऊर्जाले मात्रै चल्दैन, अग्रजको अनुभव पनि चाहिन्छ । अहिलेको आवश्यकता भनेको यो देशमा युवाको जोश, जाँगर र अग्रजको अनुभव हो । त्यसैले यो सदनमा हामी युवा युवा मात्रै भनेर हुँदैन,' सचेतक ओलीको भनाइ थियो, 'यो देशमा इमानदारीको जगमा गरिने राजनीतिक संस्कारको आवश्यकता छ । हामी प्रतिपक्षमा भएपनि सत्तापक्षसँग सहकार्य र समन्वय गर्छौं तर यहाँको राजनीतिको जग नयाँ, पुरानो, युवा, अग्रज होइन इमानको जगमा गरियोस् ।'
उपसभामुखको निर्वाचन गर्नका लागि प्रतिनिधिसभा बैठक शुक्रबार ४ बजेदेखि बसिरहेको छ । उपसभामुखमा राप्रपाका सरश्वती लामा र रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुर उम्मेदवार छन् । उपसभामुखमा उम्मेदवार ठाकुरलाई नेकपा लगायतका राजनीतिक दलले पनि समर्थन जनाएका छन् । रास्वपाको समर्थनमा उम्मेदवार बनेकी २६ वर्षीया रुवी उपसभामुख बन्ने निश्चित छ ।
