रवि लामिछानेलाई लक्षित गर्दै शाहीले प्रतिनिधिसभा बैठकमा भने- 'अब बोलीभन्दा बढी संकेत बुझ्नुपर्ने कुरा सिक्दैछु, किनकि बोलीको कुनै भर हुँदो रहेछ । पार्टी र विचार फरक भएपनि मैले सधै आदर्श मानेका व्यक्तित्वबाट सिकेको यो राजनीतिक संस्कारका लागि धन्यवाद व्यक्त गर्दछु ।'
What you should know
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाबाट धोका भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुखको निर्वाचनका क्रममा रास्वपाबाट आफूलाई धोका भएको बताएका हुन् ।
उपसभामुखमा पार्टीका उम्मेदवार सरस्वती लामाको प्रस्ताव प्रस्तुत गर्दै शाहीले उक्त धारणा राखेका हुन् । रास्वपा सभापति रवि लामिछानेबाट आश्वासन पाएपछि उपसभामुखमा पार्टीबाट उम्मेदवार अगाडि सारेको शाहीले बताए । उनले सभापति लामिछानेप्रति गुनासो व्यक्त गरेका छन् ।
रास्वपाबाट उपसभामुख उम्मेदवार अगाडि बढाउनेबारे धोका भएको शाहीको भनाइ छ । 'युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भनेझैं राजनीतिमा आश्वासन र धोका पनि जायज रहेछन् भन्ने कठोर यथार्थ बुझ्दैछु । अब बोलीभन्दा बढी संकेत बुझ्नुपर्ने कुरा सिक्दैछु, किनकि बोलीको कुनै भर हुँदो रहेछ,' शाहीले भने, 'पार्टी र विचार फरक भएपनि मैले सधैँ आदर्श मानेका व्यक्तित्वबाट सिकेको यो राजनीतिक संस्कारका लागि धन्यवाद व्यक्त गर्दछु ।'
उपसभामुख पदमा लामालाई उम्मेदवार बनाउने क्रममा रास्वपा सभापतिसँग छलफल भएको र जनजातिबाट उम्मेदवार बनाएको शाहीको भनाइ थियो । 'संसद्को सबैभन्दा ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पुराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । हिजो (बिहीबार) बिहान एकातिर उपसभामुखको निर्वाचनसम्बन्धी छलफलमा अन्य प्रतिपक्षी दलहरूले राप्रपालाई बाइपास गरी छलफल चलाइरहेका थिए भने अर्कातिर रास्वपा सभापतिबाटै सहयोगको आश्वासन प्राप्त गरेपछि राप्रपा संसदीय दलको सर्वसम्मत निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका हौं,' शाहीले भने, 'आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजोका पुराना भनिएका राजनीतिक दल र नयाँ भनेर उदाएका नयाँ राजनीतिक दलका साइनबोर्ड फरक-फरक भएतापनि उनीहरू बीचको नीतिगत, सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।'
राप्रपालाई उम्मेदवार अगाडि बढाउन आश्वासन दिएको शाहीले दोहोर्याएका थिए । रास्वपाको धोकाका कारणले श्रम संस्कृति पार्टीका उपसभामुख उम्मेदवार रुवी ठाकुरलाई समर्थन गर्नबाट राप्रपा वञ्चित भएको पनि शाहीको भनाइ थियो ।
