उपसभामुखको आसनमा जेन-जी रुवी

रुवी भन्छिन्- पहिला राजनीतिमा आउँछु भन्ने सोच थिएन, जेन–जी आन्दोलनपछि मधेशकी छोरी हुँ, म पनि केही गर्छु भन्ने लाग्यो । मधेशमा दाइजो प्रथालगायत धेरै मुद्दा र समस्या छन्, तिनै कुराको अन्त्यका लागि केही गर्न सकिन्छ कि भनेर समानुपातिकमा उठें, जति देशले अहिलेसम्म भोगेको छ, अब भोग्न नपरोस् भनेर काम गर्नेछु

चैत्र २७, २०८२

जयसिंह महरा

Jen-Gi Ruby in the Deputy Speaker's seat

What you should know

काठमाडौँ — भदौ २३ र २४ को जेन–जी आन्दोलनको परिणामसमेत रहेको प्रतिनिधिसभाको नेतृत्वमा जेन–जी उमेरकी नेतृ पुगेकी छन् । प्रतिनिधिसभाको उपसभामुखमा २६ वर्षीया रुवीकुमारी ठाकुर निर्वाचित भएको घोषणा हुन मात्रै बाँकी छ । त्यो घोषणा प्रतिनिधिसभाको शुक्रबार ४ बजे बस्ने बैठकले गर्दै छ, ‘रुवीकुमारी उपसभामुखमा निर्वाचित’ भनेर ।

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुवीले यति सानो उमेरमा सांसद बन्नेसम्म कल्पना गरेकी थिइनन् । तर, फागुन २१ को चुनावभन्दा केहीअघि मात्र गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुवीलाई प्रतिनिधिसभा सदस्य बनाइदियो । प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएपछि उनले संसद्मा रहेर मुलुकको केन्द्रीय राजनीति सिक्ने बताएकी थिइन् । उनले निर्वाचित भएपछि भनेकी थिइन्, ‘धेरै कुरा सिक्नु छ । राजनीतिबारे धेरै ज्ञान त छैन तर म मेरो क्षेत्र र समाजका लागि सधैं लागिपर्नेछु ।’

यसरी सांसद भएकी रुवी श्रम संस्कृति पार्टीको प्रस्ताव र प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाको समर्थनमा उपसभामुख बनेकी छन् । उपसभामुखका लागि बिहीबार बिहान ११ देखि २ बजेसम्मको उम्मेदवारी मनोनयन समय तोकिएको थियो । सुरुमै उम्मेदवारी मनोनयनपत्र लिएर गएको श्रम संस्कृति पार्टीले निर्धारित समय सकिनै लाग्दा रुवीको मनोनयन दर्ता गर्‍यो । 

रुवीको समर्थकमा पार्टी अध्यक्ष हर्क साम्पाङको नाम लेखिएको थियो तर उनी दार्चुला पुगेर फर्किंदै गरेकाले पत्रमा हस्ताक्षर नहुने भएपछि नाम मेटेर सोही पार्टीका सांसद आरेन राईको नाम लेखियो । समर्थकमा रास्वपाका अशोककुमार चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी संग्रौला बसे । रुवीको उम्मेदवारी दर्ताका लागि रास्वपाका महामन्त्रीसमेत रहेका सांसद कवीन्द्र बुर्लाकोटी पनि संसद् सचिवालय पुगेका थिए । 

रुवीको मनोनयन दर्तामा महामन्त्री बुर्लाकोटी उपस्थित भई समर्थकमा रास्वपा सांसद चौधरीले हस्ताक्षर गरिरहँदा राप्रपा पनि रास्वपाको समर्थन आफूलाई रहेको दाबी गरिरहेको थियो । उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि मनोनयन दर्ता गराएकी थिइन् । रुवीले मनोनयन दर्ता गराइरहँदा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले मिडियासामु भनिरहेका थिए, ‘रवि लामिछानेले आफैं फोन गर्नुभएको हो । स्वयं पार्टी सभापतिले नै उम्मेदवारी दर्ता गराउनुस् है, हाम्रो समर्थन छ भनेपछि हामीले दर्ता गराएका छौं । अब बाँकी उहाँहरू के गर्नुहुन्छ भन्ने हो ।’ 

रास्वपा सभापति लामिछानेको आग्रहमा नै पार्टीले जनजाति सांसद लामालाई उपसभामुखको उम्मेदवार बनाएको शाहीको भनाइ थियो । राप्रपा संसदीय दलको बैठक बसेरै लामालाई उम्मेदवार बनाउने निर्णय भएको थियो । उपसभामुखमा राप्रपाबाट खुस्बु ओलीको चर्चा भए पनि दलको बैठकमा भने उनले उम्मेदवार बन्न अनिच्छा व्यक्त गरेकी थिइन् । रुवीले मनोनयन दर्तापछि आफूलाई ‘सरप्राइज’ मिलेको प्रतिक्रिया दिइन् । समानुपातिकबाट सांसद बन्छु भन्ने पनि थाहा नभएको बताएकी उनले अहिले उपसभामुख बनेकी हुन् । ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरूले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ,’ रुवीको भनाइ थियो । 

मनोनयन दर्तापछि रुवीले पार्टी अध्यक्ष साम्पाङलाई पनि ‘धन्यवाद’ दिइन् । अध्यक्ष साम्पाङप्रति आभार प्रकट गर्नुको कारण पनि उनले खुलाइन्, ‘म भुइँको मान्छेलाई यति माथिसम्म पुर्‍याउनुभयो ।’ 

राजनीतिमै आउने सोच नभएको तर जेन–जी आन्दोलनले भने यो क्षेत्रमार्फत केही गर्नुपर्छ भन्ने लागेर संलग्न भएको रुवीको भनाइ छ । ‘पहिला राजनीतिमा आउँछु भन्ने सोच थिएन, जेन–जी आन्दोलनपछि मधेशकी छोरी हुँ, म पनि केही गर्छु भन्ने लाग्यो । मधेशमा दाइजो प्रथालगायत धेरै मुद्दा र समस्या छन् । तिनै कुराको अन्त्यका लागि केही गर्न सकिन्छ कि भनेर समानुपातिकमा उठें । जति देशले अहिलेसम्म भोगेको छ, अब भोग्न नपरोस् भनेर काम गर्नेछु,’ उनले भनिन् । 

पार्टी अध्यक्ष साम्पाङ भने दार्चुलाबाट धनगढी हुँदै काठमाडौं फर्कंदै छन् । उनले बाटोबाटै सामाजिक सञ्जाल फेसबुकमा रुवीले प्राप्त गरेको उपलब्धिबारे लेखेका छन्, ‘बधाई दिनेछैन म तिमीलाई, किनकि असल काम गरेर देखाएपछि मात्रै म बधाई दिने गर्छु । कार्यकालभरि पार्टीकी रहने छैनौ । तिमी पूरै देशकी बन्नेछौ । आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु । जरालाई बिर्सने वृक्ष सुकेर जानेछ । अल द बेस्ट रुवी नानी ।’ उपसभामुख पदमा निर्वाचित भएपछि पार्टीसँगको आबद्धता अन्त्य गर्नुपर्ने हुन्छ । 

रुवीलाई उपसभामुख बनाउनेबारे दार्चुलामा रहेका साम्पाङले रास्वपाका नेताहरूसँग फोनमा छलफल गरेका थिए । रास्वपा महामन्त्री बुर्लाकोटीले भने, ‘अध्यक्ष साम्पाङसँग उपसभामुखबारे बुधबार साँझ कुरा भएको थियो । अरूसँग पनि कुराकानी भइरहेको थियो । मनोनयन दर्ताअघिको अन्तिम १० मिनेटमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा पुगेका हौं ।’

Jen-Gi Ruby in the Deputy Speaker's seatश्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीलाई नेकपाले पनि समर्थन गरेको छ । उपसभामुखमा दाबी गरिरहेको नेकपाले रास्वपाको साथ नपाइने र साम्पाङले उम्मेदवार अगाडि सार्ने भएपछि रुवीको पक्षमा नै आफ्नो समर्थन जनाएको हो । तर, नेकपा औपचारिक समर्थकमा भने रहेको छैन । कांग्रेस र एमालेले उपसभामुखमा उम्मेदवारी दिएनन् । 

सांसद नै हुने कुराको कल्पना नगरेकी रुवीले जिम्मेवारी आइलागेपछि खुसीसँगै पदको भार अलि ठूलो भयो कि भन्ने आभास भइरहेको पनि बताइन् । ‘मैले कल्पना पनि गरेको थिइनँ, यहाँसम्मका लागि । मलाई खुसी लागिरहेको छ, मलाई अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु ।’ उपसभामुखको जिम्मेवारी देशले दिएको भनेकी उनले त्यो पदका साथमा आउने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइन् । 

उपसभामुख बन्न लागेकी रुवी १८ चैत २०५६ मा जन्मिएकी हुन् । उनी धनुषाको मझेलियास्थित ठाकुर बस्तीकी स्थानीय हुन् । रुवी राजनीतिमा आएको दुई महिना मात्र कटेको छ । धनुषाको बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गरिरहेकी उनी साम्पाङसँग भेटेपछि श्रम संस्कृति पार्टीमा आबद्ध भएकी हुन् । प्रतिनिधिसभाको कान्छी सांसदमा पर्ने रुवी कम उमेरमा उपसभामुख बन्ने सांसद पनि बनेकी छन् । उनका बाबु सोगराथ ठाकुर रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी हुन् । उनको परिवार दुई बिघा जमिन अधियाँमा लिएर खेती गर्दै आएको छ ।

७ महिनासम्म नक्सा बनाउने, टुडी र थ्रिडी डिजाइनजस्ता प्राविधिक काम गरिरहेको अवस्थामा सांसद बनेकी रुवी अब मुलुकको उपसभामुख बनेकी छन् । उनी संवैधानिक परिषद्मा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दलका नेतासँगै सहभागी हुनेछिन् । परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक आयोगमा हुने नियुक्तिका लागि सिफारिस गर्नेछ । उनले ती नियुक्तिसँगै संसद्मा कानुन निर्माणमा पनि भूमिका खेल्न सक्नेछिन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully