प्रधानमन्त्री शाहले श्रममन्त्री हटाए, स्वास्थ्यमन्त्रीलाई सचेत गराए

श्रममन्त्री साहले मन्त्री भएपछि पदीय हैसियतको प्रभावमा राखी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः सक्रिय गराए : रास्वपा

चैत्र २६, २०८२

जयसिंह महरा

Prime Minister Shah removes Labor Minister, warns Health Minister

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह मुछिएको विवादमा मन्त्री मेहतालाई समेत सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति रवि लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए । केन्द्रीय अनुशासन आयोगले प्राप्त प्रमाण र विवरण अध्ययन गर्दा दीपककुमार साह सांसद निर्वाचित भई मन्त्रीमा नियुक्त भएपश्चात पदीय हैसियतको प्रभावमा राखी बोर्डमा पुनः सक्रिय गराएको देखिन आएको जनाएको छ । 

प्रधानमन्त्री शाहले रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाएका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । 

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए ।

सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिइन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully