पर्यटनमन्त्रीसँग भेट्न एक दिनअघि गुगल फर्म अनिवार्य भर्नुपर्ने 

अब मन्त्रीसँग भेट गर्न चाहने सर्वसाधारणले कम्तीमा एक दिनअघि नै मन्त्रालयको वेबसाइटमा उपलब्ध गुगल फर्म भरेर नाम दर्ता गर्नुपर्नेछ।

चैत्र २६, २०८२

सुरज कुँवर

It is mandatory to fill out a Google form one day before meeting with the Tourism Minister.

What you should know

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) सँग हुने दैनिक भेटघाटलाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। 

अब मन्त्रीसँग भेट गर्न चाहने सर्वसाधारणले कम्तीमा एक दिनअघि नै मन्त्रालयको वेबसाइटमा उपलब्ध गुगल फर्म भरेर नाम दर्ता गर्नुपर्नेछ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार भेटघाटको समय दिउँसो ३ बजेदेखि ४ बजेसम्म मात्र निर्धारण गरिएको छ। सो समयसीमाभित्र मात्र भेटघाट सम्भव हुने भएकाले सेवाग्राहीलाई समय व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ।

It is mandatory to fill out a Google form one day before meeting with the Tourism Minister.

भेटघाटका लागि इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना, पद तथा कार्यरत निकाय, सम्पर्क नम्बर र भेटको उद्देश्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, भेटघाटको विषय र मिति पनि अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले भेटघाटका विषयहरू मुख्यतः संस्कृति, पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित हुने जनाएको छ। यद्यपि अन्य विषयमा पनि भेट गर्न सकिनेछ, जसका लागि फर्ममा ‘अन्य’ शीर्षकअन्तर्गत विवरण दिन सकिने व्यवस्था छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार यस निर्णयले दैनिक कार्यप्रवाहलाई थप प्रभावकारी बनाउने र सेवाग्राहीलाई सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ। 

यसअघि मन्त्री पौडेलले आफूसँग भेट्न आउने व्यक्तिहरूले खिचेका तस्बिरहरूको दुरुपयोग नगर्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सूचना जारी गरेका थिए। साथै, उनले भेटका क्रममा मोबाइललगायतका डिजिटल उपकरण कार्यकक्षभित्र लैजान निषेध समेत गरेका छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully