पर्यटन मन्त्रीले भने : मसँग खिचेका तस्बिर दुरुपयोग नगर्नू 

मन्त्रीको कार्यकक्षमा मोबाइल लैजान निषेध

चैत्र २०, २०८२

सुरज कुँवर

Tourism Minister says: Don't misuse photos taken with me

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले मन्त्रालय वा भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू प्रयोग गरेर केही व्यक्तिले आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै अनधिकृत लाभ लिन खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

मन्त्री पौडेलले यस्ता गतिविधि नगर्न र नगराउन सबैलाई आग्रह गर्दै, कुनै पनि प्रकारको प्रभाव वा प्रलोभनमार्फत लाभ लिन खोज्ने प्रयास नगर्न फेसबुकमार्फत चेतावनी दिएका हुन् ।

आफूसँग खिचिएका सौहार्दपूर्ण तस्बिरहरूलाई आधार बनाएर गलत दाबी र अनधिकृत लाभ लिने प्रयास बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले कडा चेतावनी जारी गरेका हुन् ।

मन्त्रीले मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आफ्नो कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी पनि दिएका छन्। 

उनले यस निर्णयका कारण हुने असुविधाप्रति क्षमायाचना गर्दै मन्त्रालयको अनुशासन र संस्थागत प्रणालीप्रति सम्मान कायम राख्न सबैसँग अपिल गरेका छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully