हाजिर जमानीमा छुटेपछि ओलीले भने : मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्तत: म रिहा भएँ

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने पनि ओलीले जानकारी गराएका छन् ।

चैत्र २६, २०८२

इकान्तिपुर डेस्क

After being released on bail, Oli said: ”I was finally released after there was not enough evidence to prosecute.”

काठमाडौँ — हाजिर जमानीमा छुटेपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।'

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने पनि ओलीले जानकारी गराएका छन् । यसअघि उनका स्वकीय सचिव राजेश बज्राचार्यले पनि ओली केही दिन चिकित्सककै निगरानीमा रहने र सोमबार पत्थरीको अपरेसन हुने जानकारी कान्तिपुरलाई दिएका थिए । 


भदौ २३ र २४ को घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा छाडेको हो । सर्वोच्च अदालतको आदेशअनुसार ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले कान्तिपुरलाई बताए ।

ओली परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।

‘सो हुन नसकेमा तेस्रो पटक म्याद थप भएको अवधिको उपरान्त ओली र लेखकलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान कार्य सम्पन्न गर्न’ आदेशमा उल्लेख थियो ।

इकान्तिपुर

Link copied successfully