पूर्वप्रधानमन्त्री ओली चिकित्सकको अब्जरभेसनमै, सोमबार पत्थरीको अपरेसन

भदौ २३ र २४ को घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा छाडेको

चैत्र २६, २०८२

गंगा बीसी

Former Prime Minister Oli undergoes kidney stone surgery on Monday under doctor's observation

काठमाडौँ — प्रहरी हिरासतबाट मुक्त भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार पत्थरीको अपरेसन हुने भएको छ ।  अपरेसनका लागि अस्पतालका विभिन्न विभागहरूले ओलीको स्वास्थ्य ‘अब्जरभेसन’ गरिरहेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

‘अध्यक्ष अहिले अस्पतालमै हुनुहुन्छ । सोमबार उहाँको पत्थरीको अपरेसन छ,’ उनले भने, ‘अस्पतालका विभिन्न विभागको अब्जरभेसनमा हुनुहुन्छ ।’

भदौ २३ र २४ को घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले कान्तिपुरलाई बताए ।

ओली परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।

‘सो हुन नसकेमा तेस्रो पटक म्याद थप भएको अवधिको उपरान्त ओली र लेखकलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान कार्य सम्पन्न गर्न’ आदेशमा उल्लेख थियो ।

अदालतले ओलीको बयान र अनुसन्धानका अन्य कार्यसमेत सम्पन्न भइसकेको मिसिलबाट देखिएको समेत उल्लेख गरेको थियो । र, छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत खोजी भएका बेला उपस्थित हुने गरी छाडिएको उल्लेख गरिएको थियो ।

गंगा

Link copied successfully