सांसद विकले हालैका दिनमा अमिसा पराजुलीमाथि साइबर आक्रमण भएको र हिंसा गरिएको भन्दै संसदमा आपत्ति जनाइन्।
काठमाडौँ — एमाले सांसद विष्णुमाया विकले सामाजिक सञ्जालमार्फत महिलामाथि हिंसा भएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभा संसदमा बोल्दै साइबर हमलामा महिलाहरू पर्ने क्रम बढेको बताइन्।सांसद विकले हालैका दिनमा अमिसा पराजुलीमाथि साइबर आक्रमण भएको र हिंसा गरिएको भन्दै आपत्ति जनाइन्।
१४ चैतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरबाटै पक्राउ गरेपछि एमालेले गरेको विरोध प्रदर्शनमा अमिसा पराजुली सडकमा आइपुगेकी थिइन्। त्यही बेला उनले भनेकी थिइन्, ‘ओलीलाई पक्राउ गर्नु गैरकानुनी हो। ‘कानुनभन्दा माथि कोही पनि छैन।’ यही भनाइ सामाजिक सञ्जालमा फैलिएपछि अमिसामाथि सामाजिक सञ्जालबाटै घृणा गर्ने, धम्की दिने र अश्लील गाली गर्ने क्रम देखिएको थियो। यही पृष्ठभूमिमा सांसद विकले यो घटनाको विरोध गर्नुपर्ने बताइन्।
सांसद विकले चुनावका बेला एमालेमाथि पनि सामाजिक सञ्जालबाट हमला भएको बताइन्। उनले भनिन्, ‘सामाजिक सञ्जाल नियमन गरिनुपर्छ।’
उनले पूर्व गृहमन्त्री लेखक र पूर्व प्रधानमन्त्री ओलीलाई विनासर्त रिहाइ गर्न पनि माग गरिन्। उनले भनिन्, ‘उहाँहरू भाग्ने कुरा पनि छैन। उहाँहरू सत्तामा पनि हुनुहुन्न। त्यसैले तुरुन्त रिहाइ गर्नुपर्छ।’
