प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रास्वपाका शीर्ष नेताहरूबीचको छलफलबाट सांसदहरूको शपथ १२ गते भएपछि वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तय भएको हो । मन्त्रीहरूको पनि शपथ प्रधानमन्त्रीसँगै हुने भएको छ ।

चैत्र ५, २०८२

जयसिंह महरा

Shah's swearing-in date set as Prime Minister

काठमाडौँ — प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । 

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो । 

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । 'चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,' उपसभापति वाग्लेले भने । 

वाग्लेले पार्टीका चार नेताबीच 'राजकाज'का सम्बन्धमा छलफल भएको यसअघि नै जानकारी दिएका थिए । 

सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै  प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो । 

रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully