जनादेशको दिन : नेपाल आज मतदानमा

बिहान ७ बजेदेखि मतदान, अपराह्न ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने सबैभन्दा बढी मतदाता रामेछापमा १,८७,९५२ जना, सबैभन्दा कम मनाङमा ७,०००

फाल्गुन २१, २०८२

जयसिंह महरा, दुर्गा दुलाल

Mandate Day: Nepal goes to the polls today

काठमाडौँ — जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा बिहीबार मतदान हुँदै छ । मतदानलाई सुरक्षित र व्यवस्थित रूपमा पूरा गराउन सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुन्न निर्वाचन हुँदै छ । १ करोड ८९ लाख ३ हजार ६ सय ८९ नागरिकलाई मताधिकार छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे मतदान सुरु हुनेछ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् । 

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् । एक उम्मेदवार अन्य लिंगको रहेको आयोगको विवरण छ । प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट २ हजार २ सय ६३ र स्वतन्त्र रूपबाट १ हजार १ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फ ६३ दलका १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला उम्मेदवार छन् । राजनीतिक दललाई प्राप्त हुने भोटका आधारमा समानुपातिक सांसद चयन हुने व्यवस्था छ । दुईवटा निर्वाचन प्रणालीका कारण मतदाताले दुई मतपत्रमा रहेको चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेछ । 

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी छ तर मतदाता पुरुष बढी छन् । यो निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख ४० हजार १ सय ३१ महिला मतदाता छन् । लैंगिक अल्पसंख्यक मतदाताको संख्या २ सय रहेको निर्वाचन आयोगले जनाएको छ । सुरक्षाकर्मी, निर्वाचनमा खटिने कर्मचारी, कैदी र आश्रममा बस्ने गरी १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता छन् । उनीहरूका लागि अस्थायी मतदानस्थल तोकिएको छ । 

Mandate Day: Nepal goes to the polls today

सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् । यहाँ ३६ लाख ८२ हजार ३ सय १० मतदाता रहेको आयोगको तथ्यांक छ । मधेशमा ३६ लाख ३६ हजार ४ सय १४, कोशीमा ३५ लाख ७४ हजार ३ सय १० र लुम्बिनीमा ३३ लाख ८६ हजार ६ 

सय ८० मतदाता छन् । गण्डकीमा १८ लाख ७० हजार ६५, सुदूरपश्चिममा १७ लाख १६ हजार ६ सय ६० र कर्णालीमा १० लाख ३७ हजार २ सय ५० मतदाता छन् ।

एक मतगणनास्थलमा कम्तीमा ८ सीसीटीभी क्यामेरा जडान, तारजाली र फलामे बार मतपेटिका संकलन भएलगत्तै गणना, एक साताभित्रै समानुपातिकको समेत नतिजा दिने आयोगको दाबीसबैभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र रामेछापमा हो । एक निर्वाचन क्षेत्र रहेको रामेछापमा १ लाख ८७ हजार ९ सय ५२ मतदाता छन् । मनाङमा सबैभन्दा कम ७ हजार मतदाता छन् । यस निर्वाचनका लागि १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र छ । अस्थायी मतदानस्थलको संख्या १ सय ४३ छ । 

मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभए राहदानी, राहदानी नभए राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम भने समावेश हुनुपर्नेछ ।

निर्वाचनका लागि ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छापेर मतदान केन्द्रसम्म पठाइएको छ । प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिएको हो । निर्वाचनलाई पर्यवेक्षणका लागि ३९ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन आयोगबाट अनुमति पाएका छन् । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई चुनावमा सहभागी हुन आह्वान गरेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग क्रियाशील रहेको पनि उनले जानकारी दिए । ‘मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैंगिक, अपांगतामैत्री व्यवस्थापन तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण कार्यक्रम पूरा भइसकेका छन् । मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको छ,’ उनले भने । 

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार हेलिकोप्टरबाट समेत निर्वाचन सामग्री र जनशक्ति मतदान स्थलसम्म पुर्‍याइएको छ । ‘डोल्पाका २३ र हुम्लाका ४ गरी अति दुर्गम २७ स्थानमा हेलिकोप्टरबाट मतपत्र, मतपेटिकालगायतका सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठायौं,’ उनले भने, ‘मतदानपछि ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरबाट मतपेटिका संकलन गरिनेछ ।’ 

निर्वाचनको सुरक्षाका लागि मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेना खटाइएको छ । निर्वाचनमा परिचालन गरिएका सैनिकको संख्या ७९ हजार ७ सय २७ छ । नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७ र सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६ सुरक्षाकर्मी खटाइएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ कर्मचारी खटाइएको छ । सुरक्षा व्यवस्थाका लागि १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी पनि तैनाथ छन् । यो निर्वाचन गराउन २ लाख १५ हजार कर्मचारी खटाइएको आयोगले जनाएको छ ।

आयोगका सचिव राउतका अनुसार विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकनका आधारमा ३ हजार ६ सय ८० मतदानस्थललाई ‘अति संवेदनशील’को सूचीमा राखिएको छ । ४ हजार ४ सय ४२ मतदानस्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदानस्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ । ‘चारवटै सुरक्षा निकायले आयोगको समन्वयमा तयार पारेको एकीकृत सुरक्षा योजनाअन्तर्गत निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको छ,’ सचिव राउतले भने । 

Mandate Day: Nepal goes to the polls today

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम दिने गरी तयारी मिलाइएको जानकारी दिए । उनका अनुसार मतदान सकिएर मतपेटिका संकलन गरिनेछ, मतपेटिका जम्मा गरिसकेपछि सर्वदलीय बैठक बस्छ, जहाँ मतगणनादेखि सदर र बदरसम्मका नियम निर्धारण गरिन्छ । त्यसपछि गणना सुरु हुनेछ । 

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी गरे पनि प्रत्यक्षतर्फ सबैको परिणाम आइसक्न चार दिनसम्म लाग्न सक्ने कर्मचारीहरूको भनाइ छ । प्रत्यक्षतर्फको गणना सकिएपछि समानुपातिकको मत गनिनेछ । निर्वाचन आयोगले एक साताभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने दाबी गरेको छ । मतगणनाका क्रममा भएका विगतका घटनाबाट पाठ सिक्दै यसपालि निर्वाचन प्रणाली र अभ्यासमा सुधार गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । ‘यस पटक मतगणनास्थल झन् परिस्कृत र सुरक्षित बनाइएको छ,’ उनले भने, ‘गणनास्थललाई तारजालीले घेरेर सुरक्षित बनाइएको छ । मतगणना गर्ने र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँ छुट्टै तयार गरिएको छ । उनीहरूले मतगणना हेर्न पाउँछन् तर गणकको छेउमा पुग्न पाउँदैनन् ।’ 

आयोगका अनुसार मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजालीसहितको फलामको बार राखिएको छ । हरेक मतगणनास्थलमा कम्तीमा आठवटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । ठूलो मतगणनास्थल रहेको ठाउँमा भने बढी सीसीटीभी क्यामेरा राखिएको आयोगले जनाएको छ । 

Mandate Day: Nepal goes to the polls today

आयोगले मतपरिणामको जानकारी आफ्नो वेबसाइटबाट अद्यावधिक गराउनेछ । गणनास्थलमा माइकिङ गरेर समय–समयमा नतिजाबारे जानकारी गराउने व्यवस्था मिलाइएको छ । आयोगका अनुसार निर्वाचन परिणाम ‘अपलोड’ गर्न एक–एक अधिकृतलाई युजर र पासपोर्ट दिएर गणनास्थलमा खटाइएको छ । 

जेन–जी विद्रोहको दबाबमा परेर गत २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की कार्यकारी प्रमुख बनेकी थिइन् । उनले नियुक्ति पाएकै दिन २७ भदौमा गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनका लागि निर्वाचन घोषणा गरेका थिए । सुरुमा केही दल चुनावमा जान अनिच्छुक देखिए पनि अन्ततः सबै निर्वाचनमा होमिएका हुन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully