कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर पर्ने देखिएको छ।
काठमाडौँ — पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर पर्ने देखिएको छ ।
खाडी मुलुकमार्फत हुने हवाई सेवा प्रभावित भएको छ । हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ । जसले त्यहाँको वातावरण त्रसित छ ।
खासगरी इन्धन आयातमा गिरावट आउने र मूल्यवृद्धिसमेत हुने भएकाले नेपालको समग्र अर्थव्यवस्थामा असर पुग्ने विज्ञहरूको अनुमान छ ।नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत खाडी क्षेत्रबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, त्यसमा खाडी मुलुकबाट आएको रेमिट्यान्स ४ खर्ब २२ अर्ब छ । आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको योगदान ६ खर्ब ७३ अर्ब थियो ।
खाडी क्षेत्रबाट नेपालमा थोरै भए पनि पर्यटक आउने गरेका छन् । गत आर्थिक वर्षमा खाडी मुलुकबाट २० हजार ५ सय ४ पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ । अघिल्लो वर्ष (१६ हजार ६ सय ४८) को तुलनामा गत वर्ष खाडी मुलुकबाट नेपालमा बढी पर्यटक आएका थिए । गएको आर्थिक वर्ष खाडी मुलुकबाट आएका पर्यटकको संख्या नेपालको कुल पर्यटकको १.८ प्रतिशत हो । गत आर्थिक वर्ष नेपालमा ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक भित्रिएका थिए ।
पश्चिम एसिया क्षेत्रमा तनाव कायम रहिरह्यो भने नेपालको विदेशी मुद्रा आर्जनमा प्रभाव पर्नेछ । ती मुलुकबाट नेपाली उपभोक्ताका लागि अवश्यक ठानिएका सुन, चाँदी र तिनका गरगहना, तामाको तार, प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ आयातसमेत प्रभावित हुनेछ ।
खासगरी इन्धन आयातमा गिरावट आउने र मूल्यवृद्धिसमेत हुने भएकाले नेपालको समग्र अर्थव्यवस्थामा असर पुग्ने विज्ञहरूको अनुमान छ । खाडी क्षेत्रका मुख्य पेट्रोलियम खानीमा आक्रमण भएपछि आइतबारदेखि नै विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने त्यहाँको रोजगारी पनि प्रभावित भएको छ । पछिल्ला वर्षमा नेपालले सामान्य मात्र आर्थिक वृद्धि गरेको र आयातमै बढी निर्भर भएको अवस्था छ । खाडी क्षेत्रमा तनाव लम्बिए वस्तु आयातमा समस्या हुने र आयात महँगो हुने भएकाले मुलुकमा मुद्रास्फीति बढ्ने विज्ञहरू बताउँछन् ।
‘आयात महँगो हुँदा ढुवानी र बिमा शुल्क बढ्ने भएकाले मुलुकको विदेशी मुद्रा सञ्चिति दबाबमा रहने जोखिम छ,’ व्यापारविद् रविशंकर सैंजू भन्छन्, ‘तनाव जारी रहे एकातिर कामदारको उद्धार गर्नुपर्नेछ भने अर्कातिर विदेश जाने श्रमिकसमेत रोकिने सम्भावना रहन्छ । यसले रेमिट्यान्समा असर पर्नेछ ।’
युद्धका कारण पश्चिम एसियाका धेरै मुलुकको व्यापारिक गतिविधि प्रभावित भएकाले त्यसको असर नेपालको रेमिट्यान्स, व्यापार र श्रम बजारमा पर्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख रामशरण खरेल बताउँछन् । ‘कुल रेमिट्यान्समध्ये पश्चिम एसियाका करिब १५ देशबाट करिब ४० प्रतिशत रेमिट्यान्स नेपालमा आउने गरेको छ । युद्धका कारण त्यसमा प्रत्यक्ष प्रभाव पर्ने सम्भावना छ,’ उनी भन्छन्, ‘खाडी मुलुकमार्फत हुने व्यापार प्रभावित हुने जोखिम धेरै छ ।’
खाडी मुलुकको अर्थव्यवस्था खलबलिएपछि थप नेपाली वैदेशिक रोजगारीमा जाने वातावरण नहुने खरेलको भनाइ छ । ‘सरकारले ती क्षेत्रमा जान रोक लगाएकाले नेपालको रोजगारी प्रभावित हुन थालेको छ ।’
व्यापारविद् सैंजू पश्चिम एसियामा जारी तनावका कारण नेपालको वैदेशिक रोजगारी प्रभावित हुने सम्भावना रहेका कारण सरकारले श्रम गन्तव्यको सुरक्षा र उद्धार योजना बनाउनुपर्ने बताउँछन् ।नेपाल रेमिटर्स एसोसिएसनका पूर्वअध्यक्ष चन्द्र टण्डन पनि खाडीमा रहेको अशान्तिका कारण नेपाली कामदार प्रभावित भएको र त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा पर्ने निश्चित रहेको बताउँछन् । ‘मैले आज (सोमबार) मात्रै दुबई, कतार, साउदी अरब र कुवेत गरी चार मुलुकमा रहेका हाम्रा कर्मचारीसँग त्यहाँको अवस्थाबारे कुरा गरेको थिएँ । उनीहरूले अप्ठेरो परिस्थिति रहेको जानकारी दिए,’ उनले भने, ‘आइतबार र सोमबार कतारमा धेरै मनी चेन्जर कम्पनी बन्द थिए । छिटफुट खुले पनि काम भएन ।’
खाडी मुलुकहरू नेपालीका मुख्य श्रम गन्तव्य हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली श्रमिक कार्यरत छन् । विगतमा वैदेशिक रोजगारीमा गएकामध्ये करिब ८० प्रतिशत खाडी मुलुकमा जाने हुन्थे । पछिल्ला वर्षहरूमा अरू देशमा जाने नेपालीको संख्या बढेको छ ।
अब खासगरी कतार जाने नेपालीको संख्या अझै बढ्नेवाला थियो । सन् २०३० मा कतारले एसियाली खेलकुद प्रतियोगिता गर्दै छ । त्यसका लागि खेलकुदका ठूला पूर्वाधार निर्माण भइरहेको छ । कतारले यसअघि सन् २०२२ को विश्वकप फुटबल आयोजना गरेको थियो । विश्वकपका लागि रंगशालालगायत पूर्वाधार निर्माणका लागि २०२२ अघिसम्म नेपालबाट वार्षिक १ लाख (नयाँ र पुरानो गरी) श्रमिक कतार गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
सन् २०२२ पछि एक/दुई वर्ष नेपालबाट कतार जाने कामदार थोरै घटेको थियो । तर त्यसपछि वार्षिक एक लाखभन्दा बढी कामदार कतार जाने गरेका छन् । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १ लाख ४० हजार र आर्थिक वर्ष २०८०/८१ मा १ लाख ३४ हजार नेपाली कतार गएका थिए । कतारमा नेपाली कामदारको संख्या ४ लाखसम्म पुगेको थियो । अहिले पनि ३ लाख ५७ हजार नेपाली त्यहाँ कार्यरत छन् । यसले कतारको रोजगारीमा स्थिरता देखिन्छ ।
व्यापारविद् सैंजू पश्चिम एसियामा जारी तनावका कारण नेपालको वैदेशिक रोजगारी प्रभावित हुने सम्भावना रहेका कारण सरकारले श्रम गन्तव्यको सुरक्षा र उद्धार योजना बनाउनुपर्ने बताउँछन् । ‘खाडीमा रहेका करिब २० लाख नेपालीको सुरक्षाका लागि सम्बन्धित देशका दूतावासहरूलाई उच्च सतर्कतामा राख्नुपर्छ । आवश्यक परे चार्टर्ड उडानमार्फत तुरुन्त उद्धार गर्नुपर्छ,’ उनी भन्छन् ।
रोजगारविज्ञ युवराज बस्नेत भने खाडी क्षेत्रको श्रम बजारमा पर्ने असरबारे अहिले अनुमान गर्नु हतार हुने बताउँछन् । ‘अहिले भइरहेको युद्ध खाडीका देशहरूप्रति लक्षित भएको देखिँदैन । यो अमेरिकी सैन्य शिविरहरूमा केन्द्रित छ,’ उनी भन्छन्, ‘युद्ध कति लामो समयसम्म लम्बिन्छ, त्यसले हाम्रो प्रमुख गन्तव्यको भविष्य निर्धारण गर्छ ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले तेलको मूल्य प्रतिब्यारेल एक सय डलरसम्म पुग्ने भन्दै समाचार लेखेको छ । सोमबार कच्चा तेलको मूल्य १० प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८२ डलरसम्म पुगेको थियो, जुन सन् २०२५ यताकै उच्च हो । मंगलबार प्रतिब्यारेल ८२ डलर हाराहारीमै कारोबार भइरहेको छ । तेलको मूल्य बढेर प्रतिब्यारेल सय डलर पुग्ने अनुमान गरिएकाले नेपालमा इन्धनको मूल्यका कारण यातायात लागत र उत्पादन लागतमा प्रभाव पर्ने अर्थविद् केशव आचार्य बताउँछन् । आगामी दिनमा आयात मूल्य, यातायात लागत, उत्पादन लागतदेखि मुद्रास्फीतिसमेत बढ्ने उनको भनाइ छ ।
हाल नेपालले भारतबाट मात्र पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । भारतीय आयल निगम (आईओसी) ले खाडी मुलुकबाट इन्धन आयात गर्छ । नेपालले तेल आयातका लागि हरेक पाँच वर्षमा आईओसीसँग सम्झौता गर्दै आएको छ । भारतले खाडीबाट ल्याएको इन्धन नै नेपाललाई दिने हो ।
‘स्ट्रेट अफ हर्मुज’ इरान र ओमानबीचको जलमार्ग हो । यसले खाडीलाई अरब सागरसँग जोड्छ । विश्वको कुल तेल खपतको २० प्रतिशत बराबरको तेल ढुवानी गर्ने ट्यांकर साउदी अरब, इराक, इरान, यूएई, कुवेत, कतारलगायत उत्पादकका कार्गोले समेत यही मार्ग प्रयोग गर्छन् । ‘इरानलगायत विभिन्न देशमा रहेका पेट्रोलियम पदार्थको खानीमा आक्रमण भएसँगै सोमबारै विश्वबजारमा कच्चा तेलको मूल्य बढिसकेको छ । पेट्रोलियम पदार्थ पूर्ण रूपमा आयातित रहेकाले नेपाल पनि प्रभावित हुन सक्छ,’ राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख रामशरण खरेलले भने ।
इरानविरुद्ध अमेरिका–इजरायलले ‘ओपेक प्लस’ (तेल निर्यात गर्ने देश तथा सहयोगी देशहरूको समूह) को सदस्य देश इरानविरुद्ध युद्ध गरेपछि र तेहरानको प्रतिशोधले पश्चिम एसियाको तेल ढुवानीमा अवरोध भएको छ । ओपेक प्लसको बैठकमा आइतबार दिनको १ लाख ३७ हजार ब्यारेलदेखि ५ लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्ने विकल्पमाथि छलफल भएको छ । छलफलपछि आगामी अप्रिलदेखि दिनको २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने सहमति भएको छ । मौसमी कमजोरीका कारण जनवरीदेखि मार्च २०२६ सम्मका लागि उत्पादन वृद्धिमा रोक लगाइएको छ ।
भारतले इन्धन ढुवानीको वैकल्पिक मार्गहरू खोजिरहेको छ । पेट्रोलियम पदार्थको अभाव हुने भन्दै नेपालमा आइतबारदेखि नै पेट्रोल पम्पहरूमा लाइन देखिएको छ । तर नेपाल आयल निगमले तत्काल मूल्यवृद्धि नहुने र अभाव पनि नहुने बताउँदै आएको छ ।
पश्चिम एसियामा गरिने आपूर्तिमा पनि जारी युद्धका कारण सिधा असर पर्ने देखिएको छ । चालु आर्थिक वर्षका सात महिनामा नेपालले खाडी मुलुकहरूबाट ४८ अर्ब ७६ करोड ७६ लाख रुपैयाँको आयात गरेको छ ।पाइपलाइनमार्फत नियमित रूपमा पेट्रोलियम पदार्थ आयात भइरहेको र आसन्न निर्वाचनमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले बताए । ‘अनावश्यक रूपमा पेट्रोलियम पदार्थ स्टोर गर्दा हुन सक्ने आगोजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको छ,’ उनले भने, ‘दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न उपभोक्तालाई हाम्रो आग्रह छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन, चाँदी, ग्यासलगायतको समेत मूल्यवृद्धि भएको छ । सुन प्रतिऔंस ५ हजार २ सय ३०.५० डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य हेरेर नै नेपालमा सुनको मूल्य तय गरिन्छ ।
पश्चिम एसियामा गरिने आपूर्तिमा पनि जारी युद्धका कारण सिधा असर पर्ने देखिएको छ । चालु आर्थिक वर्षका सात महिनामा नेपालले खाडी मुलुकहरूबाट ४८ अर्ब ७६ करोड ७६ लाख रुपैयाँको आयात गरेको छ । त्यही अवधिमा १ अर्ब ६४ करोड १६ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्ष खाडी मुलुकबाट ५० अर्ब ३१ करोड ५१ लाख रुपैयाँको आयात र ३ अर्ब ४५ करोड ९४ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ ।
नेपाल खाडी मुलुकमा श्रमिक पठाउने देश मात्र नभई कच्चा पदार्थ (प्लास्टिक/धातु), कृषि (मल) र निर्माण सामग्री (जिप्सम) का लागिसमेत ती देशमा निर्भर छ । अहिले देखिएको तनावले नेपालको औद्योगिक उत्पादन र खाद्य सुरक्षाका लागि प्रत्यक्ष चुनौती रहेको जानकारहरू बताउँछन् । यूएईबाट सबैभन्दा बढी सुन, चाँदी र तिनका गरगहना र तामाको तार आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षका ७ महिनामा यूएईबाट ३७ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन, चाँदी र तामाको तार आयात भएको छ । अन्य वस्तुसमेत गरेर सात महिनामा यूएईबाट ४१ अर्ब रुपैयाँ बराबरको आयात गरिएको छ ।
यूएईबाट सुन–चाँदी हवाईमार्गबाट ल्याउने गरिए पनि अहिले ठप्प छ । बाँकी वस्तु ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाटै आउने भएकाले नेपालको सुन–चाँदी व्यवसाय र विद्युतीय उत्पादन क्षेत्र ठप्प हुन सक्ने सरकारका पूर्वसहसचिव रविशंकर सैंजू बताउँछन् ।
साउदी अरबबाट प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ आयात हुने गर्छ । मुख्यतया पोलिमर (पोलिथिन र पोलिप्रोपिलिन) आयात हुने गरेको विभागले जनाएको छ । सात महिनामा साउदी अरबबाट ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँको वस्तु आयात भएको छ ।
कतारबाट रासायनिक मल, सुनका गरगहना, टेलिभिजनलगायत आयात गरिन्छ । चालु आर्थिक वर्षका सात महिनामा मात्रै कतारबाट नेपालले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको रासायनिक मल आयात गरेको छ । विभागका अनुसार ७ महिनामा कतारबाट ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।
ओमानबाट सबैभन्दा बढी सिमेन्ट उद्योगका लागि आवश्यक जिप्सम आयात गरिएको छ । जिप्सम मात्रै ३२ अर्ब ८ करोड रुपैयाँको आयात गरिएको भन्सारको तथ्यांक छ । ओमानमा हेभी इक्विपमेन्ट (बुलडोजर आदि) को व्यापार हुने गरेको देखिएको छ ।
खाडी क्षेत्रबाट आउने सुन–चाँदीबाहेक सबै सामग्री औद्योगिक उत्पादन तथा अर्थतन्त्रसँग अन्तरसम्बन्धित छन् । यसको असर यहाँको उत्पादनमा पर्ने निश्चित छ । सैंजूका अनुसार साउदी अरबबाट आउने प्लास्टिकजन्य कच्चा पदार्थ र यूएईबाट आउने तामाको आपूर्ति रोकिए नेपालका प्लास्टिक पाइप, बाल्टिन, प्याकेजिङ र बिजुलीका तार बनाउने उद्योगहरूमा कच्चा पदार्थको अभाव हुन सक्छ । त्यसका साथै उत्पादन लागत निकै बढ्न सक्छ ।
मुख्य कुरा पश्चिम एसियामा द्वन्द्व कहिलेसम्म लम्बिन्छ र त्यसले त्यहाँको अर्थतन्त्र कति खलबलिन्छ, त्यसका आधारमा नेपालमा पर्ने असर अनुमान गर्न सकिने अग्रवाल बताउँछन् ।कतारबाट रासायनिक मल आपूर्तिमा अवरोध आए खेतीको मुख्य सिजनमा मल अभाव भई नेपालको खाद्य सुरक्षामा चुनौती थपिने सैंजू बताउँछन् । ‘नेपाली उद्यमीका लागि खाडी मुलुक उदाउँदो बजार रहेकाले क्षेत्रीय युद्ध भए चिया बगान, गलैँचा कारखाना र चाउचाउ उद्योगमा आश्रित नेपालीको जीविकोपार्जनमा धक्का लाग्नेछ,’ उनी भन्छन् । उनका अनुसार साउदी अरबबाट ‘पोलिमर’ र कतारबाट ‘मल’ मा निर्भर रहेकाले तत्काल भारत, चीन वा दक्षिण–पूर्वी एसियाली देशबाट यी वस्तु आयात गर्ने वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था आएको छ ।
पश्चिम एसियामा भएको युद्धको असरले नेपाली अर्थतन्त्र प्रत्यक्ष प्रभावित हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल बताउँछन् । ‘अहिले नेपाल पनि विश्व अर्थतन्त्रको सञ्जालबाट टाढिन सक्ने अवस्था छैन, यसकारण त्यहाँ भएको आर्थिक उचारचढावको प्रत्यक्ष प्रभाव हाम्रोमा पनि पर्छ,’ उनी भन्छन्, ‘अल्पकालका लागि रेमिट्यान्स घट्न सक्छ । तर, केही समयपछि यो अवस्थामा सुधार आउँछ किनकि त्यहाँ पुनर्निर्माण सुरु भएपछि कामदारको माग बढ्छ ।’
मुख्य कुरा पश्चिम एसियामा द्वन्द्व कहिलेसम्म लम्बिन्छ र त्यसले त्यहाँको अर्थतन्त्र कति खलबलिन्छ, त्यसका आधारमा नेपालमा पर्ने असर अनुमान गर्न सकिने अग्रवाल बताउँछन् । ‘तत्काल सुन–चाँदी, तेललगायतको मूल्य बढिसकेको छ । त्यसको असर हाम्रो बजारमा पनि देखिन थालेको छ,’ उनी भन्छन्, ‘नेपालको पर्यटनमा पनि प्रभाव पर्छ । सबैभन्दा ठूलो असर नेपालको आपूर्ति प्रणालीमा पर्छ ।’ अग्रवालका अनुसार खाडी मुलुकमा भएको तनावले भारतीय अर्थतन्त्र जति प्रभावित हुन्छ, त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ । ‘किनकि भारुसँग नेपाली मुद्राको विनिमयदर स्थिर छ,’ उनी भन्छन्, ‘तर, नेपाली अर्थतन्त्रमा के कति प्रभाव पार्छ भन्ने आकलन अहिल्यै गर्न गाह्रो छ ।’
निर्यातको परिमाण सानो भए पनि केही नेपाली उत्पादनका लागि खाडी मुलुकहरू महत्त्वपूर्ण बजार रहेको जानकारहरू बताउँछन् । कतार, कुवेत र बहराइनमा ठूलो मात्रामा पास्ता, नुडल्स र स्न्याक्स (कुर्कुरे/लेज) निर्यात भइरहेको भन्सार विभागको तथ्यांक छ । नेपालले खाडी मुलुकमा सेफ्टी रेजर ब्लेड, एक्स्काभेटर, गलैंचा र चियालगायत वस्तु निर्यात गर्दै आएको छ ।
साउदीमा हेभी इक्विपमेन्ट (बुलडोजर, एक्स्काभेटर, लोडर आदि), गलैंचा, जर्दा/खैनीलगायत वस्तु निर्यात हुन्छ । यसबाट नगण्य मात्रामा भए पनि विदेशी मुद्रा आर्जनमा सहयोग पुगेको छ । युद्ध जारी रहे नेपालको बामे सर्दै गरेको निर्यात बजारमा समेत थप संकुचन आउने निश्चित छ ।
