राजसंस्थामाथिको आस्था र भक्तिभाव रवीन्द्र मिश्रको जीवन–पथ र विश्वास हो । चुनावी जित ‘मुनाफामुखी’ राजनीतिको चरमोत्कर्ष हो भने त्यो चरमोत्कर्षमा पुग्ने सौभाग्यचाहिँ उनले अझै प्राप्त गरेका छैनन् ।
What you should know
काठमाडौँ — रवीन्द्र मिश्र ती ‘अद्भुत’ र 'सुविख्यात' पत्रकार थिए, जसले अढाई दशकका हिउँद-वर्षा-वसन्त पत्रकारितालाई अर्पण गरे । ‘अन्तिम श्वाससम्मै पत्रकारितामा रहून्’ भन्ने फ्यानहरूको पवित्र इच्छामाथि पानी खन्याइदिए र राजनीतिमार्फत जिन्दगीको दोस्रो इनिङ्स थालनी गरे । अहोरात्र राजनीतिमै दौडधूप गरिरहे । राजनीतिको घुम्ती र कुइनेटोमा केही दुःख हुन्छ, केही खुसी । र, अदम्य उत्साह पनि । यहाँ सपना हुन्छ, सपनासम्म पुग्न भयानक संघर्षहरू पनि हुन्छन् ।
तर, रवीन्द्र मिश्रको ‘उन्मादी अनुष्ठान’ र सपनाले सायद उनलाई जीवनैभर दुःख दिइरहनेछ । किनभने उनी घामको चम्किलो उज्यालोमा धिपधिपे मैनबत्तीको उज्यालो खोजिरहेका छन् । अर्थात्, गणतन्त्रमा राजतन्त्र खोजिरहेका छन् । राजतन्त्रकै सपना अर्थात्, श्रीपेचपूजक राजनीतिमा उनी जीवन उत्सर्ग गर्दै छन् ।
इतिहासले असान्दर्भिक निष्कर्ष निकालेर मिल्काएको २३८ वर्षे राजतन्त्रको महिमामण्डन गर्ने साँघुरो वृत्तमा मिश्र किन पुगे ? यो थाहा पाउनुअघि पत्रकारितमा मिश्रको शानदार र भव्यतम ‘क्रेज’ को एक झलक हेरौं । त्यो ‘क्रेज’ को पृष्ठ पल्टाउन हामी १५ वर्षअघिको सूदुर समयको गल्लीतिर विचरण गरौं ।
०००
पत्रकारका रूपमा रवीन्द्रको नाम, काम र ख्याति असाध्यै चुलिएको समय थियो त्यो । स्वप्नदर्शीहरूका ‘रोलमोडल’ थिए– रवीन्द्र मिश्र । ‘हरेक मान्छेको आफ्नै सगरमाथा हुन्छ’ भन्ने मान्ने हो भने आफ्नो ‘करिअर’ को सगरमाथामा थिए मिश्र, बीबीसी नेपाली सेवामा लन्डन र पछि काठमाडौंमा कार्यरत रहँदा ।
२०६७ फागुनमा रामेछापको एक यात्रामा थिए– जगदीश घिमिरे, रवीन्द्र मिश्र, युवराज घिमिरे, मनोज दाहालहरू । यो पंक्तिकार पनि त्यही यात्रामा सामेल थियो । मिश्र लन्डनबाट भर्खरै काठमाडौं फर्केका थिए । रामेछापका गाउँहरू भ्रमण गरिरहँदा मिश्रलाई हेर्नै मात्र युवाहरू बारीका पाटा र खेतका कान्लामा उक्लिन्थे वा दोबाटोमा भेटेर पुलकित हुन्थे । गाउँ घुम्ने मेसोमा हामी भँगेरी पुगेका थियौं । ‘हजुरको रेडियो स्टेसन’ पुग्दा गेटैमा रेडियो एंकरको एक हुलले घेरा हाल्यो । खासमा त्यो घेरा अरूमाथि होइन, मिश्रमाथि थियो । स्टेसनकी एक प्रस्तोताले लजालु भावमा भनेकी थिइन्, ‘रवीन्द्र सर हजुर पो ! भेट्ने कत्रो धोको थियो । बीबीसीमा तपाईंको बोली सुन्दा म रेडियोमा कहिले बोल्न सकूँला भन्ने लाग्थ्यो ।’
सर्वत्र प्रशंसा सुनेर रवीन्द्र मुसुमुसु हाँसिरहन्थे । ती युवतीले हाम्रो समूहलाई ‘अन एयर’ रुममै लिएर गएकी थिइन् । दिउँसो ११ बजेको समाचार पढिरहेकी उमा केसीले बाहिर निस्केर मिश्रलाई झुकेरै नमस्ते गरेकी थिइन् । ‘मेरो त आज खुसीको सीमा नै छैन,’ उनले भनेकी थिइन्, ‘तपाईंलाई हाम्रो रेडियोमा देखेपछि म अचम्ममा परेँ, समाचार पढ्नै अकमकिएँ । तपाईंजस्तो मान्छे हाम्रो रेडियोमा ! पत्याउनै गाह्रो भइरहेको छ ।’ रवीन्द्रले भनेका थिए, ‘म पनि तपाईंजस्तै सामान्य रेडियोकर्मी त हुँ नि । उसैगरी समाचार तयार गर्छौं, उसैगरी पढ्छौं ।’
भँगेरी, मन्थली, भालुखोला, भलुवाजोर, बिर्ताटारका मन्दिर र चोक बजारका बाटा र चौरस्तामा मिश्रसँग फोटो खिचाउने रहरमा तमाम युवा लामबद्ध थिए । त्यो मिश्रप्रतिको श्रद्धा थियो कि केवल ग्ल्यामर ? गाउँलेहरू पनि रवीन्द्रलाई दुई हात जोडेर ‘नमस्ते’ गर्थे र भन्थे– ‘१५ वर्षदेखि हजुरलाई रेडियोमा सुनेको, आज भेट हुने मौका जुर्यो ।’
एक दृश्य यस्तोसम्म थियो– भँगेरी गाउँमा ‘अनारबाजे’ थिए, जो अनारखेतीबाटै वर्षमा लाखौं कमाउँथे । उनको घर पुग्दा साँझ झमक्कै परेको थियो । तातो चियाले स्वागत गर्दा उनले रवीन्द्रलाई देखे, दुई हातले नमस्ते गरे र एकछिनपछि भने, ‘मेरो छोरो काठमाडौंमा पत्रकारिता पढ्छ । भगवान्सँग मेरो छोरा तपाईंजस्तै ठूलो बनोस् भनेर प्रार्थना गर्ने गरेको छु । मेरो आँगन टेकिदिनुभो, आज खुसीले भुइँमा खुट्टै छैन ।’
त्योबेला मिश्र थिए– नेपाली पत्रकारका लागि एक ‘आइकन’ र धेरै तलब खाने पत्रकार । मिश्रकै अनुसार, २०७३ मा ‘बीबीसी नेपाली सेवा’ छोड्दा उनको मासिक तलब ७ लाख रुपैयाँ थियो ।
१५ वर्षअघिको त्यो दृश्य लेख्नुको कारण हो– उबेलाको रवीन्द्र मिश्रको क्रेजमाथि विमर्श गर्नु । उहिले–उहिले सहरमा मात्रै होइन, गाउँ–गाउँमा पनि ‘बीबीसी’मा बोल्दाबोल्दै ठूला सेलिब्रिटी भइसकेका थिए– रवीन्द्र । उनले १५ वर्षसम्म बीबीसी नेपाली सेवाको लन्डन स्टुडियोमा काम गरेका थिए ।
१५ वर्षपछिको आजको दृश्य–पट बदलिएको छ, उनी पत्रकारिताबाट अलग छन् । उनी बनेका छन्– राप्रपा नेता र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ का उम्मेदवार । २०७३ मा राजनीतिक यात्रा थालनी गरेका मिश्रले सायद नेताका रूपमा पनि आफ्नो ‘क्रेज’ कायमै राखेका छन् ।
०००
काठमाडौं–१ बाट उम्मेदवारी दर्तापछि रवीन्द्र मिश्रले भनेका थिए– पृथ्वीनारायणले तेस्रो पटकको हमलामा काठमाडौं विजय गरेझैं म पनि तेस्रो पटकमा पक्कै जित्नेछु ।
राजसंस्थामाथिको आस्था र भक्तिभाव रवीन्द्रको जीवन–पथ र विश्वास हो । उनी पूर्वराजालाई जति प्रेम गर्छन्– मान्छेहरूका दुःख, कष्ट र हतासामाथि पनि संवेदनशील नै छन् । चुनावी जित मुनाफामुखी राजनीतिको चरमोत्कर्ष हो भने त्यो चरमोत्कर्षमा पुग्ने सौभाग्यचाहिँ प्राप्त गरेका छैनन्– रवीन्द्र मिश्रले । राजनीति यहाँ यस्तो खेल बनेको छ, जसले जनताको सेवा होइन, तर्क–वाकपटुतालाई नै सर्वोपरि ठान्छ । मिश्र पनि वाकपटुतामार्फत २०६२–६३ को मानवसागर अर्थात् दोस्रो जनआन्दोलनले केही दशकअघि नै निकै पर हुत्याइदिएको पुरानो विचारको राजतन्त्रको पक्षपोषणमा मग्न–मग्न छन् । राजतन्त्र अन्त्यको २० वर्षमा पूर्वराजा ज्ञानेन्द्र मात्रै फेरि सलबलाएका छैनन्– रवीन्द्र मिश्र, कमल थापा, राजेन्द्र लिङ्देन, धवलशमसेर राणा, ज्ञानेन्द्र शाहीजस्ता राजावादीहरू पनि सडक प्रदर्शनमा निस्किन थालेका छन् ।
ज्ञात–अज्ञात तमाम युवाले गणतन्त्रमै जीवन उत्सर्ग गरेका थिए । ती दिग्गजप्रति आभार दर्शाउँदैनन् मिश्र ।
जन–जनहरू ‘गणतन्त्र’ जपून्, तर, ‘पृथ्वीनारायणतिरै फर्कने’ मिश्रहरू भने जन्मँदै राजा बन्ने अँध्यारो परम्परा, कथा र किंवदन्ती खोज्दै राज–धाम धाउँछन् । जस्तो पूर्वराजा ज्ञानेन्द्र भेट्न बारबार मिश्र नागार्जुन पुग्छन्, देश–दुनियाँका खबर सुनाउँछन् र राप्रपा कार्यालय वा निवास फिर्छन् । ‘मैले राजासँगको भेटमा उहाँका कमजोरीहरूबारे पनि कुरा गरेको छु,’ मिश्रले भने।
चुनावी दौडधुपमा मग्न मिश्रले माघको एक मध्यदिन भूतपूर्व प्रधानमन्त्री माधव नेपालको टिप्पणीलाई उद्धृत गर्दैै भने, 'राजा ज्ञानेन्द्रले रगतको होली खेलिएको बेला र कुनै पनि ठूला दल यसमा सहमत नभइसकेको अवस्थामा राजसंस्था पुनःस्थापित गर्न उपयुक्त समय होइन भन्नुभएको रहेछ ।'
मिश्रलाई लाग्छ, २३८ वर्षको राजसंस्था अन्त्य हुँदा हजारौं वर्षको राजसंस्थाको परम्पराको अन्त्य भयो । ‘राजाले गद्दी छोड्दा पनि त्यो कालखण्डमा नेपालको इतिहासमा सबैभन्दा घृणित र दानवीकरण गरिएका पात्र हुन् ज्ञानेन्द्र । अब नेपाली जनताले चाहे भने मात्रै फर्किने राजाको मनसुवा छ ।’ २ घन्टाको अन्तवार्ताभरि मिश्रले ‘पूर्वराजा’ भनेनन्, ‘राजा’ सम्बोधनमै मग्न भए । र, पूर्वराजामाथि नेपाली जनताको समर्थन बढ्दै गएको उनको दाबी छ ।
०००
माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड, राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता घोषणाजस्ता नेपालका निर्णायक घटनाक्रममाथि विशिष्ट विचारसहित विश्लेषण गर्ने रवीन्द्र मिश्र सटीक, गहिरो र दिशा–निर्देशक अन्तर्वार्ता अनि लेखनका लागि सुप्रसिद्ध छन् ।
यो चुनावमा राजतन्त्रका नव–प्रर्वतक मिश्रको चुवानी दैनिकी असाध्यै हतारोमय छ । यो चुनावमा उत्तीर्ण हुन उनलाई कति अनुकूल छ ? कति प्रतिकूल ? त्यो त निर्वाचनको नजिताले नै देखाउनेछ ।
एक समय मिश्र नेताहरूलाई सोध्ने असाध्यै तिखा शैलीका प्रश्नका लागि चर्चित थिए । उहिले रेडियो सुन्ने मानिसहरू सायद ती दिनका तरंगमा अझै तैरिन्छन्– ‘नेपाल सन्दर्भबाट रवीन्द्र मिश्रको नमस्कार’ ! मिश्र नेताहरूलाई निकै खरो प्रश्न गर्थे– साँझ पौने ९ बजे बीबीसी नेपाली सेवाको कार्यक्रम— नेपाल सन्दर्भमा । ‘बीबीसी नेपाली सेवा’ दैनिक ३० मिनेटको कार्यक्रम थियो । ‘नेपाल सन्दर्भ’ चाहिँ हप्ताको एक दिनको अन्तर्वार्ताको कार्यक्रम, जुन रवीन्द्र मिश्रले चलाउँथे र असाध्यै लोकप्रिय थियो । मिश्रको छवि थियो– जोसँग पनि निर्भीक र निडर भएर कुरा गर्न सक्ने ‘अद्भुत’ पत्रकारको ।
०००
असाध्यै मिलनसार, भुइँमान्छेहरूमाथि निकै संवेदनशील र समाजका मुद्दामा सचेत रवीन्द्र मिश्रका लागि परीक्षाका वर्षहरू थिए– २०७४ र २०७९ । ती चुनावी वर्षले उनलाई केही पाठ सिकाए । पत्रकारितामा एक ‘उचाइ’ छोएका मिश्रले राजनीतिक उडानमा चाहिँ गम्भीर अवरोध व्यहोरे । उनी थिए— प्रतिनिधिसभा–२०७४ को चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील–साझा पार्टीका उम्मेदवार । त्यस चुनावमा प्राप्त हारले मिश्रलाई राजनीतिको अर्को खिया लागिसकेको ‘साँघुरो कुनो'मा धकेलिदियो । त्यसपछि उनले उहिल्यैदेखि हृदयको कुनै कुनामा जतनले लुकाइरहेको ‘दक्षिणपन्थी’ विचारलाई खुलेआम सार्वजनिक प्रदर्शनीमा राखे ।
गणतन्त्रप्रति मुखले प्रतिबद्धता त उनी देखाउँथे, तर मनको राजभक्ति कसरी छोपिराख्नु ? कसरी लुकाउनु ? गणतन्त्रको लाइन छाडेर उनको अन्तरमनको ‘राजतन्त्र–यात्रा’ त्यसपछि अंकुरण भयो । र, विवेकशील–साझाको ‘वैकल्पिक राजनीति’ को बाटो खारेज गरेर राजतन्त्रको खुलेआम वकालत गर्न थाले । जेल–नेल र तनावहरू व्यहोरे । तर, राजतन्त्रको जपतप छाडेनन् ।
मिश्रको विचारमा नेपाली समाज अहिले मध्य दक्षिणपन्थी छ, तर राजनीति नागरिक समाज र पत्रकारिता मध्य–बामपन्थी । ‘यो दुइटाको ब्यालेन्स नमिलीकन समाज सन्तुलित हुँदैन । त्यसै हुनाले दक्षिणपन्थी भन्नेबित्तिकै जसरी दानवीकरण गरिन्छ, यो समाजमा त्यो गलत हो’, मिश्र भन्छन्, ‘दक्षिणपन्थीले बामपन्थीलाई दानवीकृत गर्नु हुँदैन, बामपन्थीले पनि दक्षिणपन्थीलाई । अति दक्षिणपन्थ र अति बामपन्थ दुइटै खराब हो देशका लागि । बामपन्थीले दक्षिणपन्थीलाई दानवीकृत गर्यो भने अति दक्षिणपन्थ या अति बामपन्थ जन्मिन सक्छ ।’
‘राजतन्त्र फिर्ता ल्याउने’ कडा अडानसहित उही क्षेत्रबाट २०७९ को चुनावमा राप्रपा पार्टीको उम्मेदवार बनेका उनी फेरि हारे । तर, राजनीतिक परिदृश्यबाट गायब भइसकेको राजतन्त्रप्रति उनको अटुट विश्वास कस्तो छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र ‘राजतन्त्र फिर्ता ल्याउन’ यही क्षेत्रबाट तेस्रो पटक २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उठेका छन् । कुल मतदाता ४८,४८९ रहेको काठमाडौं–१ मा उनीसँगै चुनावी मैदानमा छन्– कांग्रेसका प्रबल थापा क्षेत्री, रास्वपाकी रञ्जु दर्शना, एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी, स्वतन्त्र उम्मेदवार असिममान सिंह बस्न्यातलगायत ।
उम्मेदवारी दर्तापछि मिश्रले भनेका थिए– पृथ्वीनारायण शाहले तेस्रो पटकको हमलामा काठमाडौं विजय गरेझैं म पनि तेस्रो पटकमा पक्कै जित्नेछु । र, यो चुनावमा राजतन्त्रका नव–प्रर्वतक मिश्रको चुवानी दैनिकी असाध्यै हतारोमय छ । यो चुनावमा उत्तीर्ण हुन उनलाई कति अनुकूल छ ? कति प्रतिकूल ? त्यो त निर्वाचनको नजिताले नै देखाउनेछ ।
मिश्रका अनेकन् परिचय छन्— लेखक, परोपकारी पत्रकार, कवि र राजनीतिकर्मी । २०७३ मा ‘बीबीसी नेपाली सेवा’ को नेपाल कार्यालय प्रमुख पदबाट राजीनामा दिएर साझा पार्टी सुरु गर्दा पार्टी स्थापनाको चार खम्बा थिए– पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता । पार्टीको खास दर्शन थियो– कल्याणकारी लोकतन्त्र । स्थापनाको पाँच महिनापछि ‘विवेकशील नेपाली’ पार्टीसँग एकीकृत भई ‘विवेकशील साझा पार्टी’ बनेको थियो । नेपाली युवाहरू विवेकशील साझा पार्टीलाई नेपालको रूपान्तरणको झिल्को सोच्थे ।
पत्रकारितालाई सायद सदाका लागि तिलाञ्जली दिएर फागुन– २०७३ देखि ‘होलटाइम’ राजनीतिमा पसेका रवीन्द्र मिश्र असलमा राजनीतिको कित्ता परिवर्तन गरेरै मानिसबीच चर्चाको केन्द्रमै रहे । पहिलो चुनावमा उनको नारा ‘वैकल्पिक राजनीति’ थियो, जसबाट उनले उल्लेख्य मत प्राप्त गरेका थिए । २०७३ मा मिश्रले खोलेको ‘साझा पार्टी’ उज्ज्वल थापा नेतृत्वको ‘विवेकशील नेपाली पार्टी’ सँग एकीकरण भई ‘विवेकशील साझा पार्टी’ बनेको थियो । मिश्र राप्रपा प्रवेश गर्दा ‘विवेकशील साझा पार्टी’ ध्वस्त, कमजोर र क्षतविक्षत भइसकेको थियो । र, ‘विवेकशील साझा पार्टी’ यो हालतमा पुग्नुमा तत्कालीन नेतृत्वकर्ताका हिसाबले रवीन्द्र मिश्रको प्रमुख भूमिका छ । उनले सचेततापूर्वक यो पार्टीलाई दक्षिणपन्थी कित्तामा पुर्याएका थिए । र, त्यो पार्टीबाट आफ्नो अभीष्ट पूरा नहुने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे ।
रवीन्द्र मिश्रले बेमौसमी बाजा बजाए, त्यसको पीडामा उनी आफू त छँदै छन्, सयौं–हजारौं क्रियाशील युवालाई पनि धोका दिए — मिलन पाण्डे, राजनीतिकर्मी
परम्परागत राजावादीहरू समेत राजतन्त्रका विषयमा मौन रहेको समयमा ‘विवेकशील साझा पार्टी’ मै बसेर रवीन्द्र मिश्रले राजावादी–अवतारमा ‘राजनीतिक प्रदूषण’ निम्त्याए, नयाँ एजेन्डाहरूमार्फत । परिवर्तनका एजेन्डाबाट निक्कै पछि हटेपछि पार्टीमा राजनीतिक प्रतिकार सुरु भयो । त्यसपछि मिश्रले पार्टीमा कारबाहीको डन्डा चलाए । पार्टीका अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक सञ्चालन गरेका थिए । मिश्रमाथि पाण्डेको टिप्पणी थियो, ‘हामीमध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन । विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन ।’ मिश्रलाई नै कारबाही गर्न संयोजक मिलन पाण्डे–समूहले न्याय तथा सुशासन आयोग नै गठन गर्नुपरेको थियो । ‘रवीन्द्र मिश्रले बेमौसमी बाजा बजाए, त्यसको पीडामा उनी आफू त छँदै छन्, सयौं–हजारौं क्रियाशील युवालाई पनि धोका दिए,’ पाण्डे भन्छन् ।
मिश्र खुलस्त मानिस हुन् । खुला मैदानमा आफ्ना एजेन्डा बिस्कुन लगाएपछि विवेकशील साझा पार्टीमा विभाजनको बिउ रोपियो । २०७९ को आमनिर्वाचनअघि उनी राप्रपा प्रवेश गरिसकेका थिए ।
रवीन्द्र मिश्रसँग लामो समय सत्सङमा रहेका र ‘विवेकशीक साझा पार्टी’ मा सहयात्रा गरेका थिए– राजनीतिक विश्लेषक केशव दाहालले । उनी मिश्रलाई व्यक्तिगत रूपमा असल मित्र, सुसंस्कृत र अनुकरणीय सामाजिक व्यक्तित्व मान्छन् । तर, केशव भन्छन्, ‘राजनीतिक रूपमा मिश्रले रोजेको बाटो सही छैन, बरु दिशाहीन र प्रतिगामी छ । यहीँबाट सुरु हुन्छ मिश्रको जीवनको ठूलो विरोधाभासः सामाजिक जीवनमा उज्यालो, तर राजनीतिक उभ्याइमा अलमल ।’
वैकल्पिक राजनीति स्थापित गर्ने, इमानदार र सक्षम नेतृत्वको आधारमा नयाँ राजनीतिक संस्कार बसाल्ने उद्देश्यले केशवले मिश्रसँग केही समय सँगै काम गरे । त्यस अभियानमा रवीन्द्र मिश्र अध्यक्ष थिए, केशव थिए– ‘विवेकशील साझा पार्टी’ को संगठन विभाग प्रमुख । यसर्थ, केशवले मिश्रको राजनीतिक आकांक्षा, उत्साह, छटपटी र कमजोरीलाई अति नजिकबाट देखेका छन् ।
केशवको विचारमा मिश्रको सबैभन्दा बलियो पक्ष हो– यो देश बन्न सक्छ, बदलिन सक्छ, तर त्यसका लागि नेता सिर्जनशील, सुसंस्कृत र इमानदार हुनुपर्छ भन्ने उनको गहिरो विश्वास । ‘त्यो विश्वास केवल भाषणमा सीमित छैन । उनले आफ्नो जीवनशैलीमै त्यसलाई लागू गर्ने प्रयास गरेका छन् । उनी जे हुन्, त्यही भएर उभिन्छन्, आडम्बर गर्दैनन्, इमानदार छन् ।’
केशवले देखेका छन्— मिश्र असाध्यै खट्न जान्दछन्, सक्रिय रहन सक्छन् । केशवले भेटेका थोरै नेतामध्ये मिश्र पर्छन् रे, जो लाइनमा उभिएर कर तिर्न जान्छन्, अरूलाई सहयोग गर्दा राजनीतिक लाभको हिसाब गर्दैनन् अनि चुनावमा उठ्दा प्राप्त आर्थिक सहयोगबाट खर्च भएर बाँकी रहेको रकम पार्टीलाई फिर्ता गर्ने उदाहरण पनि मिश्र नै हुन् । ‘यस्तो संस्कार आजको राजनीतिमा दुर्लभ छ । इमान, सदाचार र सरलता मिश्रका ठोस गुण हुन्’, केशव भन्छन् ।
रवीन्द्र मिश्र समाज बुझ्छन्, कविता लेख्छन् । किताबबाट प्राप्त रोयल्टी पनि उनी कहिले चेपाङ बस्ती र कहिले बाढीपीडितलाई वितरण गर्छन् । कवि स्वभावतः संवेदनशील हुन्छ । सायद त्यसैले उनी राजनीतिलाई पनि अति भावनात्मक धरातलबाट बुझ्छन् । तर, राजनीति भावना मात्रै होइन– यो त धैर्य, स्थिरता र सामूहिक विवेकको खेल हो ।
‘उनका कमजोरीहरू यहीँबाट देखिन थाल्छन् । उनी आफूमाथि अत्यधिक विश्वास गर्छन्, अरूमाथि कम । इतिहासप्रति गहिरो मोह छ, तर इतिहासमाथिका आलोचनालाई सहजै स्वीकार्दैनन् । सानातिना घटनाले पनि उनलाई तरंगित बनाउँछ । राजनीतिक रूपमा कहिलेकाहीँ अस्थिर देखिन्छन् । कतिपय अवस्थामा सामूहिक निर्णयभन्दा व्यक्तिगत आग्रह प्रिय हुन्छ,’ केशव भन्छन् । केशवको स्पष्ट धारणा छ— साझा पार्टीलाई जुन वैचारिक धरातलमा उभ्याएर सुरु गरियो, त्यसबाट पछि हटेर राजावादी धारतिर मोड्ने प्रयास रवीन्द्र मिश्रको राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हो ।
सारा मानिस होलीमा मग्नमस्त हुँदा केशव सोचिबसेका थिए— आफू जे होइन, त्यो भएर देखिन खोज्दै ‘वैकल्पिक राजनीति’ को आवरणमा यात्रा सुरु गर्नु र पछि त्यसैलाई विपरीत दिशातिर लैजानु— यो केवल मिश्रको रणनीतिक कमजोरी होइन, गम्भीर राजनीतिक त्रुटि थियो । ‘उनले सुरुदेखि नै राजावादी एजेन्डा लिएर पार्टी खोलेको भए वैचारिक स्पष्टता रहन्थ्यो । तर, वैकल्पिक राजनीतिका नाममा युवाहरूको विश्वास जगाएर पछि त्यसलाई भंग गर्नुले धेरै युवाको सपना चकनाचूर गर्यो । सम्भावनाले भरिएको एउटा बलियो पार्टी बन्ने ऐतिहासिक अवसर समाप्त भयो । यो क्षति सामान्य थिएन,’ केशव भन्छन्, ‘यद्यपि, उनले आफ्नो गल्ती स्वीकारेका छन् । त्यो स्वीकारोक्ति नै उनको सरलता र इमानदार स्वभावको प्रमाण हो । सबै नेताले गल्ती गर्छन्, तर सबैले स्वीकार्दैनन् ।’
उनको उपस्थितिले संसद्मा केवल एउटा विचारको प्रतिनिधित्व होइन, इमानदार र सुसंस्कृत राजनीतिक व्यक्तित्वको उपस्थिति पनि थपिनेछ । उनी एक आवश्यक, यद्यपि विवादास्पद उपस्थिति हुन् — केशव दाहाल, राजनीतिक विश्लेषक
रवीन्द्र मिश्रको राजनीतिक लाइनसँग सहमत छँदै छैनन् केशव । तर, उनको विश्वास छ— त्यही लाइनको प्रतिनिधित्व गरेर पनि मिश्र संसदमा जान योग्य व्यक्तिचाहिँ हुन् । ‘आखिर यो देशमा राजावादी र संवर्द्धनवादी सोच राख्ने नागरिकहरू पनि छन् । लोकतन्त्रको सार सबै आवाजलाई प्रतिनिधित्व दिनु हो । यदि त्यो धार संसद्सम्म पुग्नैपर्छ भने, त्यसका लागि उनी उपयुक्त पात्र हुन्,’ केशव भन्छन्, ‘उनको उपस्थितिले संसद्मा केवल एउटा विचारको प्रतिनिधित्व होइन, इमानदार र सुसंस्कृत राजनीतिक व्यक्तित्वको उपस्थिति पनि थपिनेछ । असहमति हुन सक्छ, तर इमानदार असहमति लोकतन्त्रको शक्ति हो । र, त्यस अर्थमा रवीन्द्र मिश्र एक आवश्यक, यद्यपि विवादास्पद उपस्थिति हुन् ।’
०००
विसं. २०२२ मा चाबहिल, बौद्धमा जन्मिएका रवीन्द्र मिश्र ख्यातिप्राप्त कलाकार र लेखक मनुजबाबु मिश्रका छोरा हुन् । चाबहिल स्कुलमा २ कक्षामा भर्ना भएका उनी शाखा अधिकृत काका मोहन मिश्रलाई पछ्याउँदै डोटी, दार्चुलासम्म पुगे र उतै बाल्यकालीन शिक्षा प्राप्त गरे । ‘सुकुलमा बसेर पढ्थेँ, डेस्क–बेन्च पनि थिएन,’ मिश्र भन्छन् । एसएलसी दिने समय दार्चुलामा ठूलो भूकम्प गयो, उनीहरू बसेको घर भत्कियो । केहीको ज्यान पनि गयो । त्यसपछि उनी काकासहित काठमाडौं फर्किए, चाबहिलको प्रारम्भिक शिक्षा सुरु गरेको पशुपति मित्र माध्यमिक विद्यालयबाट एसएलसी दिए ।
रत्नराज्य कलेजमा पत्रकारिता र अंग्रेजीमा आईएको पढाइ सुरु गरे । मिश्रको पत्रकारिता ‘नेपाल टेलिभिजन’ बाट थालनी भएको थियो । पाकिस्तानको लाहोरमा स्नातकोत्तर गर्दैगर्दा ‘द न्युज इन्टरनेसनल’ मा दुई वर्ष काम गरेका थिए । सन् १९९४ मा लन्डनस्थित ‘बीबीसी नेपाली सेवा’ मा कार्यक्रम उत्पादकका रूपमा प्रवेश गरेका मिश्र सन् २००६ मा ‘बीबीसी नेपाली सेवा’ का प्रमुख बने । बीबीसीमा उनले ‘द वर्ल्ड टुडे’, ‘न्युज आवर’ जस्ता कार्यक्रममा समेत काम गरेका थिए ।
‘बीबीसीमा १५ वर्ष काम गरेपछि सन् २००९ मा स्थायी रूपमा नेपाल फर्कने निर्णय मेरो जीवनको उत्कृष्ट निर्णय हो,’ भन्छन् मिश्र । उनले अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालय, पत्रकारितामा पञ्जाब विश्वविद्यालय (पाकिस्तान) र अन्तर्राष्ट्रिय राजनीतिमा ‘युनिभर्सिटी अफ लन्डन’ को ‘स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज’ (बेलायत) बाट स्नातकोत्तर गरेका छन् । लन्डनमै छँदा उनले ‘समान विचार भएका साथीहरू’ सँग मिलेर हेल्प नेपाल नेटवर्क स्थापना गरे, जसका १४ मुलुकमा शाखा छन् । यो संस्थाले १०० भन्दा बढी कक्षाकोठा, साना विद्यालय भवन तथा पुस्तकालय निर्माणमा सहयोग गरेको छ । बाढी–पहिरो, आगलागी जस्ता विपद्मा निरन्तर सहयोग पनि गरिरहेकै छ । २०७२ सालको भूकम्पपछि यसले अग्रणी भूमिका खेलेको थियो । राजनीतिमा सक्रिय भएपछि मिश्रले हेल्प नेपालबाट आफूलाई अलग पारेका छन् ।
मिश्रको सपना छ– एकै पुस्ताभित्र नेपालको रूपान्तरण गर्ने । उनी आफूलाई सुशासनका दृढ पक्षधर मान्छन्, जसले एक समय ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने भ्रष्टाचारविरोधी अभियान चलाएका थिए । उनी अडिग सुनिन्छन्– निःशुल्क तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा नागरिकका आधारभूत मानवअधिकार हुन् र यसमा कुनै सम्झौता हुँदैन ।
०००
राजनीति सुरु गर्नुअघि पूर्णकालीन जागिरका अलावा लेखन, परोपकार र उत्प्रेरणात्मक गतिविधिहरूमा पनि देश–विदेशमा व्यस्त रहन्थे मिश्र ।
बीबीसीमा कार्यरत छँदै मिश्र अखबारहरूमा स्तम्भ लेख्थे । जस्तो, राजतन्त्रको खरो वकालत गरेर ‘मनुज चौधरी’ को छद्म–नाममा उनले खुब लेखहरू लेखे । हेल्प नेपाल नेटवर्कलगायत परोपकारी संस्थामा पनि आबद्ध छद्मनामी मिश्रका लेखहरूको किताब–सँगालो ‘भूमध्ये–रेखा’, ‘विचारभन्दा माथि देश’, ‘खान पुगोस्, दिन पुगोस्’, ‘राजनीतिसँगै राजकाज’, कविता–किताब ‘रवीन्द्र मिश्रका कविता, ‘माथिको आदेश छ’ लगायत प्रकाशित छन् । ‘मनुज’ नाम उनले पिताबाट सापटी लिए । ‘नेपाल’ साप्ताहिकमा छापिने उनको स्तम्भमाथि सहरमा टिप्पणी हुन्थ्यो– त्यो रुक्मांगत कटवालले लेख्या हो वा राजा ज्ञानेन्द्रले ।
राजनीति सुरु गर्नुअघि पूर्णकालीन जागिरका अलावा लेखन, परोपकार र उत्प्रेरणात्मक गतिविधिहरूमा पनि देश–विदेशमा व्यस्त रहन्थे मिश्र । देश र जीवनमाथि विमर्श गर्दै आफ्नो एक स्तम्भमा मिश्रले लेखेका छन्, ‘म मेरो आफ्नो बुढेसकालको अनि मेरा छोराछोरी र यो देशका करोडौं युवायुवती, किशोर–किशोरी र बालबालिकाको जीवन सुन्दर बनाएरै छोड्ने दृढताका साथ राजनीतिमा लागेको हुँ । मेरो राजनीतिको उद्देश्य जीवन राजनीतिलाई सुम्पनु होइन, राजनीति जीवनका लागि सुम्पिनु हो । मेरो लेखन जीवनका तिनै रङ र संवेदनालाई समेट्दै हाम्रै जीवनकालमा यो देशको रूपान्तरणको लक्ष्यसँग जोडिएका हुनेछन् । मेरो उद्देश्यमा म कति सफल हुन्छु या विफल, त्यो मलाई थाहा छैन तर मेरो चट्टानी दृढता त्यसै चर्कने या फुट्नेवाला छैन ।’
त्यो ‘चट्टानी दृढता’ सँगै उनी छन्– राजतन्त्र ल्याउने अविराम यात्रामा । उनको दृढताको परीक्षामा कति खरो उत्रनेछन् ? हेर्नै बाँकी छ ।
०००
उनी बालबालिकाको गुणस्तरीय जीवन र वृद्धवृद्धाका लागि ७७ जिल्लामा ७७ वटा वृद्धाश्रम खोल्न चाहन्छन्, अपांगता भएकाहरूको सेवामा काम गर्न चाहन्छन् । मिश्र भन्छन्, ‘म तिनको सेवा गर्न नेपाल फर्किएर राजनीतिमा होमिएँ, जो मुखभरि झिँगा भन्काएर कुच्चिएको सिल्भरको थालमा दाल किन्ने पैसा पनि नभएर पानी र भात मुछेर खान्छन्, जो मध्यजाडोमा तराईको शीतलहरमा तातो लुगा नभएर कठ्याँग्रिएर मर्छन्...।’
मिश्रलाई लाग्छ– राष्ट्रिय रूपान्तरण गर्ने हो भने राजनीतिबाहेक अर्को विकल्प छैन । सोचिबस्छन्– देश गुड्ने पाङ्ग्राहरू गुड्नै नसक्ने गरेर बिग्रिँदै गएका छन् । त्यही पाङ्ग्रा गुडाउन राजनीतिमा आएको उनको दाबी छँदै छ । उनलाई राजसंस्था छिट्टै फर्काए, त्यो पाङ्ग्रा गुड्छ भन्नेमा विश्वास छ । ‘धेरै छिटो राजसंस्था फर्काउनुपर्छ । नत्र फर्किएन भने नेपाल र भावी पुस्ताका लागि त्योभन्दा ठूलो दुर्भाग्य केही हुँदैन,’ मिश्रको हठ छ ।
उनको पार्टी ‘राप्रपा’ को यो चुनावमा एजेन्डा छ— संवैधानिक राजसंस्था, संघीयता खारेजी, हिन्दु राष्ट्र । श्रीपेचप्रेमी मिश्र असाध्यै पुरानो विचारको पक्षपोषण त गर्छन् नै– ‘भ्रष्टाचारीलाई किरा परोस्’ पनि भन्छन् । अनि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत पिएसरह हो’ पनि भन्छन् । उनलाई नजिकैबाट चिन्नेहरू भन्छन्– यति भनेपछि कम्तीमा मिश्र सत्तामा पुगे भने भ्रष्टाचारचाहिँ गर्दैनन् ।
२०८१ चैत १५ मा काठमाडौं तीनकुनेमा भएको राजसंस्थावादी प्रदर्शनमा आन्दोलनलाई उत्तेजित बनाएको भन्दै मिश्र पक्राउ परे । उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखियो । ‘राज्यविरुद्धको कसुरसमेतको कसुर’ मा पक्राउ पुर्जी र हिरासतमा राख्ने थुनुवा पुर्जी थमाइयो । ५० दिनको हिरासत बसाइपछि उनी थुनामुक्त भए । त्यस अवधिमा उनले ३५ वटा कविता लेखे । त्यो कविता किताब प्रकाशित भएको छ– ‘माथिको आदेश छ’ ।
‘म आस्थाको बन्दी, तिमी भ्रमको बन्दी’ कवितामा रवीन्द्र मिश्र लेख्छन्–
म बन्दी हुँदा खुसी हुनेहरू हो
तिमीलाई के थाहा ?
म बन्दीगृहमा निर्बन्ध छु
तिमी निर्बन्ध आकाशमुनि बन्द छौ
असलमा रवीन्द्र मिश्र आफैं निर्बन्ध आकाशमुनि पुरातन राजावादी विचारको बाकसभित्र बन्द छन् । मिश्र पुरानो विचारलाई पक्षपोषण गर्ने एक समर्थक बनेका छन्, जो चिच्याउँछन्, कराउँछन्, घाँटी सुकाउँछन्, अनुष्ठान र प्रार्थना गर्छन्– राजसंस्थाका लागि, राजाको पुनःस्थापनाका लागि । न्वारानदेखिको बल निकालेर मिश्र चुनावी भाषण र घरदैलोमा चिच्याइरहेकै छन्— राजा...राजा...।
के उनैको कविताले भनेझैं उनी यो गणतन्त्रको रेलमा कतै छुटिसकेको-बिर्सिइसकेको-मिल्किइसकेको राजसंस्थाको आकाशमुनि बन्द त छैनन् ?
