२०४६ सालदेखि हालसम्म ३६ वर्ष निरन्तर नेतृत्वमा रहेका पुष्पकमल दाहाल नेपाली राजनीतिमा दायाँबायाँ गर्न सक्ने ‘खेलाडी’का रूपमा चिनिन्छन् । सेक्टर काण्डबाट उदाएका दाहालको राजनीतिक जीवनमा उकाली र ओराली मात्रै छैनन्, पेचिला घुम्तीहरू पनि उत्तिकै छन् ।
What you should know
काठमाडौँ — पर्यटकीय सहर पोखराबाट करिब १८ किलोमिटर टाढा ढिकुरपोखरीमा ७२ वर्षअघि एक बालक जन्मिए । ब्राह्मण परिवारमा जन्मिएका ती बालकलाई चिसोपानीले नुहाउन डर लाग्थ्यो । तर उनका मामाहरूको करले नुहाउनै पर्थ्यो । ती बालक थिए, छविलाल दाहाल अर्थात् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘मलाई मामाहरूले स्वस्ति पाठ गर्दा बिहानै नुहाउनु पर्छ भन्नु हुन्थ्यो । मचाहिँ चिसो पानीले नुहाउन डराउँथेँ,’ प्रचण्डले केही समयअघि कुराकानीमा सुनाएका थिए । चिसोपानीले नुहाउन डराउने त्यही बालकले ४० वर्ष पुगेपछि २०५२ सालमा ‘बन्दुकको नालबाट सत्ता कब्जा गर्ने’ अवैधानिक बाटो समात्यो । उनले १० वर्षसम्म रक्तरञ्जित संघर्ष चलाए ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै ‘जनविद्रोह’का सानातिना अभ्यास नभएका होइनन्, तर २०५२ फागुन १ मा सुरु भएको ‘जनयुद्ध’ भने १० वर्ष चल्यो । करिब १७ हजार व्यक्तिको ज्यान गयो । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा हतियारबन्द आन्दोलनको नेतृत्व भने दाहालले गरे ।
सशस्त्र युद्धको नेतृत्व गरेपछि अन्ततः कम्ब्याट छाडेर मुलुकको कार्यकारी प्रधानमन्त्री निवास बालुवाटारमा अवतरण हुँदै ब्यालेटको बाटोबाट सिंहदबारको नेतृत्वमा पुग्ने विद्रोही नेता हुन्, दाहाल ।
दाहालले सात वर्षसम्म घरमा बाह्रखरी पढ्दै सात वर्षसम्म बाख्रा चराए । उनी बाख्रा चराउन र जंगलमा खेल्न खुब रुचाउँथे । पछि उनैले आफूले नेतृत्व गरेको माओवादीका लडाकुहरूको तालिम जंगलमा गराएका थिए । अर्थात्, उनले सुरुमा विद्रोहका लागि जंगल रोजे । सायद सानैदेखिको जंगलप्रति मोह थियो । तर, कस्तो भइदियो भने शान्ति प्रक्रियामा आएपछि जंगलको मोह त्याग्दै प्रतिस्पर्धात्मक राजनीतिबाट सिंहदबारको यात्रा तय गरे ।
सशस्त्र युद्धका कमान्डर प्रचण्ड शान्ति प्रक्रियामा आएपछि बिस्तारै पुष्पकमलमा रूपान्तरित हुँदै गए । त्यसपछि उनले वैधानिक र विद्रोही नाम ‘फ्युजन’ गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ राखे । यो नामले विद्रोह र शान्तिको प्रतिनिधित्व गर्न खोजेको छ । ‘मलाई पुष्पकमल दाहालभन्दा प्रचण्ड नाम प्यारो लाग्छ,’ आफ्नै नामप्रतिको टिप्पणी उनको यस्तो छ ।
२०५२ फागुनमा सशस्त्र संघर्ष सुरु गरेदेखि उनले नेपालको राजनीतिमा उथलपुथल ल्याउँदै आएका छन् । राज्यविरुद्ध बन्दुक उठाएर सुरु गरेको उनको राजनीतिक यात्रा पछिल्लो समय सरकार बनाउँदै भत्काउँदै अघि बढेको छ ।
मार्क्सवादलाई कहिले दायाँ त कहिले बायाँ घुमाएर नेपाली राजनीतिक चर्चाको केन्द्रमा रहिरने रणनीतिमा दाहाल अहिले पनि छन् । ‘हारेर पनि जितेको भाष्य बनाउन सक्ने’ खुबी उनमा छ । रुँदारुँदै हाँस्ने र हाँस्दाहाँस्दै रुने कला उनमा प्रशस्त छ ।
०००
दाहालको जन्म २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा भएको थियो । मुक्तिराम र भवानीका जेठा छोरा उनले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए । किसान परिवारको दिनचर्यामा उनी हुर्केका थिए ।
‘म कास्कीको ढिकुरपोखरीमा निम्न वर्गीय किसान परिवारमा जन्मिएँ । सात वर्षसम्म बाख्रा चराउँथेँ । घर फर्किंदा दाउराको बिटो ल्याउँथेँ,’ उनले भने, ‘मामाहरूले मलाई घरमै अक्षर चिनाउनुभयो । खरिपाटीमा लेख्न सिकेँ ।’
कास्कीमा वर्षभरि गुजारा चलाउन सहज नभएपछि उनको परिवार २०१९ चितवनको शिवनगरमा बसाइँ सरेको थियो । ‘पैत्रिक सम्पत्तिका रूपमा कास्कीबाट ल्याएको १ हजार २ सय रूपैयाँ मात्र थियो । हाम्रो बुबा र ठूलोबुबा (हाल राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको बुबा)को घर नजिकै थियो । ठूलोबुबा हामीभन्दा अलि पैसा भएको हुनुहुन्थ्यो,’ दाहालले बसाइँ सर्नुको कारण खुलाए, ‘ठूलोबुवाले हाम्रो बुबालाई हजार हो कि १५ सय सापटी दिएपछि साढे दुई बिघा जग्गा किन्यौं । हामी शिवनगरको भीमसेननगर भन्ने टोलमा बस्यौं । अहिले पनि हाम्रो बसाइँ त्यहीँ हो। त्यसबेला दुःख नगरी खान पुग्ने अवस्था थिएन।’
सशस्त्र युद्धका बेला अमेरिकालाई साम्राज्यवादी किटान गरेका उनले बिएस्सी सकेपछि अमेरिकी सहयोग (यूएसएड) मा काम गरेका थिए ।चितवनमा बसाइँ सरेपछि दाहाल स्कुल गएनन् । ढिकुरपोखरीमा बाख्रा चराएका उनले चितवनमा दुई वर्ष भैंसी चराए । ‘चितवन सरेपछि मैले भैंसी चराउँदै, साँझ–बिहान बाआमालाई खेतीपातीमा सघाउँदै दुई वर्ष बिताएँ । बल्ल २०२१ मा स्कुलमा भर्ना हुन पाएँ,’ दाहालको भनाइ छ ।
२०२६ चितवनको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरबाट एसएलसी उत्तीर्ण, २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी र २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरेका छन् । कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखिएको थियो ।
नाममा के छ ? दाहालका लागि त्यस्तो होइन । विक्रम सम्वत् २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा छद्म नाम कल्याण, विश्वास, निर्माण राखेका उनले जब सशस्त्र युद्ध सुरु गर्ने तयारी गरे, त्यसपछि उनले प्रचण्ड नाम राखे । उनी प्रचण्ड नामबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा परिचित छन् । ‘पुष्पकमलभन्दा प्रचण्ड नामले चिनिनु मलाई गौरव लाग्छ,’ उनले भनेका छन् ।
विसं २०१९ मा ढिकुरपोखरीबाट चितवन भरतपुरको शिवनगरमा बसाइँसराइ गरेका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको थियो । राजनीतिमा सफल हुनुमा सीताको धैर्य, साहस र साथको ठूलो भूमिका छ ।
दाहालले श्रीमती सीतामा सैद्धान्तिक ज्ञान धेरै नभए पनि क्रान्ति गर्नुपर्छ भन्ने दृढता मनैदेखि भएको पंक्तिकारसँग बताएका छन् । ‘अर्को कुरा, मप्रति उनको भरोसा यति थियो कि शब्दमा व्यक्त गर्न सकिन्न । ‘मेरा श्रीमानले नेपालको परिवर्तनमा प्रमुख भूमिका खेल्छन्’ भन्ने लाग्थ्यो उनलाई ।’

दाहालले कैयौं संकटमा सीताले भनेको सम्झिए, ‘तपाईंमा समाधान निकाल्ने क्षमता छ । कहिल्यै हार नखानुहोस् । परिवार, समाज र जनता साथमा छन् ।’ सीताको दुई वर्षअघि निधन भए पनि भरोसा नटुटेको उनले बताए । ‘अहिले उनी छैनन् (सीताको असार २०८० मा निधन भएको थियो) तर उनको भरोसा कता–कता मनमा आइरहन्छ । दुःख–सुखमा साथ दिन उनी कहिल्यै पछि हटिनन् । सीतामा धीरता र निष्ठा बलियो थियो,’ उनले भने ।
सशस्त्र युद्धका बेला अमेरिकालाई साम्राज्यवादी किटान गरेका उनले बिएस्सी सकेपछि अमेरिकी सहयोग (यूएसएड) मा काम गरेका थिए । उनले करिब पाँच वर्ष चितवन, नवलपरासी, गोरखामा पढाएका थिए ।
नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९), डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरूघाट, गोरखामा २०३३ देखि ०३५ सम्म पढाएका थिए । २०३२ सालमा यूएसएडमा कृषि परियोजनामा काम गरेका थिए ।
‘बीएस्सी कृषि पूरा गरेपछि म पढाउन गोरखाको आरुघाट गएँ,’ उनले भने, ‘मैले आरुघाट स्कुलमा पढाउँदा जनसम्पर्क बढाउन थालेको थिएँ । दिउँसो स्कुलमा पढाउने, बेलुका प्रौढ शिक्षा पढाउने, किसानलाई कम्पोस्ट मल बनाउन सिकाउने काम गरेँ । त्यसबेला म स्कुलको सबैभन्दा राम्रो शिक्षकका रूपमा गनिइसकेको थिएँ । म विज्ञान, गणित र अंग्रेजी पढाउँथेँ ।’
स्कुलमा पढाउँदा पढाउँदै उनमा कम्युनिस्टका दस्ताबेजप्रति मोह बढ्न थालिसकेको थियो । ‘लु सुनका साहित्य, मार्क्स, लेनिन, माओका किताब, नेपालका दस्ताबेज पढ्थेँ । सबै पढेर पचाउनु पर्छ भन्ने लाग्थ्यो । २०३५ सालसम्म आइपुग्दा म कम्युनिस्ट क्रान्तिबारे धेरै जान्ने भइसकेको थिएँ,’ उनले भने ।
राजनीतिक यात्रा
विक्रम सम्वत् २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भूर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्य भएका थिए । उनलाई सदस्यताका लागि नेता अमिक शेरचनले सिफारिस गरेका थिए ।
‘मेरो नजिकका छिमेकी चन्द्रलाल र पुष्पलाल भूर्तेलचाहिँ चौथो महाधिवेशन (मोहनविक्रम, निर्मल लामा) नजिक रहेछन् । म कुन कम्युनिस्ट सही हो भनेर सोच्न थालेँ । म, पुष्पलाल भूर्तेल, रामबहादुर थापा (बादल), खेम भण्डारी र मित्रराज दवाडीले नारायणी नदीको तीरमा गएर बैठक गर्यौं । कुनचाहिँ कम्युनिस्ट ठीक भनेर ‘अध्ययन मण्डल’ बनायौं,’ प्रचण्डले भने, ‘त्यसपछि चितवनको दिव्यनगरका अमिक शेरचनसँग हाम्रो भेट भयो । मित्रराज दवाडीमार्फत उहाँसँग भेट भएको हो । त्यो भेटमा म शेरचनबाट प्रभावित भएँ । क्रान्ति गर्नुपर्छ भनेर लागेका । घरमा बन्दुक पनि राखेका । यसरी म २०३२ साल अन्त्यतिर चौथो महाधिवेशनको सदस्य भएको थिएँ ।’
नेता अमिक शेरचनले प्रचण्डमा क्रान्तिकारीपन देखेकाले आफूले सदस्यता प्रदान गरेको बताए । ‘२०२१ सालमा पार्टी फुट्यो । म पुष्पलालतिर थिएँ । पुष्पलालले २०२५ मा सम्मेलन राख्नुभयो । त्यतिबेला तुलसीलाल अमात्य अलग भएपछि जनवादी केन्द्रीयता रक्षा गरौं भनेर काम गरिरहेका थियौं । रसियन ख्रुश्चेभको लबीमा नेतृत्व लाग्यो,’ उनले भने, ‘हामीले नेपालीपत्र छापेर सबैलाई सतर्क गराउने अभियानमा लाग्यौं । नौलो जनवादी क्रान्तिकारी बनाउनु पर्छ भनेर लागिरहेका थियौं ।’
पुष्पलाल श्रेष्ठले सम्मेलन नगर्न आग्रह गरे पनि आफूहरू चौथो महाधिवेशन पक्षमा लागेको शेरचनले सम्झिए । ‘धेरै साथीहरू जेलमा हुनुहुन्छ । अहिले सम्मेलन नगरौं । एकीकृत सम्मेलन गर्दा राम्रो हुन्छ । पुष्पलालले पछि साथीहरूलाई सामेल गर्ने भन्ने भयो । हामी एकदेव आलेकहाँ गयौं । धेरै अनुरोध गर्यौं । मान्नु भएन । हामी सम्मेलन हलतिर नगई हिँड्यौं,’ उनले भने, ‘त्यही बेला प्रचण्डले कृषि क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो । २०२८ सालमा रणेन्द्र बरालीबाट निवेदन लिनु भएछ । २०३१ सालमा चौथो महाधिवेशन भयो । चौथो महाधिवेशनमा सामेल भयौं र प्रचण्डजी गोरखामा पढाउन जानु भएको थियो । चौथो महाधिवेशनको डकुमेन्ट दिएपछि हामीसँग आउनुभयो । प्रेम सुवेदीले प्रचण्डको निवेदन लिनुभयो । मकहाँ पेस गरेपछि २०३३ फागुन/चैततिर मैले सदस्यता दिएको हो । २०३५ सालमा चितवन जिल्ला सदस्य हुनुभयो ।’
२०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । ‘प्रचण्ड धेरै जुझारु भएकाले युवक संघको अध्यक्ष हुनुभयो,’ शेरचनले भने । २०४१ मा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्यमा उक्लिएका थिए ।
२०४३ वैशाख २९ मा राष्ट्रिय पञ्चायत निर्वाचनको अन्तिम तयारी चलिरहेका बेला काठमाडौंमा सेक्टर काण्ड नामको एउटा राजनीतिक घटना भयो । वैशाख १४ गते राति (१५ गते बिहान) काठमाडौंका केही प्रहरी बिटमाथि आक्रमण गरियो । नेपालको कम्युनिस्ट आन्दोलनमा सेक्टर काण्डले नेपाली कम्युनिस्ट पार्टीको इतिहासमा एक विद्रोही नेता जन्मायो, प्रचण्ड ।
मशालले २०४१ मंसिरमा भारतको अयोध्यामा भएको पाँचौं महाधिवेशनमा मोहन वैद्यलाई पार्टी नेतृत्वमा ल्याएको थियो । मशाल विभाजन भयो । सिंहले भने २०४२ चैतमा भारतको गोरखपुरमा ‘चौथो राष्ट्रिय सम्मेलन’ गरेर आफ्नै नेतृत्वमा ‘नेकपा मसाल’ नामक नयाँ पार्टी गठन गरे । त्यो पार्टी पातलो मसालका नाममा चर्चित भयो । त्यो पार्टी अहिले पनि अस्तित्वमा छ ।
२०४३ वैशाख २९ गते राष्ट्रिय पञ्चायतको निर्वाचनलाई वैद्य नेतृत्वको नेकपा मशालले केही प्रहरी चौकीमा आक्रमण गरी बहिष्कार गर्ने नीति लियो । सेक्टर काण्डको नामले चिनिने त्यो घटनाले मोहन वैद्यलाई नेतृत्वबाट विस्थापित गर्यो ।
२०४६ कात्तिकमा चितवनमा बसेको मशालको केन्द्रीय समिति बैठकले सेक्टर काण्ड गर्नु गलत भएको निष्कर्ष निकाल्यो । काण्डमा सहभागी नेताको पदलाई एक तह घटुवा गरियो । मोहन वैद्य, देव गुरुङलगायतको पद घटुवामा परेको थियो । वैद्यले पार्टी प्रमुखका रूपमा नैतिक जिम्मेवारी लिएर महासचिव पद छाड्ने निष्कर्षमा पुगेका थिए ।
दाहाल सेक्टर काण्डमा कतै नजोडिएपछि त्यो काण्ड उनका लागि अवसरका रूपमा आयो । वैद्यले उनैलाई पार्टी नेतृत्व (महामन्त्री) मा प्रस्ताव गरे । नयाँ जनवादी क्रान्ति गर्ने विचारसँग आफ्नो मत मिलेकाले दाहाललाइ महामन्त्रीको अवसर दिएको वैद्यले बताए ।
वैद्यले छाडेपछि २०४६ मा दाहाल मशालको महामन्त्री चयन भए । मशाल, सर्वहारा श्रमिक संगठन मिलेर २०४८ मा नेकपा एकता केन्द्र गठन भयो । उनी त्यसको पनि महामन्त्री भए । तर चुनावलाई उपयोग गर्ने भन्दै संयुक्त जनमोर्चा नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गरी निर्वाचनमा सहभागी भयो । २०४८ को निर्वाचनमा उसले प्रतिनिधिसभामा आठ सिट जितेर तेस्रो पार्टी बनेको थियो ।
मुलुकमा ‘जनयुद्ध’ सुरु गर्ने लक्ष्यका साथ २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राखियो । नेकपा माओवादीको महामन्त्री भएका उनले २०५२ फागुन १ देखि ‘जनयुद्ध’ सुरु गरेका थिए । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेकपा (माओवादी) को अध्यक्ष भए ।
माओवादीले सैन्य संगठन ‘जनमुक्ति सेना’ गठन गरेपछि २०५८ मा दाहाललाई जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर घोषणा गरिएको थियो । त्यसअघि तत्कालीन श्री ५ को सरकार र माओवादीबीच शान्ति वार्ता भए पनि सफल भएका थिएनन् ।
तत्कालीन सरकार र माओवादीबीच वार्ताको पहिलो सुरुवात २०५८ साउन ७ मा भएको थियो । सरकार र माओवादीले युद्धविराम गर्ने घोषणा गरेका थिए । सरकार र माओवादीबीच पहिलो चरण २०५८ भदौ १४, दोस्रो चरण २०५८ भदौ २८ र तेस्रो चरण २०५८ कात्तिक २८ मा वार्ता भएको थियो । तर तीनैपटकका वार्ता निष्कर्षमा पुग्न नसकी टुंगिएपछि २०५८ मंसिर ८ मा माओवादीले वार्ता भंग भएको घोषणा गर्दै दाङको घोराहीमा रहेको नेपाली सेनाको ब्यारेकमाथि आक्रमण गरेको थियो । त्यसपछि सरकारले मुलुकमा संकटकाल घोषणा गरी पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायत नेताको टाउकाको मूल्य तोकेको थियो । 
त्यस्तै २०६० माघ १६ पुनः युद्धविराम घोषणा गरी सरकार र माओवादीबीच अर्को वार्ता भएको थियो । २०६० वैशाख १४, २०६० वैशाख २६ र २०६० भदौ १ मा गरी तीन पटक वार्ता भए पनि विफल भएको थियो । २०६० भदौ ११ मा माओवादीले पुनः वार्ता तोडेर ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ भन्दै काठमाडौं वरिपरिका जिल्लामा तीव्र आक्रमण गरेको थियो ।
वार्ताको चरणमा दाहालले दरबारसँग पनि संवाद गरेका थिए । त्यो वार्तालाई उनले शान्तिपूर्ण बाटोबाट गणतन्त्र ल्याउन राजालाई छाड्न आग्रह गरेको दाबी गरेका छन् ।
२०६२ मंसिर ७ गते सात राजनीतिक दल र माओवादीबीच राजतन्त्र अन्त्य गर्नेबारे १२ बुँदे समझदारी भएको थियो । ‘निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय आदि समस्याहरूको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता छ,’ समझदारीमा भनिएको थियो । समझदारी लगत्तै सात दलले देशभर आन्दोलन चर्काएका थिए भने माओवादीले सरकारका सुरक्षा निकायमाथि आक्रमण तीव्र पारेको थियो ।
दाहाल ०६३ सालसम्म गरी २५ वर्ष भूमिगत रहेका थिए । २०६२/६३ को जनआन्दोलन सफल भएपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला मुलुकको अन्तरिम प्रधानमन्त्री भए । सरकार र माओवादीले युद्धविराम गरे । २०६३ असार २ मा बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवन त्यागी उनी सार्वजनिक भए ।
त्यसपछि सरकार र माओवादीबीच शृंखलाबद्ध वार्ता भए । जनआन्दोलन सफल भएपछि संसद् पुनर्स्थापना भयो । त्यो संसदले राजाका अधिकार कटौती गर्ने निर्णय गर्यो । २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि माओवादी अन्तरिम व्यवस्थापिकाको ३ सय ३० मध्ये ८३ सिटसहित संसदीय प्रणालीमा सहभागी भएको थियो ।
सरकार र माओवादीबीच चरणबद्ध वार्तापछि अध्यक्ष दाहाल पार्टीभित्र विवादबीच शान्ति सम्झौता गर्न सहमत भएका थिए । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र दाहालबीच विस्तृत शान्ति सम्झौता भएको थियो । त्यही सम्झौता नै नेपालको शान्ति प्रक्रियाको ‘माइलस्टोन’ हो । माओवादीका लडाकुहरू २८ शिविरमा बस्न सहमत भए ।
दशवर्षे सशस्त्र युद्धको नेतृत्व गरी हजारौं व्यक्तिको मृत्यु र त्योभन्दा बढी घाइते भए पनि दाहाल आफूले कसैलाई एक थप्पड नहानेको बताउँछन् ।
२०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । त्यसमा प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि भएको निर्वाचनमा माओवादीले १ सय २० सिट जितेको थियो । समानुपातिकतर्फ ३ सय ३५ सिटमध्ये एक सय सिट प्राप्त गरेको थियो । मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ मध्ये ९ जना उसका तर्फका थिए । समानुपातिकतर्फ उसले २९ प्रतिशत मत प्राप्त गरेको थियो । संविधानसभामा ६ सय १ सिट थियो ।
पहिलो संविधानसभाले २०६५ जेठमा गणतन्त्रको घोषणा गर्यो । दश वर्ष सशस्त्र युद्धका सर्वोच्च कमाण्डर दाहाल २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । उनी २०६६ असार ३१ सम्म पहिलो पटक प्रधानमन्त्री रहे । तत्कालीन सेनापति रुक्मांगत कटुवाललाई कारबाही गरेपछि उनले राजीनामा दिए ।
सरकारबाट राजीनामा दिएपछि माओवादीले ‘जनविद्रोह’ गर्ने भन्दै राजधानी घेराउ गरेको थियो । तर त्यो सम्भव नभएपछि संविधान निर्माणमा केन्द्रित भएको थियो । दाहाल दोस्रो पटक ०७३ साउन १९ मा र तेस्रो पटक २०७९ पुस १० देखि २०८१ असार ३१ सम्म प्रधानमन्त्री भएका थिए । उनले सरकार बनाउन कांग्रेस, एमालेसँग चुनावी र अन्य गठबन्धन गरिसकेका छन् ।
२०४६ सालदेखि हालसम्म ३६ वर्ष उनी निरन्तर नेतृत्वमा छन् । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष, २०७० विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि उनी र केपी शर्मा ओली अध्यक्ष भए । दुई अध्यक्षबीच शक्ति संघर्ष चुलिइरहेकै बेला २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा पुगे । प्रचण्ड फेरि नेकपा (माओवादी केन्द्र) को अध्यक्ष भए ।
२०७८ पुसमा महाधिवेशनबाट उनी पुनः अध्यक्षमा चयन भए । नेतृत्व हस्तान्तरणको माग भए पनि सुनुवाइ भएन । २०४६ सालदेखि हालसम्म ३६ वर्ष उनी निरन्तर नेतृत्वमा छन् ।
२०८२ मंसिरमा नेकपा एकीकृत समाजवादीसँग एकतापछि निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले दुई दर्जन दल र समूहसँग एकता गरिसकेका छन् । केन्द्रीय समिति २ हजार ५ सय र दुई दर्जन दल र समूहसँग एकता गरी रेकर्ड बनाएको ठान्छन् ।
संसदीय यात्रामा आएपछि पनि केन्द्रमा
२०६४ को संविधानसभा निर्वाचनमा माओवादीले दाहाललाई कार्यकारी राष्ट्रपतिको रूपमा अघि सारेको थियो । उनको ‘नयाँ नेपाल’ निर्माणको सपना निकै चर्चित पनि भएको थियो । यही आकर्षक नारा मतदातालाई मन पर्यो । माओवादी सबभन्दा ठूलो पार्टी बन्यो । तर बिस्तारै दाहाल संसदीय राजनीतिमा रूपान्तरित हुँदै गए ।
नेपाल बदल्न आएका उनी आफैं संसदीय राजनीतिमा बदलिए । संसद्, सरकार र सडकमा अरुजस्तै देखिए ।
पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भए । पूर्वमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको आग्रहमा गोरखा २ मा गएर विजयी भएका थिए । तर विजय भएपछि दुई नेताबीच तिक्तता बढेको थियो ।
जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुन २०८२ को निर्वाचनका लागि उनी पूर्वी रुकुमबाट उम्मेदवार भएका छन् ।
२०७२ मा नेपालको संविधान निर्माण भएपछि उनी संसदीय राजनीतिमा मजाले भिजे । त्यसपछि उनी आफू दुई पटक प्रधानमन्त्री भए पटक–पटक पार्टीलाई सरकारमा सहभागी गराए ।
‘ठूलो त्याग, बलिदान र कीर्तिमानी पार्टीको प्रमुख नेताका रूपमा भावी पुस्ताले सम्झियोस्’
नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले आफूले संघर्षका क्रममा गरेको त्याग, बलिदान गरेकाले भावी पुस्ताले संविधान निर्माण गरी संघीयता, गणतन्त्र स्थापना गर्ने नेताका रूपमा सम्झियून् भन्ने चाहेको बताए ।
‘जनयुद्ध, संविधानसभा निर्वाचन र संविधान निर्माणपछि उत्पीडित वर्ग र समुदाय धेरै हदसम्म अधिकारसम्पन्न भएका छन् । उनीहरूको आत्मसम्मान प्राप्त भएको छ । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । मुलुकमा गणतन्त्र स्थापना भएको छ,’ दाहालले कान्तिपुरसँग भने, ‘यसका लागि ठूलो त्याग, बलिदान र कीर्तिमानी काम गर्ने पार्टी र त्यसको प्रमुख नेताका रूपमा भावी पुस्ताले मलाई सम्झियोस् भन्ने चाहन्छु ।’
दाहालले पहिलो पटक देखेको दस्ताबेज हो सचित्र चीन । ‘१० कक्षामा पढ्दै गर्दा मैले चीनमा कम्युनिस्टको शासन छ रे भन्ने थाहा पाएँ । गाउँका शिक्षक चन्द्रराज भूर्तेल कम्युनिस्ट हुनुहुँदो रहेछ । उहाँ ‘चीनमा कम्युनिस्ट व्यवस्था राम्रो छ, हामी पनि हुनुपर्छ’ भन्नु हुन्थ्यो । त्यसको अलिअलि प्रभाव ममा पर्यो,’ उनले भने, ‘त्यसबेला ‘सचित्र चीन’ भन्ने पत्रिका स्कुल–स्कुलमा जान्थ्यो । माओको रातो किताब पनि गाउँ–गाउँ पुग्थ्यो । सचित्र चीन पत्रिकामै मैले पहिलो पटक माओको ठूलो फोटो देखें । माओ कस्तो क्षमताका होलान् भन्ने जिज्ञासा लाग्थ्यो । पछि नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढाउँदै जाँदा माओकै नाममा पार्टी बनाएर १० वर्ष जनयुद्ध गरियो ।’
उनले माओकै प्रेरणाले नेपालमा यति ठूलो क्रान्ति र परिवर्तन गर्न सकिएको बताए । ‘त्यसकारण ममा माओको अमिट छाप परेको छ,’ उनले भने ।
कम्युनिस्ट बस्तीमा बसेकाले कम्युनिस्ट हुन सजिलो भएको दाहालको भनाइ छ । ‘शिवनगरमा नहरमाथि कांग्रेसको प्रभाव थियो भने हामी बसेको गाउँ नहरमुनि कम्युनिस्टको । म कहिलेकाहीँ सोच्छु– नहरमाथि घर भएको भए कांग्रेस हुन्थें कि कम्युनिस्ट ? कम्युनिस्ट बस्तीमा घर भएकाले मेरो झुकाव स्वतः कम्युनिस्टतिर भयो,’ उनले भनेका छन् ।
एकता केन्द्रको महासचिव भएपछि काठमाडौं, सशस्त्र युद्धका बेला भारतका विभिन्न सहरमा परिवार सरेकाले छोराछोरीले उच्च शिक्षा पढ्न नपाएको उनको भनाइ छ ।
‘२०५१ मा जनयुद्धको तयारी हुँदै थियो । चितवनको माडीमा भएको महाधिवेशनबाट म नेकपा एकता केन्द्रको महासचिव भएँ । त्यसपछि हामी छोराछोरीसहित नारायणघाट र त्यसपछि काठमाडौं सर्यौं । मलाई श्रीमती सीताको सधैं साथ भइरह्यो– पारिवारिक रूपमा मात्र होइन, राजनीतिक क्षेत्रमा अघि बढ्न पनि,’ उनले भने, ‘हामी काठमाडौं सरेपछि मेरी ठूली छोरी ज्ञानु, सानी छोरी गंगा पाटनको सरकारी स्कुलमा पढ्न थाले । एसएलसीसम्म त्यहाँ पढे । जनयुद्ध सुरु भएपछि उनीहरूको पढाइ अघि बढ्न सकेन ।’
सशस्त्र युद्ध सुरु भएकै अवस्थामा छोरी रेणु र गंगाको एकैदिन विवाह गरिदिएका थिए । ‘जनयुद्ध सुरु भएपछि मेरी माइली छोरी रेणु मामाकहाँ बसेर पढ्दै थिइन् । पछि गंगा र रेणुको विवाह लखनउको एउटा होटलमा एकै पटक भयो,’ उनले सम्झिए, ‘छोरा प्रकाशले सुरुमा काठमाडौंमा पढेको थियो । पछि रेणुका ससुरा टीबी पाठकको दिल्लीस्थित निवासमा बस्यो । प्रकाशले पढ्नभन्दा युद्धतिर रुचि राख्न थाल्यो र पछि जनयुद्धमा सहभागी पनि भयो । मंसिर २०७४ को चुनावको मुखमा प्रकाश पनि गयो ।’
दाहालले सानो अवस्थामा निकै आर्थिक संकट ब्यहारेका थिए । किसान परिवारमा जन्मिएका उनको घरमा वर्षभरि खाना पुग्ने अन्न फल्दैनथ्यो ।
‘मैले एसएलसी दिँदा बा घरमा हुनुहुन्थेन । अढाइ बिघा जग्गाको उत्पादनले हामीलाई खाना पुर्याउन मुस्किल पर्थ्यो । परिवार ठूलो थियो । कास्कीबाट चितवन आउँदा परिवारमा पाँच जना थियौं, चितवन आइसकेपछि तीन सन्तान जन्मिए,’ दाहालले भने, ‘वर्षभरि खाना राम्रोसँग पुग्दैनथ्यो । २०२६ सालतिर बर्दियामा जग्गा खुलेको छ भनेर त्यता जानुभएको थियो मैले एसएलसी दिने बेला ।’
उनले एसएलसी दिने बेलासम्म नेपालमा कति कम्युनिस्ट पार्टी छन् भन्ने थाहा थिएन । ‘कम्युनिस्ट भनेको पुष्पलाल श्रेष्ठ, कांग्रेस भनेको बीपी कोइराला भन्नेचाहिँ मोटो रूपमा थाहा थियो । कम्युनिस्टभित्र पनि धेरै पार्टी छन् भन्ने ज्ञान थिएन,’ उनले भने, ‘पार्टी सदस्य भएपछि बिस्तारै थाहा हुँदै गयो । रूपलाल पुष्पलाल समूहमा भएको हुनाले म त्यसकै सदस्य भएको रहेछु । म सदस्य भएको केही समयपछि पुष्पलाल समूहबाट रोहित (नारायणमान बिजुक्छे) र रूपलाल निस्किए । म पनि रूपलाल समूहको सदस्य भएको थिएँ ।’
गोरखामा साढे दुई वर्ष पढाइसकेपछि दाहालले ‘होलटाइमर’ हुने निर्णय गरेका थिए । ‘मलाई ‘होलटाइमर’ हुन खम्बसिंह कुँवरले प्रेरित गर्नुभयो । उहाँ परार साल बित्नुभयो । खवास थरका एक नेता पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘म बेहिसाब सक्रिय थिएँ राजनीतिमा । गोरखा आरुघाटबाट पालुङटार राति हिँडेर कमिटी बनाइन्थ्यो । भर्खर जागिर खाएर कमाउन थालेको छोरा होलटाइमर राजनीतिमा लाग्यो भने अप्ठ्यारो पर्छ कि भनेर बाआमालाई चिन्ता थियो । कृषि विकास बैंकको म्यानेजर हुनुपर्छ भनेर मलाई सल्लाह दिइन्थ्यो ।’
उनी स्थायी जागिर छाडेर २०३६ मा चितवन फर्किएर सक्रिय राजनीतिमा लागेका थिए ।
‘मैले चितवनको पार्वतीपुर स्कुलमा केही समय पढाएँ । त्यही बेला ‘होलटाइमर’ हुने निर्णय गरें । त्यसपछि पहिलो कार्यक्षेत्र चितवनको माडी र दोस्रो नवलपरासी (नवलपुर) भयो । त्यो २०३६ को आन्दोलनपछिको समय थियो,’ उनले भने, ‘२०३६ सालतिर हाल नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई त्यतिबेला माओ भनेको सम्झिएँ, ‘मोहनजीलाई नेपालको माओ भनिन्थ्यो । निर्मल लामालाई चाओ भनिन्थ्यो । माओ र चाओ दुवै चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । चुतेहचाहिँ सिन्धुलीका ऋषि देवकोटा ‘आजाद’ लाई भनिन्थ्यो ।’
दाहालको सशस्त्र युद्ध सुरु गरेका पहिलो तहका नेताहरू हाल उनीसँग छैनन् । ‘मैले नै वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटीलगायतको टिम बनाएपछि जनयुद्धमा प्रवेश गरेका थियौं,’ उनको भनाइ छ ।
हाल वैद्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी, रामबहादुर थापा एमाले उपाध्यक्ष र पोष्टबहादुर बोगटीको निधन भइसकेको छ ।
‘जिज्ञासु दाहाल तुरुन्तै अरुलाई विश्वास गर्छन्’
नेपाली राजनीतिका ‘खेलाडी’ दाहाल दायाँबायाँ गर्न सक्ने नेता हुन् । मनमा लामो समय कुरा लुकाउन नसक्ने नेतामा पनि उनको नाम आउँछ ।
२०६३ असारमा सार्वजनिक हुँदा उनको ‘आकर्षक’ व्यक्तित्वलाई धेरैले प्रशंसा गरेका थिए । खाना र लगाउनका सोखिन उनी राजनीतिको खोलालाई आफ्नो अनुकूल बगाउन माहिर छन् ।
दाहालका एक गुरु अमिक शेरचनले विद्यार्थी कालदेखि नै उनी असाध्यै जिज्ञासु स्वभावका भएको बताए । ‘प्रचण्डजी असाध्यै क्युरोसिटी भएको मान्छे हो । केही अन्तर्राष्ट्रिय घटना भयो भने सोधिहाल्ने बानी थियो,’ उनले भने, ‘नयाँ चिज ग्रहण गर्ने, आफूलाई विश्वास लागेको विषय अघि बढाउने बानी थियो ।’
२०३३ देखि हालसम्मका सहयात्री शेरचनले दाहालमाथि भावुकता पाउँछन् । ‘भावुक हुनुहुन्छ । अलिकति कमजोर पक्ष कसैले मिलाएर कुरा गर्यो भने विश्वास गरिहाल्ने र प्रभावमा परिहाल्ने छ । त्यसैले बेलाबेलामा धोका पाउनु हुन्छ । कतिपय दबाबलाई थेग्न नसक्ने कमजोरी पनि देख्छु,’ शेरचनले भने ।
दाहालले दश वर्षे युद्ध गरे पनि सम्झौता गर्न पछि नपर्ने नेता ठान्छन् शेरचन । ‘प्रचण्डमा रणनीतिक उपयोगको नीति छ । अलिकति उपलब्धि हुने भए किन नगर्ने भन्नुहुन्छ,’ उनले भने, ‘कसैसँग मिलेर उपलब्धि हुन्छ भने त्यो द्वन्द्ववाद हो भनेर उपयोग गर्नुहुन्छ । उहाँको नजरमा दलहरूसँग गठबन्धन गर्नु पनि क्रान्तिकारी उपयोगको नीति हो ।’
सशस्त्र युद्ध मोहन वैद्यको डिजाइनमा भए पनि गतिशील नेता भएकै कारण दाहाल नायक भएको उनको बुझाइ छ । ‘प्रचण्ड डाइनामिक सोच भएको व्यक्ति हो । जनयुद्ध हाँकेर परिस्थितिलाई आफ्नो हातमा लिनुभयो,’ उनले भने, ‘सशस्त्र युद्धमा जान मोहन वैद्यजीको डिजाइनमा भएको हो ।’
शान्ति प्रक्रियामा आएपछि दाहालको जीवनशैलीमाथि प्रश्न उठे पनि उहाँ सधैं श्रमिक वर्गको पक्षमा उभिने नेता भएको शेरचनको भनाइ छ । ‘युवा अवस्थामा कृषक र श्रमिक वर्गलाई माया गरेको देख्थेँ,’ उनले भने, ‘साथीभाइसँग मिल्ने स्वभाव छ । मतभेद भए पनि सहजै कुराकानी गर्न सक्नुहुन्छ । त्यसैले पार्टीमा फरक मत राखनेहरू वैद्य, मोहनविक्रमलाई कारबाही गर्नुभएन ।’
सहकर्मी बाबुराम भट्टराईले भने दाहाललाई सत्ता केन्द्रित, अवसरवादी राजनीतितर्फ गएको आरोप लगाउँदै आएका छन् । मोहन वैद्यले शान्ति प्रक्रियामा आत्मसमर्पण गरेको, सेना समायोजनमा धोका दिएको, संसदीय राजनीतिमा विलय गराएको आरोप लगाएका छन् । उनले दाहाललाई दक्षिणपन्थी अवसरवाद र संशोधनवादको प्रतिनिधिका रूपमा चित्रण गर्छन् ।
खानपिन र लगाउनका सोखिनः बेलाबेला विवादमा
२०६३ सालमा सार्वजनिक हुँदा दाहाल र बाबुराम भट्टराई खरानी रङको कमिज र पहिरनमा देखिएका थिए । विद्रोही नेता सामान्य पहिरनमा देखिएपछि उनीहरूको प्रशंसा पनि भएको थियो ।
सार्वजनिक जीवनमा आएपछि बिस्तारै उनको जीवनशैली फेरिन थाल्यो । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल भएपछि दाहाल प्रधानमन्त्री भए । धर्मकर्ममा विश्वास नगर्ने उनी पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरे । विगतकै परम्परा अनुसार उनका लागि खाट किनियो । तर त्यो खाट विवादमा पर्यो । किनकि काठमाडौंको चर्चित फर्निचर पसलबाट एक लाख रुपैयाँमा किनिएको चर्चा भयो । सर्वहाराका नेता महँगो खाटमा सुतेको भनेर आलोचना भयो । पछि दाहालले त्यसबारे स्पष्टीकरण दिंदै खाटको मूल्य आफूलाई थाहा नभएको बताएका थिए ।
उनले उपहारका रूपमा पाएको रोलेक्स घडी पनि विवादमा पर्यो । त्यस्तै लाजिम्पाट र खुमलटारमा व्यापारीको घरमा बसेपछि पनि उनको आलोचना भयो ।
निकटहरूका अनुसार दाहाल खानपान र आफूले लगाउने चिजका सोखिन छन् । सधैं चिटिक्क परेर हिँड्ने, पाएसम्म मिठो खाने उनको सशस्त्र युद्धदेखिकै बानी हो । हाल पनि त्यसलाई उनले निरन्तरता दिएका छन् ।
