मतदाताहरू खानेपानी, सडक र जनसमस्याका मुद्दामा नयाँ पार्टी र उम्मेदवारप्रति आशावादी छन्, तर अन्तिम निर्णय लिइहाल्न सकेका छैनन् ।
What you should know
धरान — आफ्नो क्षेत्रको संघीय प्रतिनिधि चुन्ने दिन जति नजिकिँदै छ, बराहक्षेत्र नगरपालिका–३, नडाहाका कुमार मंग्राती (५६) को मनमा त्यति नै बेचैनी बढ्दै छ । ‘म मात्र होइन, हामी सबै दोधारमा छौं,’ उनले कारण खुलाए, ‘देश बनाउने पार्टीलाई मत दिने कि नजिकको छोरालाई ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नै निर्वाचन क्षेत्रमा पर्ने धरानका पूर्वमेयरसमेत रहेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमध्ये एक छान्नेमा उनी स्पष्ट छन् । ‘तर, एक जनाले धरान बनाए, अर्कोले देशै बनाउँदै छन्, नजिकको छान्ने कि टाढाको अलमलमा परेका छौं,’ उनले कान्तिपुरसँग सुनाए, ‘३५ वर्षदेखि केही नगरेकाले अरु पुराना पार्टीबारे चाहिँ सोच्नै पर्दैन ।’
धरानबाट बराह क्षेत्र जोड्ने धुलाम्ये सडक पार गर्दै नडाहा चोकमा पुगेपछि भेटिएका उनले लामो समयदेखि नेकपा एमालेलाई मतदान गरिरहेको सन्दर्भसहित गाउँका दुःख एकैपटक बिसाए । ‘जानेदेखि नै एमालेलाई भोट हाल्दै आएको थिएँ, सडक उस्तै छ, स्कुलको अवस्था पनि त्यस्तै छ,’ मंग्रातीले थपे, ‘त्यसैले यसपटक नयाँलाई छान्ने हो ।’
उनले काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहका कारण आफूहरुले देश विकासको अपेक्षा गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ मात्र एक जना संसद्मा पुगेर देश विकास गर्न नसक्ने सुनाए । ‘उहाँले धरानमा राम्रो गर्नुभएको हो, तर देश बनाउन धेरै सांसद्हरु चाहिन्छ,’ उनले सुनाए, ‘फेरि उहाँले यहाँ राम्रो कामहरु पनि गर्नुभएको छ ।’
स्थानीय रामबहादुर गौली (६३) ले पनि कुमारले भनेजस्तै आफूहरु बिलखबन्दमा परेको सुनाए । ‘कसलाई भोट दिने भन्ने कुरामा हामी घन्टीजस्तै हल्लिरहेका छौं,’ उनी भन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी-१ मा हर्क साम्पाङसँग प्रतिस्पर्धा गर्न गोमा तामाङ (सरिन) लाई उम्मेदवार बनाएको छ ।
पहिले साम्पाङसँगै धरानवासीलाई पानी खुवाउने अभियानमा सक्रिय सरिनले २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले १७ हजार ५९ मत ल्याएकी थिइन् । एमाले–जसपाबीच भएको गठबन्धनपछि अशोककुमार राई सांसद् निर्वाचित हुँदा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।
बराहक्षेत्र–७, बाङ्गेका भरत कोइराला (५८) पुराना पार्टीले विगतमा ‘मासुभात र पैसा वितरण गर्ने’ गरेको स्मरण गर्छन् । ‘त्यसरी जनताले फाइदा लिएर भोट हालेपछि उनीहरुले भोलि काम नगर्ने हुन्,’ उनले भने, ‘यसपालि कोही पनि त्यस्तोमा नलागी नयाँलाई भोट दिनुपर्छ ।’
विगतमा गाउँमा भएको टाटीको घर फेरिएर पक्की भइसके । तर, अहिलेसम्म धरान जोड्ने बाटोचाहिँ ज्युँका त्युँ हुँदा ५४ वर्षीय शोभा देवान वाक्क छिन् । ‘पाठेघरको समस्या छ, हप्तामा २/३ पटक धरान धाउनुपर्छ, तर बाटोको हाल यस्तो छ कि धरान पुगुञ्जेलमा उल्टो समस्या बढ्छ,’ उनले थपिन्, ‘मैले याद गरेदेखि नै यो बाटो यस्तै छ, बर्खामा हिलाम्ये, हिउँदामा धुलाम्ये ।’
आफूजस्तै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने थुप्रै बिरामीसमेत सडकको समस्याका कारण आजित भएको उनी बताउँछिन् ।
अनौठोचाहिँ चारकोशे झाडीको बीच बाटोमा एक वर्षअघि एक किलोमिटर सडक कालोपत्रे गरिएको छ । ‘यत्तिका वर्षमा त्यति पिच गरेर के देखाउन खोजेको हो, बुझेका छैनौं,’ स्थानीय भन्छन् ।
बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीचाहिँ बजेट अभावका कारण त्यस्तो हुन पुगेको बताउँछन् । बराहक्षेत्रमा पर्ने माझी गाउँका २६ वर्षीय प्रविण बस्नेत भने चुनावको मुखमा मलेसियाबाट फर्किएर गाउँ आएका छन् । ‘होटलमा काम गरिरहेको थिएँ, देशमा चुनाव पनि भइरहेका बेला विदा लिएर आएँ,’ उनी भन्छन्, ‘झ्याम्म नयाँलाई भोट हाल्ने हो ।’
७० वर्षीय सीताराम माझी भने सडकको दुरावस्था, खानेपानीको अभावको समस्या संकेत गर्दै भन्छन्, ‘यो समस्या हटाउने मान्छे चाहियो ।’
गाउँमा ट्यांकी छ, पानी छैन । जंगलबाट आउने हात्तीबाट जोगिन दिनदिनै जाग्रम बस्नुपर्छ । ‘गाउँमा २/३ लाई हात्तीले मारिसक्यो, कहिलेकाहीँ सुत्न पनि पाइँदैन,’ उनी भन्छन्, ‘सबैले सुनसरी १ भनेपछि धरान मात्र बुझ्छन्, हाम्रो दुःख बुझ्दैनन् ।’
इनरुवाको नजिक पर्ने रामधुनी नगरपालिका–६ र ७ पनि सुनसरी १ मै पर्छ । वडा नं. ६ का ३६ वर्षीय राजकुमार बुढाथोकी धरानसँग आफ्नो वडाको केही नमिल्ने बताउँछन् । ‘यो वडालाई कसरी सुनसरी-१ तिर हालिदिए अनौठो लाग्छ,’ उनले कान्तिपुरसँग भने, ‘यद्यपि, यसपालि हामीले धरानकै उम्मेदवारहरुलाई भोट हाल्ने हो ।’ हर्क साम्पाङचाहिँ आफ्नै बोलीका कारण समस्यामा परिरहेको उनको विश्लेषण छ ।
‘घरी जातीय कुरा गरेको छ, कहिले के भनेको छ,’ उनले सुनाए, ‘अहिले माटोसँगै घन्टी र ताराको पनि माहोल राम्रो बन्दै गएको छ ।’
तारा नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न हो । यो पार्टीबाट साम्पाङ मेयर हुँदा वडा नं. १७ मा वडाध्यक्ष रहेका सूर्यबहादुर भट्टराई (मनोज) उम्मेदवार छन् ।
स्थानीय सरकार सञ्चालनका क्रममा तीन वर्षसँगै काम गरेका यी दुई नेताबीच कार्यपालिका बैठकदेखि सामाजिक सञ्जालसम्म स्थानीय एजेन्डामा आरोप–प्रत्यारोप चल्दै आएको थियो । त्यसले उनीहरुबीच राजनीतिक दुरी बढाएको देखिए पनि नगरसभाले बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा दुवैले एकजनालाई जितको शुभकामना दिँदै गरेको रोचक दृश्य देखिएको थियो ।
धरान उपमहानगरपालिकाको २० वडै वडाबाहेक सुनसरी-१ मा बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ समावेश छन् । धरानबाहेकको क्षेत्रमा मात्र ३९ हजार ४५४ मतदाता छन् । त्यसैले धरानबाहिरको मतसमेत यसपालिको निर्वाचनमा निर्णायक बन्न सक्छ ।
धरान बजारमा चाहिँ धेरैजसो मतदाता श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङतर्फ खुल्छन् । ‘उहाँ काम गर्ने नेता हो,’ धरान–१७ की लक्ष्मी राई प्रश्न गर्छिन्, ‘माटोको छोरा हुँदा हुँदै अरुलाई किन छान्ने ?’
यद्यपि, कतिपयचाहिँ साम्पाङलाई जातीय भोट मात्र आउने आरोप लगाउँछन् । धरान सुनुवार, राई, लिम्बु लगायत जनजातिको बाहुल्य भएको क्षेत्र हो । २०७८ मा भएको जनगणना अनुसार, धरान उपमहानगरपालिकाको कुल जनसंख्यामध्ये २१.१ प्रतिशत राई छन्, १३.३ प्रतिशत याक्थुङ/लिम्बु, १०.३ प्रतिशत क्षेत्री, ९.८ प्रतिशत नेवार, ७.३ प्रतिशत विश्वकर्मा, ७.२ प्रतिशत तामाङ, ५.४ प्रतिशत ब्राह्मण (पहाड) छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ स्वयम् चाहिँ आफूले गरेको कामका कारण सिंगो धरानवासीले विजयी गराउने बताउँछन् । ‘धरानमा मात्र होइन, बहुमत ल्याएर म देशकै प्रधानमन्त्री बन्ने हो,’ उनी भन्छन् ।
तर, कुनै समय उनीसँगै खानेपानी खुवाउने अभियानमा हिँडेकी रास्वपा उम्मेदवार सरिन चाहिँ धरानमा खानेपानीको समस्या समाधान भइनसकेको बताउँछिन् । ‘३०/४० वर्षदेखि खानेपानीको कुरा चुनावी एजेण्डा मात्र बनिरहेको छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘स्थानीय, प्रदेश र संघ सबै तहमा उठाइयो, तर दीर्घकालीन समाधान हुन सकेन ।’
मेयर छँदा साम्पाङले गरेको काम अल्पकालीन व्यवस्थापन मात्र भएको भन्दै उनले दिगो समाधानका लागि ठोस योजना, बजेट र व्यवस्थापन आवश्यक रहेको बताइन् । १२ फागुनमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले इटहरी आएर धरानवासीलाई कोशीको पानी ल्याएर खुवाउनेसमेत उद्घोष गरेका थिए ।
‘धरानवासीलाई पानी खुवाउन कोशी वा अरुण दुवै विकल्प छन्, तयार भएका डीपीआरका आधारमा लागत र दिगोपनको अध्ययन गरी निर्णय गर्नुपर्छ,’ सरिन भन्छिन्, ‘जहाँबाट कम लागतमा दीर्घकालीन समाधान सम्भव हुन्छ, त्यहीँबाट पानी ल्याउनुपर्छ ।’
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज पनि धरानमा खानेपानीको विषयलाई लिएर बहिर धेरै हल्ला भए पनि दीर्घकालीन समाधान प्राविधिक विषय भएको बताउँछन् । ‘अहिलेको आवश्यकता दैनिक करिब दुई करोड लिटर पानी हो । आंशिक योजनाले समस्या हल हुँदैन,’ उनी भन्छन्, ‘हामी केन्द्रीय बजेटमार्फत दीर्घकालीन समाधान ल्याउनेछौं ।’
आगामी निर्वाचनमा खानेपानी मुद्दा नै भोट माग्ने विषय नबनोस् भन्ने आफूहरुको लक्ष्य रहेको उनी बताउँछन् । ‘त्यसका लागि पार्टी, जाति वा क्षेत्रभन्दा माथि उठेर सुनसरी–१ का जनताले मलाई जिताउनु हुनेछ,’ उनले भने, ‘मतदाताहरू परिवर्तन चाहनुभएको छ, सुरुवातमा अन्य दलहरूको चर्चा बढी थियो, तर अहिले माहोल क्रमशः हाम्रो पक्षमा बन्दै गएको छ ।’
धरानमा श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीका अभियान तीव्र भएको देखिइरहँदा परम्परागत दलका कतिपय उम्मेदवारचाहिँ आझेलमा छन् । एमालेका उम्मेदवार टीकाराम माङ्लेन पार्टीको परम्परागत मत आधार जोगाउने चुनौतीमा छन्, कांग्रेसका सुजेन्द्र गोले तामाङ, जसपाका सञ्जय राई, उज्यालो नेपालका डम्बर लावती (जेन्टल) पनि प्रतिस्पर्धा गर्दैछन् ।
२०१० सालमा ब्रिटिस गोर्खा भर्ती केन्द्र स्थापना भएपछि विकसित भएको धरान विस्तार हुँदै अहिलेको सहरी स्वरूपमा पुगेको छ । त्यसैले यो क्षेत्रमा पूर्वलाहुरेको परिवारको मतले पनि अर्थ राख्ने गरेको छ ।
