चुनावी मैदानमा दाहाल : प्रतिस्पर्धाभन्दा कडा छन् विपक्षीका प्रश्न

अझै सिस्ने गाउँपालिकाको १ र २, पुथाउत्तरगंगा गाउँपालिकामा केही वडामा मोटरबाटो पुग्न सकेको छैन । पुगेका सडक पनि कालोपत्र नहुँदा वर्षा लागेपछि सवारीसाधन चल्दैनन् ।

फाल्गुन १६, २०८२

कुलचन्द्र न्यौपाने, महेश केसी, विवेक पोख्रेल

Dahal in the election fray: Opposition's questions are tougher than the competition

What you should know

रुकुम पूर्व — शान्ति प्रक्रियामा आएयता अठार वर्षमा पुष्पकमल दाहालले नेपाली राजनीतिमा असंख्य मोड पार गरेका छन् । 'जनयुद्ध'को कमान्डरबाट शान्ति सम्झौताका हस्ताक्षरकर्ता, पार्टी विघटन र पुर्ननिर्माणका अभियन्ता हुँदै तीनपटक प्रधानमन्त्री सम्मको यात्रा गरे। तेस्रो शक्ति हुँदाहुँदै पनि ‘म्याजिक नम्बर’को अंकगणित मिलाएर सत्ताको काँध फेरिरहने उनको रणनीति समर्थकका लागि राजनीतिक चातुर्य बन्यो ।

आलोचकका लागि अवसरवादको उदाहरण । फेरि एकपटक त्यस्तै ‘म्याजिक’ नम्वरको प्रतिक्षामा रहेका दाहाल आफैं भने रुकुम पूर्वमा आएर चुनाव लड्दैछन् । उनले कडा प्रतिस्पर्धाको सामना गर्न नपरेपनि विपक्षी उम्मेदवार र मतदाताले उठाएका तमाम प्रश्नको सामाना गर्नुपरेको छ । 

०६४ यताका पाँचवटै निर्वाचनमा उनी फरक–फरक भूगोलमा उभिए । काठमाडौं–१० मा दोहोरिएको बाहेक उनले स्थायी निर्वाचन क्षेत्र बनाएनन् । उनको राजनीतिक नक्सा निरन्तर फेरिँदै गयो । सकारात्मक रुपमा लिदा यसले ‘राष्ट्रिय नेता’को छवि बनाएको भनेर पनि भन्न सकिन्छ । तर, यतिबेला विपक्षी उम्मेदवारहरुले भने स्थायी जनआधार कमजोर भएकाका कारण नै निर्वाचन क्षेत्र फेरिरहेको भनेर आरोप लगाउने गरेका छन् । दाहालले रुकुम पूर्वमा अहिले त्यहिँ आरोप ‘फेस’ गरीरहेका छन् । 

Dahal in the election fray: Opposition's questions are tougher than the competitionदाहालसँगको प्रतिस्पर्धामा कांग्रेसकी कुसुमदेवी थापा, एमालेका लिलामणि गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का सन्दीप  पुनसहित ११ जना प्रतिस्पर्धामा छन् । रुकुम पूर्वमा 'जनयुद्धकाल'देखि नै कांग्रेस र एमालेको संगठन खुम्चिएको थियो । माओवादी शान्ति पक्रियामा आएपछि भने कांग्रेस र एमाले पार्टी संगठन विस्तार गर्दै छन् । तर, निर्वाचनमा अझै तत्कालीन माओवादी (हाल नेकपा) कै वर्चश्व रह्दै आएको छ । 

गत स्थानीय तहमा तीनवटै पालिका माओवादीले जितेको छ । ०७९ संघीय  चुनावमा एकातिर कांग्रेस, माओवादी र एकीकृत समाजवादी र अर्कोतर्फ एमाले नेतृतत्वमा राप्रपा, जसपाको गठबन्धन थियो । प्रत्यक्षतर्फ तत्कालीन माओवादीबाट उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले १२ हजार २ सय ६२ मत ल्याएर विजयी भएका थिए । दोस्रो हुने एमालेले ५ हजार २ सय ११ मत  थियो । अरु दलले हजार मत पनि कटाउन सकेका थिएनन् । प्रत्यक्षलाई छाडेर पार्टीले पाएको मत हेर्ने हो भने यस जिल्लामा माओवादीले ८ हजार २ सय ७१ मत पाउँदा कांग्रेस ५ हजार ६ सय ९२ मत पाएर दोस्रो भएको थियो । एमालेले ३ हजार ६ सय ५९ मत ल्याएको थियो भने रास्वपाले ४ सय ६६ मत मात्रै पाएको थियो । 

'जनयुद्ध'को स्मृति, शान्ति प्रक्रियाको राजनीतिक उपलब्धि र विकासको अधुरो सपना बोकेर दाहालले मत मागिरहेका छन् । ०६४ सालपछि पूर्वी रुकुमले विकासमा जसरी छलाङ मार्‍यो, दाहाल आएपछि दुर्गम पूर्व रुकुम पनि सुगम हुने केही आशामा स्थानीय नेता तथा कार्यकर्ता छन् । तर, विपक्षी उम्मेदवारहरुले भने दाहाल निर्वाचन क्षेत्र फेरिरहने कारण निर्वाचन जितेपनि जिल्लाका विकास अधुरै हुने बताउँदै आएका छन् ।

०७० सालतिर मध्यपहडी राजमार्ग जोडिएपछि नै सरदुमुकाम आउजाउँमा सहज भएको थियो । ‘ हाल रूकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोटमा बहुदल आउनुअघि नै सडक सञ्जालसंग जोडिसकेको थियो । त्यहाँबाट एक दिनभर हिँडेर रुकुमकोट आउनुपर्दथ्यो,’ प्रतिनिधिसभाका तत्कालीन सांसद घर्तीले भने,‘७० सालसम्म त रुकुमकोट सदरमुकाममै सडक जोडिएको थिएन ।’

दाहाल पहिलोपल्ट २०६५ साउन ३१ देखि २०६५ जेठ ११ सम्म ९ महिना पहिलो प्रधानमन्त्री भए । त्यसपछि उनी २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो र तेस्रोपटक उनी २०७९ पुस १० गतेदेखि २०८१ असार ३० सम्म प्रधानमन्त्री भए । पार्टी अधिकांश समय सरकारमै रह्यो । 

रुकुम पूर्वबाट त सधै माओवादीले चुनाव जित्दै आयो । ०७० को दोस्रो संविधानसभासम्म रुकुम एउटै जिल्ला थियो । त्यतिबेला पश्चिमबाट जनार्दन शर्मा र पूर्वबाट गणेशमान पुन निर्वाचित भएका थिए । ०७२ को संविधान जारी भएसंगै रुकुम दुई जिल्लामा विभाजित भयो । देशको कान्छो जिल्लाको रुपमा रहेको रुकुम पूर्वबाट गणेशमानकै श्रीमति कमला रोकालेले ०७४ मा चुनाव जितिन ।  छोटै समय भएपनि गणेशमान पुन दम्पति दुवै मन्त्री समेत भए । ०७९ मा कांग्रेस र एमालेको गठबन्धनमा घर्तीले चुनाव जिते । 

तर, अझै सिस्ने र पुथाउत्तरगंगाका केही वडामा मोटरबाटो पुग्न सकेका छैनन् । पुगेका सडकपनि पिच नहुँदा वर्षा लागेपछि सवारीसाधन चल्दैनन् । 

जिल्लामा तीन गाउँपालिका छन् । ती सबैमा तत्कालीन माओवादीकै नेतृत्व छ । ३१ वडामध्ये माओवादीले २१ वडामा जितेको थियो । एमालेले ७ र कांग्रेस ३ वडामा मात्रै जितेका थिए । सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका सडक नपुगेका अधिकांश ठाउँमा दाहाल चुनावी प्रचारमा जान सकेनन् । 

Dahal in the election fray: Opposition's questions are tougher than the competition

तीनपटक प्रधानमन्त्री भइसकेका दाहाललाई स्थानीय विकासका विषय मात्रै होइनन, सुशासन, आर्थिक मन्दी, युवा पलायन र भ्रष्टाचारजस्ता राष्ट्रिय मुद्दाकाप्रति पनि स्थानीय मतदाताका प्रश्न छन् । उनीहरुले युद्धकालीन भावना मात्रै पोखेर हुँदैन, परिणामुखी विकास पनि चाहिन्छ भनिरहेका छन् । निर्वाचन क्षेत्र नदोहोरिने पहिचान बनाएका दाहालले रुकुम पश्चिमको विकास गर्ने कुरा झुटो आश्वसन मात्रै भएको कांग्रेस उम्मेदवार थापा बताउँछिन्।

‘दाहालले रोल्पालाई मगरहरुको राजधानी बनाइदिन्छु भनेर २०६४ सालमै भनेका  थिए । अहिले रुकुम आएर सबै विकास गरिदिन्छु । सबै बाटो पिच गरिदिन्छु भनेका छन’ थापा भन्छिन्,‘तीनपटक प्रधानमन्त्री हुँदा नहेर्ने अहिले चुनावको मुखमा सबै गरिदिन्छु भनेर कसले पत्याउँछ ?’ 

आफूमाथि आइरहेका प्रश्नमा दाहालले ‘एउटा जाबो सांसद’ जित्न जहाँबाट पनि सकिने भन्दै प्रतिवाद गर्ने गरेका छन् । ‘एक थान सांसद म जहाँबाट नि जित्छु नेपालमा । म मात्र एउटा यस्तो नेता हुँ जो जहाँ गएर नि चुनाव जित्न सक्छु । अरु कसैको तागत देखिया छैन अहिलेसम्म,’ केही दिनअघि रुकुम पूर्वको चुनावी  सभामा विपक्षीहरुको आरोपको प्रतिवाद गर्दै दाहालले भनेका थिए । 

दाहाल चुनाव लड्न आएपछि जिल्लाले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन अवस्था भोग्नुपर्ने चिन्ता बढेको एमाले उम्मेदवार गौतम बताउँछन् । उनले पाँच वर्ष जिल्ला जनप्रतिनिधिविहीन हुने अवस्था आउने बताए । ‘यो जिल्लाको जनसंख्या नै महानगरमा एउटै वडाको संख्या जति छ । यो सानो ठाउँमा आएर प्रचण्डले आफ्नो राजनीति कद घटाउनु भएको छ,’ गौतमले भने, ‘जिल्लाकै व्यक्तिले चुनाव जित्दा प्रतिनिधि जनताका माझमा नै हुन्थ्यो । भूगोल चिन्थ्यो । यहाँको जनताको दुःख र पीडा बुझ्न सकिन्थ्यो । विकासको प्राथमिकता पहिचान गर्न सकिन्थ्यो । तर प्रचण्डले चुनाव जितेपछि जिल्लामा फर्कन्छन् भन्ने मलाई लाग्दैन ।’

तर, नेकपा रुकुम पूर्वका निर्वाचन परिचालन समिति संयोजक पूर्व सांसद गणेशमान पुनले दाहाल रुकुम पूर्वमा उम्मेदवार हुन आउनु समयको माग भएको बताउँछन् । उनका अनुसार दाहालले कोरेको नयाँ समाजवादको कार्यदिशा कार्यन्वयन गर्न कि त रुकुम पूर्व रोज्नुपर्दथ्यो, कि त कर्णालीका क्षेत्रलाई । यी दुई ठाउँबाहेक अन्त मेल खाने स्थिति थिएन । 

‘तत्कालीन माओवादीको जनयुद्धको केन्द्रीय आधार इलाका र थुप्रै सहिद परिवार रहेको ऐतिहासिक क्षेत्र रुकुम (पूर्व) रोज्नुले यस क्षेत्रको सम्मान समेत बढेको छ,’ उनले भने,‘सहिद परिवारबाटै प्रचण्डले टिकट लिएर उहाँले मनोनयन दर्ता गर्नुभयो ।’ मनोनयनको दिन दाहाल आफैँले हस्ताक्षर गरेको टिकट सहिद परिवारबाट ग्रहण गरेका थिए ।  

आफ्नो निर्वाचन क्षेत्रमा करिब सात दिनको चुनावी प्रचारप्रसार सकेर राजधानी फर्केका दाहालले केहीदिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा रुकुम पूर्वबाट ‘रिल्याक्स’ गरेर फर्किएकाे भनी दिएको अभिव्यक्तिसमेत चर्चित बन्यो । 

कांग्रेस उम्मेदवार थापाले दाहालको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । उनको भनाइमा दाहाल जिल्लाको विकासका लागि होइन कि घुम्न आएका पर्यटक हुन् । ‘प्रचण्डले न त यहाँको जनताको पीडा बुझेका छन, न त भूगोल बुझेका छन् । रिल्याक्स गर्न आएको भनेर जनतामाथि मजाक गरेका छन्,’ उनले भनिन्, ‘मैले जनताको पीडा बुझेको छु । भूगोल बुझेको छु । कला-संस्कृति बुझेको छु । विकासको प्राथमिकता थाहा छ । तर, प्रचण्डका लागि एकपटक चुनाव जित्नेबाहेक अर्को लक्ष्य देखिँदैन ।’

नेकपा नेता पुनले भने दाहालको उक्त अभिव्यक्तिलाई गलत अर्थमा बुझिएको बताए । ‘रिल्याक्स भन्नुको अर्थ थकाइ महसुस भएन । फ्रेस भयो । ७० वर्षको उमेरमा पनि थकाइ महसुस नगरी हिँड्नु भएको थियो, कतिपय ठाउँमा युवाहरु पनि उहाँसँग हिँड्न सकेनन्,’ उनले भने, ‘यसलाई बंग्याएर बुझियो ।’ 

२०६४ मा पहिलोपल्ट दाहाल रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने रोल्पा छाडेर सिरहा–५ र काठमाडौं–१० बाट चुनाव लडे । त्यतिबेला सिरहाबाट निर्वाचित हुँदा काठमाडौं–१० बाट पराजित भए । त्यसपछि २०७४ मा उनी चितवन–३ बाट निर्वाचित भए । ०७९ मा चितवन छाडेर गोरखा–२ बाट पुगेर निर्वाचित भएका दाहाल यसपटक रुकुम पूर्वमा पुगे । रुकुम पूर्वको जनसंख्या करिब ५७ हजार ९६० रहेको छ भने यहाँ ३४ हजार ७ सय ७२ मतदाता रहेका छन् । 

दाहाल जतिबेला आफ्नो नेतृत्व संकटको छाया देख्छन् त्यतिबेलै आफ्नो सान्दर्भिकता बचाउन पार्टी विघटन र पुनर्गठनको बाटोमासमेत पुग्छन् । यस्ता अनेकौं घुम्ती पार गरेका दाहालले पछिल्लोपटक जेन-जी विद्रोहपछि पनि त्यसै गरे । 

तत्कालीन माओवादी विघटन गरे । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी सहितका विभिन्न साना कम्युनिस्ट घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाए । त्यसको संयोजक भए । दाहालले माओवादी पार्टी विघटन गरेपछि नेतृत्वमा उनलाई चुनौती दिँदै आएका जनार्दन शर्माले अलग्गै पार्टी निर्माण गरे । अहिले शर्मा प्रलोपाबाट रुकुम पश्चिममा उम्मेदवार छन् भने दाहाल रुकुम पूर्वमा ।

माओवादीलाई विघटनमा लैजाने  दाहालले नभएर आफूले माओवादी 'जनयुद्ध'को विरासत बोक्ने भन्दै शर्माले सुरुमा रुकुमका दुवै जिल्लामा आफ्नो प्रभाव बढाउन खोजेका थिए । तर, आफैं ‘पूर्व माओवादी’ बाटै चुनौतीको सामना गर्नु परेपछि उनले आफू लडेको निर्वाचन क्षेत्र छोड्न सकेका छैनन् । दाहालको ठाउँमा प्रलोपाबाट सहिद परिवारकै सदस्य सन्दीप पुन उम्मेदवार छन् ।

Dahal in the election fray: Opposition's questions are tougher than the competitionतत्कालीन माओवादी 'जनयुद्ध'का बेला प्रहरी कारबाहीमा परेर बा-आमा गुमाएका थिए । उनका बुवा सूर्यप्रसाद पुन र आमा परम्परा गौतमबीच भूमिगतकालमै जनवादी विवाह भएको थियो । भूमिगत अवस्थामा प्रहरी कारबाहीमा परेर बुवा २०५९ जेठ १३ मा र आमा परम्परा गौतम जेठ २४ मा मारिएकी थिइन् । एक्ला छोरा सन्दीप त्यतिबेला जम्मा चार वर्षका थिए । आमा परम्पराले सन्दीपलाई भूमिगतकालमै जसोतसो हुर्काएकी थिइन् । उनलाई त्यसपछि मामाघरमा राखेर हुर्काइएको थियो । सन्दीपलाई भूमिगत अवस्थामा स्थानीयहरुले ‘गिमिचचिनो’ नाम राखिदिएका थिए । ‘गिमिचचिनो’ खामभाषामा बोलिने शब्द हो । यसको अर्थ ‘हाम्रो कोसेली’ हुन्छ । 

‘अहिले चुनावी प्रचारप्रसारको सिलसिलामा मैकोट पुग्दा केही स्थानीयले ‘गिमिचचिनो’ भनेर समेत बोलाउनु भयो र त्यो बेला खिचेको फोटोसमेत निकालेर देखाउनु भयो’,  प्रलोपाका स्थानीय नेता विजय केसीले गाउँघरमा भूमिगतकालमा खिचिएको सन्दिपको तस्बिर देखाउँदै भने, ‘बाल्यकालमा बा-आमाले काखमा लिएर यही भीरपाखा हिँडेकाले नचिन्ने कोही छैनन् ।’

सन्दीप जेन‍-जी क्रान्ति र माओवादीको आन्दोलनको मर्म विपरित पार्टी विघटन भएको बताउँछन् । भ्रष्टाचारको आरोप लागेकालाई ल्याएर नयाँ पार्टी बनाएपछि आफू त्यस पार्टीमा नरहने निर्णयमा पुगेको उनले सुनाए । ‘अब प्रचण्डको युग सकियो । हामीजस्ता युवा आउनुपर्छ । प्रचण्डले जितेपनि प्रधानमन्त्री हुँदैनन् । अब उनको भन्दा हाम्रो सभावना बढी छ,’ उनले भने, ‘जसको लागि भनेर माओवादी पार्टी बन्यो । त्यही समुदायका मानिस आन्दोलनमा आएपछि माओवादीले भुइँ मानिसहरुको समस्या बोल्न छाड्यो भन्ने बुझ्न सकिन्छ ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओलीले  सन्दीपलाई समर्थन गर्न चाहेका थिए । दाहालमाथि दबाब बढाउन ओलीको उद्देश्यलाई यहाँका उम्मेदवारले नै साथ नदिएपछि सम्भव भएन । ‘प्रलोपालाई एमालेले समर्थन गर्ने कुरा सुनेपछि मैले अध्यक्षज्यूलाई भेटेर युवा क्लस्टरबाट उम्मेदवार पार्टीले बनाइसकेपछि चुनाव लड्न दिनुपर्छ भने । जनताका माझ पार्टीलाई स्थापित गर्न पनि एमालेको सूर्यमा भोट हाल्न पाउनुपर्छ भन्ने माग मेरो भयो, त्यसपछि अध्यक्षले मान्नुभयो,’ एमाले उम्मेदवार गौतमले भने । 

दाहालले माघ २९ देखि चुनावी यात्राको थालेका थिए । मनोनयनको एक महिनाअघि मात्रै दाहालले रुकुम पूर्वबाट चुनाव लड्ने निधो गरेका थिए । नेकपा रुकुम पूर्वले दाहाल बाहेक अन्य ९ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो, तर पछि दाहाल स्वयंले रुकुम पूर्व आउने इच्छा गरेपछि परिस्थितिमा बदलाव आएको हो ।

माघ ६ गते मनोनयनका लागि रुकुमकोट पुगेका दाहालले सोही दिन आयोजित कार्यक्रममा आफ्नो यो अन्तिम निर्वाचन भएको भनेर पार्टीभित्रै पुस्तान्तरणका लागि भइरहेको दबाबलाईसमेत चिर्ने कोसिस गरे । त्यसपछि उनी साताव्यापी कार्यक्रम बनाएर माघ २९ मा आएका हुन् ।

दाहालले फागुन १ गते भूमे गाउँपालिकाको खाबाङ बगरमा आयोजित ३१ औं 'जनयुद्ध दिवस'लाई सम्बोधन गरे । त्यसैदिन बिहान उनले लाबाङ, धर्मशाला र महत गाउँमा मतदातासँग भेटघाट गरे । 'जनयुद्ध दिवस' मनाइसकेपछि त्यही दिन भूमे-८ कोर्जामा मतदातासँग भेटघाट गर्दै चुनबाङमा बास बसे । फागुन २ गते चुनबाङमा सभा गरे । त्यहिँ दिन पुथाउत्तरगंगाको तकसेरामा जनसभाको आयोजना गरियो । फागुन ३ गते पुथाउत्तरगंगाको बाछी गाउँ, वीरगुम, पद्मी, ओख्मा हुँदै डिमुरगैरा, तातोपानी र मैकोटमा पुगेर मतदाता भेटघाटमा व्यस्त रहे ।  

Dahal in the election fray: Opposition's questions are tougher than the competition

४ गते पुथाउत्तरगंगाकै दमचन, माथिल्लोशेरा, तल्लोशेरा, फल्मै, कोल, राङ्सी, नाखा र जामा बगरमा मतदातासँग भेटघाट गरे । यसपछि सिस्नेको नायगाढमा बास बसे । फागुन ५ गते बिहान त्यहाँ घरदैलो, दिउँसो चुनावी भेला सकेर सदरमुकाम रुकुमकोट फर्किए । 

६ गते पनि सिस्नेकै विभिन्न वडा र टोल पुगेर चुनावी कार्यक्रममा सहभागी भएका दाहाल ७ गते रुकुम पश्चिम हुँदै नेपालगञ्ज हुँदै काठमाडौं फर्किए । 

यसबीचमा दाहाल कतै पैदल त कतै गाडीमा यात्रा गरे । अधिकांश ठाउँमा उनको यात्रा गाडीमै भएको थियो ।

दाहाल चुनावी यात्रामा जाँदा ठाउँठाउँका तस्बिर तथा भिडियोहरु अहिले पनि सामाजिक सञ्जालमा ‘ट्रोल’ बनिरहेका छन् । कतै मकैका खाजा खाँदै त रोटी चपाउँदै अनि कतै मयुर नाच्दै त कतै पैंसेरु नाच्दै गरेका अनेकन भिडियो तथा तस्बिहरु सामाजिक सञ्जालमा सर्वत्र देख्न पाइन्छ । 

दाहाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छैनन्, तर उनको सम्पूर्ण चुनावी परिचालनको जिम्मेवारी नेता गणेशमान पुन र विघटित प्रतिनिधिसभाका सांसद पूर्ण घर्तीले सम्हालेका छन् । साताव्यापी चुनावी कार्यक्रम सकेर फर्केए । काठमाडौं जानुअघि उनले आफू चितवनमा भोट हाले लगतै जिल्ला आउने बताएका थिए ।त्यसयता उनी नियमित रुपमा स्थानीय नेताहरुसँग सम्पर्कमा छन् । उनले देशसँगै रुकुम पूर्वका राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेको नेकपाका नेताहरु बताउँछन् । 

यो भूगोलसँग दाहालको सम्बन्ध नयाँ भने होइन । यहीँबाट युद्धको जन्म र बिस्तार भएको एवं देशको शान्तिको मार्ग तय गरेको कुरा दाहाल स्वयंमले चुनावी प्रचारका क्रममा पटक पटक भन्दै आएका छन् । तत्कालीन माओवादीले सशस्त्र संघर्षको बाटो छोडेर उक्त आन्दोलनलाई शान्ति प्रक्रियाको कार्यदिशा दिन २०६२ भदौको बैठक ‘चुनबाङ बैठक’को नामले प्रख्यात छ। 

‘त्यसपछि नै तत्कालीन सात राजनीतिक दलसँंग १२ बुँदे सहमति भयो भने त्यसैको जगमा १९ दिनको जनआन्दोलनले देशमा गणतन्त्र ल्याएको हो,’ पूर्व सांसद घर्ती स्मरण गर्छन् । सदरमुकामबाट चुनबाङ जान गाडीमा अहिले करिब साढे दुई घण्टा लाग्छ । चुनाव प्रचार–प्रसारको सिलसिलामा दाहाल फागुनमा त्यहाँ पनि पुगे । ‘प्रचण्डले त्यतिबेला श्रीमती सीता र छोरा प्रकाश सुतेको कोठाहरु हेर्नुभयो, सुतेको खाट केहीछिन नियाल्नुभयो। पत्रकारले श्रीमती सीताका बारेमा प्रश्न सोधिदिए, प्रचण्ड भावुक भइहाल्नुभयो,’ घर्तीले भने ।

Dahal in the election fray: Opposition's questions are tougher than the competitionअहिले त्यही ऐतिहासिक बैठक बसेको हललाई गुरिल्ला ट्रेल र युद्ध स‌ंग्रहालय बनाइँदै छ । दाहाल त्यसैको सिलसिलामा आफू प्रधानमन्त्री भएका बेला ०७३ पुस ९ गते हेलीकाेप्टरबाट पुगेका थिए । त्यसपछि यसपटक चुनावी प्रचारको सिलसिलामा गएका हुन् । युद्ध संग्रहालय नामबाट नराम्रो परिचय दिने भन्दै अहिले नाम परिवर्तन गरेर शान्ति संग्राहलय राखिएको छ । सरकारले त्यसका लागि दुई करोड रुपैयाँ खर्चेर  पक्की संरचना बनाउँदैछ । 

भूमिको लाबाङ बैठक पनि चर्चित छ । जुन बैठकले बाबुराम भट्टराई, हिसिला यमी र देवेन्द्र पौडेललगायतलाई कारबाही गरेको थियो । उक्त कारबाहीको व्यवस्थापन चुनबाङ बैठकमा पुगेर गरिएको थियो ।  

दाहालले पूर्वी रुकुमसँगको  भावनात्मक सम्बन्ध पुनर्जीवित गर्ने प्रयास आफ्नो उम्मेदवारीले गरेको कुरा बारम्बार भन्ने गरेका छन् । सहिद परिवार, पूर्वलडाकु र पार्टी संरचनालाई एकताबद्ध राख्नु दाहालका भाषणका मुख्य ध्येय रहेको पूर्व सांसद पुन बताउँछन् । पुष्पकमल दाहाललाई 'प्रचण्ड' बनाएको ठाउँ पनि यही भएकाले रुकुमका जनताले उनलाई आफ्नै भाइछोरा मानेको नेकपाका नेताहरु बताउँछन् ।

रुकुम पूर्वमा दाहालका चुनावी प्रचारका ७ दिन:

माघ ६ – मनोनयन दर्ता

फागुन १ – ३१औं जनयुद्ध दिवस (भूमे गाउँपालिका)

बिहानः लाबाङ, धर्मशाला र महत गाउँमा भेटघाट र दिउँसो खाबाङ बगरमा ३१औं जनयुद्ध दिवस सम्बोधन र कोर्जामा मतदाता भेटघाट

रातिः चुनबाङमा बास

फागुन २

बिहानः चुनबाङमा सभा

दिउँसोः तकसेरामा सभा । 

फागुन ३ –बाछीगाउँ, वीरगुम, पद्मी, ओख्मा हुँदै डिमुरगैराको तातोपानी र मैकोटमा जनसभा । 

फागुन ४बिहान/दिउँसो पुथाउत्तरगंगा र सिस्ने । दमचन, माथिल्लो सेरा, तल्लो सेरा, फल्मै, कोल, राङ्सी, नाखा, जामा बगरमा मतदातासँग भेटघाट

साँझ : सिस्ने–नायगाढमा बास

फागुन ५बिहान: सिस्ने र सदरमुकाम र नायगाढमा घरदैलो ।

दिउँसोः जन सभा र जिल्ला सदरमुकाम रुकुमकोट फिर्ता। 

फागुन ६बिहान/दिउँसो सिस्ने गाउँपालिका अन्तर्गत सदरमुकाम रुकुमकोट र आसपासका विभिन्न वडामा पुगी मतदाता भेटघाट

राति : रुकुम पश्चिममा बास ।

फागुन ७ – रुकुम पश्चिमबाट नेपालगन्ज हुँदै काठमाडौं फिर्ता ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully