पहाडी धरातलमा उसै पनि विकासका पर्याप्त पूर्वाधार अपेक्षाकृत हुन मुस्किल छ। धनकुटा पनि पर्याप्त चुनौतीसँग उभिएको छ।
What you should know
धनकुटा — पूर्वी नेपालको कृषि, पर्यटन र शैक्षिक दृष्टिले अग्रणी धनकुटा मध्य पहाडमा अवस्थित जिल्ला हो। राणाकालीन, पञ्चायत र बहुदलकालीन समयमा पूर्वको मुकाम रहेको थियो। विगतमा पूर्वाञ्चल विकास क्षेत्रको केन्द्रसँगै चहलपहल बनेको धनकुटा पछिल्लो समय क्रमशः साँगुरिँदै गएको छ।
संघीय गणतान्त्रिक मुलुकका सात प्रदेश मध्येको कोशी प्रदेशको राजधानी विराटनगर कायम भएको छ। तर, धनकुटामा केही प्रदेशस्तरीय सरकारी कार्यालयले पुरानो साख सीमित भए पनि जोगाएको छ।
पहाडी धरातलमा उसै पनि विकासका पर्याप्त पूर्वाधार अपेक्षाकृत हुन मुस्किल छ। धनकुटा पनि पर्याप्त चुनौतीसँग उभिएको छ। पहाडी भूगोल, उकाली–ओराली बाटो, सानाठूला बजार र टारी–पाखा छन्। उसो त आधुनिकतासँगै नागबेली घुम्ती फराकिला राजमार्गले दक्षिणतिरको समथर मधेश र पश्चिम–उत्तरतिरको पहाडी हिमाली जिल्लालाई जोड्ने सेतुको रूपमा छ धनकुटा। अझै पनि विकासका सम्भावनालाई नियाल्दै धनकुटाले आशा जगाइरहेको छ। कृषिमा क्रान्तिमा बेमौसमी तरकारी उत्पादनको निर्यात र एभोकाडो, सुन्तला खेतीले यहाँका युवा कृषकको मन तानिरहेछ।
भेडेटार, नाम्जे, राजारानी, सिम्सुवा, नमस्ते झरना, मूलघाट, हिले, पाख्रीबास, सिधुवा, खोकुछिन्ताङ लगायत नाम कहलाएका पर्यटकीय गन्तव्य छन्। ऐतिहासिक धनकुटा बजार र मुलुकभरमै यहाँ मात्र बसोबास गर्ने अल्पसंख्यक आठपहरिया जातिसँगै अन्य जातजातिको मौलिक संस्कृतिले पनि धेरैको मन जितेको छ।
यति हुँदाहुँदै पनि धनकुटाका दर्जनौँ गाउँ बस्ती सुनसान हुने क्रम बढेको छ। जिल्ला कै जनसंख्या समेत ऋणात्मक बनेको छ। वि.सं. १९७२ सालमा नै बनेको तत्कालीन त्रिचन्द्र अस्पताल (हालको धनकुटा जिल्ला अस्पताल) को स्तरउन्नत माग अनुसारको छैन। वि.सं. १९५२ सालमा स्थापना भएको भाषा पाठशाला, १९८९ सालमा खुलेका गोकुण्डेश्वर मावि लगायतलाई नियाल्दा पनि शैक्षिक दृष्टिले धनकुटा अग्रणी थलो हो। तर आफैँलाई समयानुकूल स्तरउन्नत गर्न नसक्दा शैक्षिक हवको रूपमा रहेको धनकुटा क्याम्पसको अवस्था समेत ओह्रालो लाग्नुले निराशा पैदा गराएको छ। जसका कारण स्थानीयबासी शिक्षा, स्वास्थ्य र सुविधाको खोजीमा तराइका ठूला सहर र काठमाडौँतिर बसाइँ सर्ने क्रम बढेको छ।
बसाइँ सराइले ऋणात्मक जनसंख्या
गाउँघरमा विकासका प्रारम्भिक संरचना अभाव भएपछि दर्जनौँ बस्ती रित्तिएका छन्। बसाइँ रोक्ने कुनै राजनीतिक दलको ठोस नीति समेत बनेको छैन। जिल्लामा एक दशकको अवधिमा १२ हजार ८ जनसंख्या ऋणात्मक अर्थात् कमी आएको छ। निर्वाचनको बेला घोषणापत्रमा बसाइँसराइ रोक्ने मुद्दा प्राथमिकतामा परेको छैन। प्रतिनिधिसभा निर्वाचनमा यति बेला सबैजसो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले घोषणापत्र जारी गरिसकेका छन्। बसाइँसराइ रोक्न आकर्षक योजना समेत दलहरूसँग छैन। प्रभावित ठाउँका स्थानीय पालिकाहरूले समेत प्रभावकारी योजना अघि सारेका छैनन्।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ। जसमध्ये धनकुटा पनि एक हो। धनकुटामा शून्य दशमलव ७८ प्रतिशत ऋणात्मक जनसंख्या रहेको छ।
२०६८ को जनगणना अनुसार एक लाख ६३ हजार ४१२ रहेकोमा एक दशकको अवधिमा १ लाख ५० हजार ५९९ मा झरेको छ। यस अवधिमा १२ हजार ८१३ ले कमी आएको छ। तथ्यांक अनुसार महिलाको संख्या ७६ हजार ७७५ र पुरुषको संख्या ७३ हजार ८२४ रहेको छ।
जिल्लाका सात पालिकागत अवस्था हेर्दा सबैभन्दा बढी जनसंख्या धनकुटा नगरपालिकामा र सबैभन्दा कम छथर जोरपाटी गाउँपालिकामा रहेको छ। धनकुटा नगरमा जनसंख्या ३५ हजार ९८३ छ भने छथर जोरपाटी गाउँपालिकामा १६ हजार ४५६ रहेको छ। जिल्लाको जनघनत्व १६९ जना प्रति वर्ग किलोमिटर रहेको छ। सबैभन्दा बढी जनघनत्व धनकुटा नगरपालिकामा ३२४ र कम सहिदभूमि गाउँपालिकामा १६० रहेको छ। धनकुटामा जनगणनाको समयमा संस्थागत जनसंख्या १ हजार ८६९ रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
जिल्लाका चौबिसे गाउँपालिकाको कुरुलेतेनुपा, छथर जोरपाटी गाउँपालिकाको तांखुवा, तेलिया लगायतका गाउँ बसाइँसराइले रित्तो अवस्थामा पुगेका छन्। खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, सडक जस्ता आधारभूत पक्षको अभावका कारण कुरुलेतेनुपाका चार सय बढी र छथर जोरपाटी क्षेत्रका तीन सय बढी परिवार बसाइँ सरेर अन्यत्र गएका छन्।
यस्तो विकराल अवस्थामा राज्य पक्ष कमजोर देखिएको कुरुलेतेनुपाका गोपीकृष्ण भण्डारी बताउँछन्। आसपासका सिंगो बस्ती रित्तिँदै गए पनि गाउँमै बाख्रा पालन र कृषि कर्ममा रहेका भण्डारीले बाँकीलाई गाउँमै टिकाउनेसम्मको योजना नपाएको गुनासो पोखे। ‘सकेसम्म गाउँमै बस्ने योजना छ’, उनले भने, ‘छरछिमेक, वल्लो पल्लो गाउँमा कोही बसाइँ नजाओस् लाग्छ।’
आशा जगाउँदै बन्दुकेडाँडाको कृषि क्रान्ति
बसाइँसराइले उजाडिदै गएको कुरुलेतेनुपाको सबैभन्दा सिरानमा बन्दुकेडाँडा छ। बन्दुकेडाँडामा यति बेला केही गर्न सकिँदैन भनेर छाडेको स्थान अहिले हराभरा भएको छ। कृषि कर्म गर्न चाहनेको सिकाइको थलो बनेको छ।
बसाइँ सराइको चपेटामा रहेको चौबिसे गाउँपालिका–३, कुरुलेतेनुपास्थित बन्दुकेडाँडामा गाउँमै बसिरहनेका लागि आशा पलाएको छ। गाउँका धेरै स्थानीय कोही तराई त कोही ठूला सहरसम्म पुगे, तर उजाड भएको सो स्थानमा केही स्थानीय भने दुःखसुखले बसिरहेका थिए। बसाइँसराइ बढिरहँदा कुरुलेका स्थानीय लोकेन्द्रकुमार याख्खा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी, दीर्घमान तामाङले २०७३ सालमा तमोर पर्माकल्चर नामक संस्था दर्ता गरेका थिए। सोही संस्थामार्फत अहिले बन्दुकेडाँडामा नमुना कृषिले गाउँको मुहार फेर्ने स्थानीय बताउँछन्।
बन्दुकेडाँडामा लटरम्म स्याउ फल्छन्। स्याउ मात्र नभई आलुबखडा, ओखर, एभोकाडोलगायत ३५ प्रजातिभन्दा बढी फलफूल फल्छन्। ‘गर्दा के नहोला, अहिले आफूहरूलाई मोहित पारेको छ,’ स्थानीय टेकप्रसाद भण्डारी बताउँछन्। ‘पहिले सबै बसाइँ सर्दा मन दह्रो बनाएर बसियो, अहिले ठीकै गरिएको लाग्छ।’ पर्माकल्चरले कुरुलेको करिब १०३ रोपनी क्षेत्रफलमा विभिन्न जातका स्याउ, आलुबखडा, ओखरलगायत ३५ प्रजातिभन्दा बढी फलफूल लगाएको छ। साथै नर्सरी पनि गरिएको छ। खेती गर्न आकासे पानी जम्मा गरिएको छ। अहिले यहाँको खेती विधि तथा पानीको जोहो हेर्न पहिले बसाइँ सरेर जाने नै आउन थालेका छन्।
बन्दुकेडाँडा हराभरा हुनुको कारण अनौठो छ। २०७३ सालमा स्थानीय दीर्घमान तामाङ बसाइँ सरेर तराई जाने तयारीमा थिए। दीर्घमान पनि अब पानीका कारण कुरुलेमा केही गर्न नसकिने रहेछ भन्ने सोचेर बसाइँ सर्ने निचोडमा पुगे। तर, केही उत्साही साथीहरूले गाउँ छोड्ने नभएर यतै टिक्न सामूहिक पहल गर्ने सल्लाह गरे।
रित्तिदै गएको गाउँमै केही गर्न सकिन्छ भनी सुरुमा उनलाई विश्वास नै लागेन। तर, भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले पानी पर्याप्त जम्मा गर्न सकिने र आफूले स्थानीयलाई प्राविधिक सहयोग गर्ने बताएपछि याख्खासहित स्थानीयले तमोर पर्माकल्चर सुरु गरे। यही यात्राले अहिले बसाइँसराइ जान नपर्नेमा धेरै गाउँलाई सोच्न बाध्य बनाएको छ।
सबैले तालिम लिएपछि गोयलकै सल्लाह अनुसार तमोर पर्माकल्चर नामक कम्पनी दर्ता भएको भोजकुमार बताउँछन्। तमोर पर्माकल्चरका अध्यक्ष लोकेन्द्रकुमार याख्खाका अनुसार अहिले विशेष विधि अनुसार कुरुलेमा धेरै स्थानीयले स्याउ फलाएर बिक्री गर्न थालेका छन्। पहिले पानीको समस्याका कारण सागसब्जी समेत खरिद गरेर खाने स्थानीयले अहिले आफैँ उत्पादन गरेर बिक्रीसमेत गर्न सुरु गरेको व्यवस्थापक भोजकुमार काफ्लेले बताए।
३४ लाख लिटर आकासेपानीको जोहो
कुरुलेबाट बसाइँ सर्नुको मुख्य कारण पानीको समस्या थियो। २०४५ सालको भूकम्पपछि कुरुलेमा पानीको धेरै मुहान सुकेको र पानीको समस्या बढेसँगै बसाइँ सराइको क्रम सुरु भएको स्थानीय बताउँछन्। अन्य विकासका पूर्वाधार समेत अभाव र खानेपानी समस्याले बसाइँ सर्ने क्रम भुसको आगो झैँ फैलिएको थियो। पानीको जोहो कसरी गर्ने भन्ने मुख्य चुनौती थियो र पछि गोयलकै सल्लाह अनुसार आकासे पानी सङ्कलनका लागि ठूला पाँच पोखरी निर्माण गरिए। जहाँ बर्खामा करिब ३४ लाख लिटर पानी जम्मा हुन्छ। यसबाट सिँचाइका लागि आवश्यक पर्ने पानीको जोहो हुन्छ।
अहिले यही तरिका अपनाउँदै स्थानीयले समेत आकासेपानीको जोहो गर्न थालेका छन्। चार वटा ठूला पोखरी छन्। त्यहाँ पाँच लाख क्षमताका दुई, १० र १४ लाख क्षमताका एक–एक पोखरी निर्माण गरिएको पोखरीको संरक्षक समेत रहेका स्थानीय निरज याखा बताउँछन्। पर्माकल्चर सिकाइ थलो भित्र समेटिएका ती पोखरीले करिब चार सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिएको उनले बताए।
सिँचाइको चपेटामा खेती
धनकुटाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा अभाव छ। जसका कारण अपेक्षित उत्पादन हुन नसकेको गुनासो चुलिएको छ। नदी छेउछाउ भएकै उर्वर जग्गा समेत सिँचाइ अभावमा बाँझिनुपर्दा किसान निराश छन्। यो समस्या अरुण र तमोर नदी आसपास अधिक छ।
उर्वर भए पनि सिँचाइको अभावमा जमिन बाँझो छ। वर्षायाममा आकाशे पानीले जेनतेन बालीनाली लगाइए पनि हिउँदमा समस्या भोग्नु परेको कृषक गोपाल तामाङ बताउँछन्। नदीको पानी लिफ्टमार्फत सिँचाइ सुविधा उपलब्ध गराइदिनुपर्ने स्थानीयको माग छ। हरेक निर्वाचनताका उनीहरूको माग यही हुने गर्दछ। तर कार्यान्वयन हुन सकेको छैन।
नावाखोला देखि त्रिवेणीघाट साथै तमोर र अरुण नदीका किनारमा पर्ने दर्जनौँ खेतीयोग्य फाँट छन्। कुशेटार, याक्चनाटार, वेलहरावेशी, साप्तिङटार, गोपालपुर, सफाईटारलगायत ती क्षेत्रका करिब २५ सय हेक्टर उब्जाउ योग्य जमिन बाँझै छन्। धनकुटाका कुल ८९ हजार २०० हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७२३ हेक्टर मात्र क्षेत्रफलमा छ। जसमा ३९ हजार ९१० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरिएको छ।
माझी बस्तीको पीडा
चौबिसे गाउँपालिका–४, भैंसेटारस्थित माझी बस्तीको कथाव्यथा पनि टिथलाग्दो छ। खानेपानी र सिँचाइ अभाव छ। कयौँ रोपनी जमिन सिँचाइ अभावमा बाँझै छन्। स्थानीय हर्कबहादुर माझीले रहर लाग्दो टाहारबारी भएपनि अन्न उब्जाउ गर्न कठिनाइ भएको बताए। ५–७ रोपनी जग्गामा उनले मुस्किलले जुनेलो, मकै खेती गर्दै आएको सुनाए। वर्षौँदेखिको समस्या सुल्झन नसकेको उनी बताउँछन्। ‘नेतादेखि गाउँ आउने सबैलाई समस्या राख्दै आए पनि सुन्दैनन्,’ उनले प्रश्न गरे, ‘हाम्रो समस्या समाधान कहिले होला।’
भैंसेटार क्षेत्रमा कुल बसोबास गर्ने ३९ मध्ये २३ घर माझी जाति छन्। अन्य तामाङ लगायतका जाति छन्। शैक्षिक, आर्थिक तथा सामाजिक रूपमा पनि पछि परेका माझी समुदायको उत्थानमा उचित चासो जान नसकेको स्थानीय युवा बिन्दे माझीको भनाई छ। ‘हामी हरेक कुराले पछि हुनु परेको छ,’ उनले भने, ‘हाम्रालागि कसले के गरिदेला भन्ने आशा मर्दै गएको छ।’
जग्गामा बालीनाली लगाउन आकासे पानी कुर्नु पर्ने स्थानीय दिलबहादुर कुमाल माझीले बताए। वर्षे खेतीले उब्जाएको अन्नले ३ महिना पनि खान नपुग्ने उनको भनाई छ। माछा मार्ने जाल हान्ने वैकल्पिक पेसा बनाएका उनले जहान परिवार पाल्न धौ धौ पर्ने दुखेसो सुनाए। भैंसेटारबासीलाई संघीयताको संरचनाले छोएकै छैन। त्यहाँबाट वडा कार्यालय रहेको स्थान मानेडाँडा पुग्न झन्डै दुई घण्टा उकालो चढ्नु पर्छ। सानो कामले पनि वडा कार्यालय आतेजाते गर्दै दिन बित्ने स्थानीयले बताए। केही वर्ष पहिले नजिकैको गाउँ फलामेटारमा खुलेको स्वास्थ्य चौकीले केही राहत दिलाएको इन्दिरा माझीले भनिन्। गाउँमा ५ कक्षासम्म पढाई हुने विद्यालय छ। त्यसभन्दा माथिको पढाइका लागि गाउँबाट झन्डै ३ घण्टा टाढाको गढ गाउँमा रहेको विद्यालय धाउनु पर्ने बाध्यता रहेको उनले बताए। तर यही गाउँ भएर तमोर कोरिडोर सडक बने पनि सहर–बजार आतेजाते गर्न भने राहत मिलेको छ।
चुनावी मुख्य एजेन्डा: बाँदर आतंक रोक्नेदेखि गाँजा वैधानिकतासम्म
बाँदरको बिगबिगी यति बढेको छ कि कतिपय किसान दिक्दार भएर आफूले गर्दै आएका खेती मात्र छोडेका छैनन्, बसाइँ सराइ समेत गरेका छन्। सरकारी लगानीका नर्सरी तथा बगैँचामा बाँदर हेर्नकै लागि लाखौँ खर्चिएर हेरालु राखिएका छन्। बाँदर नियन्त्रणका लागि स्थानीय तहले यसअघि गरेका लगानी समेत खेर गएपछि यतिबेला धनकुटाका किसानमा बाँदर र वन्यजन्तुको कारण चरम निराशा छाएको छ।
धनकुटा–६, आत्मारा गाउँका धनप्रसाद राई बाँदर आतंकबाटै बसाइँ नै सर्ने मनस्थितिमा पुगेको बताउँछन्। उनलाई गाउँघरमा सडक, खानेपानीको मात्र चिन्ता छैन, सबैभन्दा ठुलो चिन्ता बाँदरले दिएको सास्तीबाट कसरी उन्मुक्ति पाउँने भन्ने रहेको छ। उनले यति सास्ती खेपेका छन् कि दुई वर्ष अघि वडाध्यक्षसामु बाँदर बिरुद्ध उजुरी नै दर्ता गरेका थिए। ‘बिहान उठेदेखि बेलुकीसम्म अरु काम छोडेर बाँदर लखेट्न बारीमा टिन ठटाएर बस्नु परेको छ,’ उनले भने, ‘बालीनाली पनि रहदैन, हातमुख जोड्ने बाटो नै बाँदरले खोसिदिएला भन्ने पिरोलोमा छौं।’
अधिकांश गाउँमा बाँदरबाट सर्वसाधारण आक्रान्त बनेको देब्रेबासकी निरु राई बताउँछिन्। स्थानीयले बाँदर लखेट्नै घरमा जनशक्ति तयारी अवस्थामा राख्दै आएको उनको भनाई छ। धनकुटा नगरपालिका–६, हर्कटारका रनपाल राईले आफ्ना १६ रोपनी जग्गामा बाँदरले उदण्ड मच्चाएपछि बालीनाली नै लगाउन नपाएको गुनासो पोखे।
बाँदर आतंकका कुरा सुनेपछि आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाका उम्मेदवारहरूले जारी गरेको घोषणापत्रमा स्थान पाएको छ। दल र उम्मेदवार फरक भए पनि केही एजेन्डा भने समान छन्। विशेषगरी गाँजा वैधानिकता र बाँदर आतंक रोक्ने विषयलाई प्रमुख एजेन्डाको रूपमा उम्मेदवारहरूले समेटेका छन्।
नेकपा (एमाले) का राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका दिनेश राई र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा यस्तो समानता छ। एमालेका उम्मेदवार राईले गाँजा खेतीलाई वैधानिक बनाउन पहल गर्ने र ओसारपसारका नाममा जेल परेका निर्दोष व्यक्तिको रिहाइका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। ग्रामीण क्षेत्रमा गाँजाखेती व्यापक भए पनि कानुनी झमेलाका कारण किसान मारमा परेको उनको तर्क छ। यसअघि दुई पटक प्रतिनिधिसभाका सांसद भइसकेका राईले संसद् र संसदीय समितिमा समेत विषय उठाउँदै आएको बताए।
कांग्रेसका उम्मेदवार राईले पनि गाँजालाई औषधीय तथा औद्योगिक प्रयोजनका लागि वैधानिक बनाउँदै त्यसबाट औषधिजन्य वस्तु, कपडा, तेल लगायतका उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। जंगली बाँदर वा जनावर नियन्त्रणमा पनि उनको चासो रहेको बताए।
उता, नेकपाका पौडेलले अवैध गाँजा खेतीका कारण किसानहरू पक्राउ पर्ने र मुद्दा लाग्ने समस्या रहेको बताए। त्यसको विकल्पमा कानुनी झन्झट नहुने, दिगो तथा बढी आम्दानी दिने कृषिजन्य बालीतर्फ किसानलाई उत्प्रेरित गर्ने, तालिम र बजारीकरणको व्यवस्था गर्ने योजना अघि सारेका छन्।
साक्षरता ८१ प्रतिशत, विद्यालय बाहिरको खोजी छैन
तथ्यांक अनुसार जिल्लाको साक्षरता दर ८१ दशमलव ३६ प्रतिशत रहेको छ। जसमध्ये पुरुषको साक्षरता दर ८८ दशमलव १८ र महिलाको साक्षरता दर ७४ दशमलव ६५ छ। तर अझै पनि विद्यालयभन्दा बाहिर रहने बालबालिका प्रशस्तै छन्। अधिकांश अभिभावक विहिन अवस्थाका बालबालिका विद्यालय जान सकेका छैनन्। उनीहरूको खोजीमा चासो जान सकेको छैन।
सबैभन्दा बढी साक्षरता दर धनकुटा नगरपालिकामा ८४ दशमलव ३६ प्रतिशत र कम साक्षरता दर सहिदभूमि गाउँपालिकामा ७८ दशमलव ४६ रहेको छ। धनकुटा नगरमा परिवार संख्या ३७ हजार ६ सय ४८ रहेको छ। जिल्लामा परिवारको औसत आकार ४ जना रहेको छ। लैङ्गिक अनुपात भने ९६ दशमलव १६ रहेको छ।
एभोकाडोले जगाएको आशा
धनकुटाको अर्थतन्त्र मिश्रित अवस्थामा छ। वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले धेरै घरधुरीलाई धानेको छ। गाउँमा उत्पादनभन्दा उपभोग बढी देखिन्छ। यहाँको उत्पादनले जिल्लालाई धान्ने अवस्थामा छैन। तर यहाँ तरकारी, एभोकाडो, कुखुरा पालन, गाई पालनमा आकर्षण बढ्दो छ। यी मध्ये सबैभन्दा आकर्षण खेती भने एभोकाडो बनेको छ।
धनकुटा–४, स्कुलडाँडाका कृषक राजकुमार तामाङले सुन्तला खेतीको विकल्प एभोकाडो बनाएका छन्। विगतमा वर्षमा पाँच लाखको सुन्तला बिक्री गर्दै आएका राजकुमारले सुन्तलाको बगैँचामा रोग निदान गर्ने कृषि प्राविधिक समेत नपाएपछि एभोकाडोतिर हात हालेको बताए। एभोकाडोबाट पनि उनले वार्षिक दश लाख आम्दानी हात पार्दै आएका छन्। ‘एभोकाडोबाट मनग्य कमाइ गर्न सकिन्छ,’ उनले भने, ‘तर आवश्यक कृषि प्राविधिकको अभाव छ।’
सुन्तला जुनारको परंपरागत खेतीलाई पूर्ण रूपमा विस्थापित गराएर एभोकाडोतिर हात हाल्ने जिल्ला कै अग्रज कृषक ज्योतिराम पोखरेल पनि हुन्। पोखरेलले एभोकाडो खेती र नर्सरीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी हुने बताए। यस्तै पछिल्लो समयमा युवा कृषक योजनाबद्ध रूपमा यसतर्फ लाग्दै आएका छन्। २०७५ सालमा एभोकाडो राजधानी घोषणा गरेर धनकुटा नगरपालिकाले यस खेतीतर्फ किसानको ध्यान खिचेको छ। २०७५ सालमा दुई हजार परिवार एभोकाडो खेतीमा लागेका थिए। अहिले यो अवस्था दोब्बर गुनाले बढेको छ।
एभोकाडो खेती विस्तार र कृषकलाई आकर्षण गर्न धनकुटा नगरपालिकाले अगुवाइ गर्दै आएको छ। धनकुटा नगरपालिकाले दुई पटक एभोकाडो महोत्सव र एक पटक प्रवर्द्धनात्मक वृहत् कार्यक्रम आयोजना गरिसकेको नगर प्रमुख चिन्तन तामाङ बताउँछन्। ‘कृषकको आकर्षण बढ्दै गएपछि हामीलाई यसले हौस्याएको छ,’ उनले भने, ‘अब बजारीकरण र कृषकलाई प्राविधिक सहयोगतर्फ हाम्रो चासो गएको छ।’ धनकुटा–६, परिचयमोडमा एभोकाडो स्तम्भ तथा पार्क निर्माण गरिएको छ। नर्सरी सुधार लगायतका कार्यक्रम समेत नगरले अघि सारेको जनाएको छ।
कतै मासिँदै, कतै झाँगिँदै सुन्तला
भूपाल राईको रचना र गायिका कुन्ती मोक्तानले गाएको ‘सुन कै भाउ छ सुन्तला भारीको’ बोलको धनकुटाको सुन्तला र कृषकको वर्णन गरिएको गीतको भाव अहिले फरक परिस्थिति बनेको छ। सुन्तला खेतीको लागि नाम कहलाएका सहिद भूमि गाउँपालिकाको खोकु गाउँमा पनि क्रमशः यसको खेती घट्दो छ। तर, चौबिसे गाउँपालिकास्थित मौनाबुधुकका कृषक यसतर्फ आकर्षित बनेका छन्।
स्थानीय मणि लिम्बुले सुन्तला खेतीबाट वार्षिक १५ लाखभन्दा बढी कमाइ हुने बताए। यस्तै, धनकुटा–३, माथिल्लो सिप्तेनका राजीन राई युवा कृषक हुन्। उनले वार्षिक सात लाख आम्दानी हात पार्ने सुनाए। यस्तै, धनकुटा–३, सिप्तिङका अग्रज सुन्तला कृषक जितेन्द्र राईले त आफ्नो बगैँचाबाट दश लाखको बिक्री गर्छन्। उनले खरिद–बिक्रीबाट थप १० लाख कमाइ हुने बताए।
जिल्लाको सात वटै पालिकामा सुन्तला खेती हुने गर्दछ। जसमा खोकु स्थानीय र धनकुटा स्थानीय जातका सुन्तला रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। सात पालिका मध्ये पनि सहिद भूमि गाउँपालिका, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तला खेती हुने ज्ञान केन्द्र प्रमुख नगेन्द्र रानाले बताए। गत आर्थिक वर्षमा २ हजार ८ सय १५ मेट्रिक टन उत्पादन भएको थियो। जिल्लामा हाल ८ सय ७७ हेक्टरमा सुन्तला खेती हुने गरेको छ।
कृषि अनुसन्धानमा लगानी बढी, उपलब्धि फितलो
राणा कालदेखि पूर्वी नेपालको प्रमुख प्रशासकीय केन्द्रको रूपमा महत्त्व दिइएको धनकुटामा कृषिका लागि सरकारी तवरबाट प्राथमिकतामा राखिएको छ। राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र (पारिपात्ले), पाख्रीबास कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजना (हिले), रिड आयोजना, प्राकृतिक स्रोत व्यवस्थापन कलेज (पाख्रीबास) लगायत छन्।
सरकारी प्राथमिकतामा परेर विगतदेखि धेरै लगानी खन्याइए पनि कृषिको व्यावसायिक विकास र कृषिजन्य उद्योग स्थापनाका हिसाबले धनकुटा पछाडि रहेको छ। सुन्तलाजातको अनुसन्धान गर्ने छ तर जिल्लामा सुन्तला खेती नै धराशायी बन्दै गएको छ। कृषि अनुसन्धान गर्ने निकायको पनि अवस्था उस्तै छ। छथर जोरपाटीका मेघेन्द्र गुरुङले त्यस क्षेत्रमा बन्दा तथा काउली खेतीमा रोगका कारण चिन्तित हुने अवस्था रहेको बताए। अझै पनि यसबारे अनुसन्धान र समस्याको समाधान सबल रूपमा हुन सकेको छैन।
आर्थिक फड्को मार्न सात उत्पादनको ब्रान्डिङ
उत्पादनलाई ब्रान्डिङ गर्न सकिए आर्थिक फड्को मार्न सकिने कृषि विज्ञ जीवन राई सुझाउँछन्। धनकुटामा एभोकाडो खेती विस्तार गर्ने मुख्य योजनाकारसमेत रहेका राईका अनुसार कृषि वस्तुको ब्रान्डिङबाट धेरै मुलुकले आर्थिक उन्नति गरेका छन्। नेपालमा केही समययता कृषि उत्पादनको ब्रान्डिङ सुरु भए पनि यसको आकार निकै सानो रहेको उनको तर्क छ। ब्रान्डिङले उपभोक्तालाई विश्वास र भरोसा दिने भएकाले बजारीकरण र व्यवसाय प्रवर्द्धनका लागि यसको ठूलो अर्थ हुन्छ।
धनकुटाकै उदाहरण दिँदै राई भन्छन्— धनकुटाको नरिवल बिस्कुट निकै लोकप्रिय छ। कोसेलीका रूपमा देश–विदेश पुग्ने यो बिस्कुट उद्योगको उत्पादन हो। बेलको जुसले पनि ब्रान्ड बनाएको छ। नारायणी र गुराँसे चिया उद्योगले त उत्पादन विदेशसमेत निर्यात गरिरहेका छन्। धनकुटाले कृषिबाट लाभ लिने हो भने निम्न कृषि वस्तुको ब्रान्डिङमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
१) एभोकाडो
विभिन्न फलफूलमध्ये पछिल्लो समय एभोकाडोको व्यावसायिक खेतीमा किसानको आकर्षण उच्च छ। यही आधारमा २०७५ सालमा धनकुटा नगरलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएको थियो। तर चर्चा भए जति व्यावसायिक प्रवर्द्धन हुन सकेको छैन। ग्रेडिङ, प्याकिङ र स्टिकर टाँसेर बजारमा पठाउने तथा एभोकाडोबाट विभिन्न परिकार उत्पादन गर्ने उद्योग स्थापना भएका छैनन्। यस्तो काम निजी लगानी वा कृषक आबद्ध सहकारीमार्फत गर्न सकिन्छ। निजी रूपमा ब्रान्डिङ गर्न ठूलो लगानी चाहिन्छ। एभोकाडो खरिद गरेर ग्रेडिङ गरी स्टिकर टाँसेर बजार पठाउन श्रमिक र प्रविधिमा उच्च खर्च लाग्छ। त्यसैले पब्लिक कम्पनीमार्फत पनि काम गर्न सकिने राईको सुझाव छ।
२) सुन्तला
धनकुटा सुन्तलाका लागि कहलिएको जिल्ला भए पनि सो अनुसार बजारीकरण हुन सकेको छैन। यहाँ विशेष गरी साँगुरीगढी, स्याउले र खोकु क्षेत्रमा उत्पादन बढी हुन्छ। लामो समयदेखि हचुवाकै भरमा बिक्री हुँदै आएको सुन्तलालाई ग्रेडिङ, प्याकिङ र ब्रान्डेड स्टिकरसहित बजारमा पठाउन सके राम्रो मूल्य पाउन सकिन्छ।
३) अदुवा
धनकुटाको प्रमुख उत्पादनमध्ये अदुवा पनि पर्छ। यसलाई प्रशोधन गरी स्लाइस बनाएर सुकाउने वा धूलो बनाएर बजारमा पठाउन सकिन्छ। यसबाट मूल्य अभिवृद्धि भई आम्दानी बढ्न सक्छ।
४) कालो बङ्गुर
‘धराने कालो बङ्गुर’ नामले जनजिब्रोमा ब्रान्ड स्थापित भएको देखिन्छ। तर पाख्रीबास कृषि अनुसन्धान केन्द्रको अनुसन्धानबाट कालो बङ्गुर उत्पादन भएको हो। ‘पाख्रीबासे कालो बङ्गुर’लाई आफ्नो ब्रान्ड बनाउन नसक्दा धनकुटाले लाभ गुमाइरहेको छ। जिल्लामै आधुनिक प्रशोधन केन्द्र स्थापना गरेर गुणस्तरीय मासु तथा विभिन्न परिकार उत्पादन र बिक्री गर्न सके आर्थिक फाइदा लिन सकिन्छ।
५) बन्दाकोपी
करिब ३४ वर्षअघि सिप्रेड नामक गैरसरकारी संस्थाले बेमौसमी तरकारी खेतीमा आधारित परियोजना सञ्चालन गरेपछि धनकुटामा बन्दाकोपीको व्यावसायिक उत्पादन सुरु भएको हो। उत्पादन निरन्तर भए पनि ब्रान्डिङमा कहिल्यै पहल नगरिँदा बजार अभावको समस्या बेला–बेला देखिने गरेको छ। निश्चित ब्रान्डसहित बजारमा लैजान सके मूल्य स्थिर राख्न सहयोग पुग्न सक्छ।
६) केरा
पाख्रीबास नगरपालिका–कसेनीमा उत्पादन हुने असामे जातको केरा प्रख्यात छ। यसलाई ब्रान्डका रूपमा स्थापित गर्न सके धनकुटाको आर्थिक विकासमा टेवा पुग्न सक्छ।
७) दुग्ध परिकार
छिमेकी जिल्ला इलामले दुग्ध परिकारमा उल्लेख्य काम गरेको छ। तर धनकुटा भने इलामका उत्पादन कोसेलीका रूपमा बेच्ने अवस्थामै छ। आफ्नै ब्रान्डमा दुग्ध परिकार उत्पादन र बजारीकरण गर्न सके ठूलो अवसर सिर्जना हुन सक्छ।
व्यवस्था बदलियो, अवस्था उस्तै
सहिदभूमि गाउँपालिका–३, पञ्चकन्याकी ६९ वर्षीया भजना दमाइका पति धनबीर दर्जी छिन्ताङ काण्डका सहिद हुन्। २०४६ पछि जुनसुकै व्यवस्था बदलिए पनि परिवर्तनका लागि आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारको अवस्था कष्टकर नै रहेको भजनाको गुनासो छ।
‘श्रीमान्ले व्यवस्था बदल्नका लागि ज्यान दिए, तर परिवारका सास्तीका दिन कहिल्यै गएनन्,’ उनले भनिन्, ‘कहिलेकाहीँ ओढाइने दोसल्लाले गर्जो टर्दो रहेनछ। राज्यको ध्यान हाम्रो लागि गएन, दुःखका दिन कहिल्यै सकेनन्।’
त्यस बेला खोकु, छिन्ताङ र आँखिसल्ला गाउँका १६ जनालाई तत्कालीन शासकले हत्या गरेका थिए। उक्त घटनामा सुत्केरी अवस्थामा रहेकी हाखिमा साईली भनिने श्रीमाया राई तथा ७ कक्षामा अध्ययनरत १४ वर्षीय केशरमान राईसमेत प्रहरी यातनाबाट मारिएका थिए।
अधिकांश सहिद परिवारका सदस्यको एउटै प्रश्न छ— हामीले परिवारका अगुवा गुमायौँ, जीवनभर अभावमा बितायौँ, आखिर के पायौँ? सहिद परिवार सरोकार समाजका अध्यक्ष बलराम राई भन्छन्, ‘सरकार बदलिँदै गए, तर हाम्रो अवस्था उस्तै रह्यो।’
२०७४ सालमा ‘राष्ट्रिय सहिद’ घोषणा भएपछि प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय भए पनि आफूहरूले नपाएको उनको गुनासो छ।
सहिदको स्मृतिमा छिन्ताङमा २०५२ सालमा सहिद पार्क तथा सालिक स्थापना गरिएको थियो। सहिद स्मृति प्रतिष्ठान, छिन्ताङका अध्यक्ष रुपलाल राई भन्छन्, ‘सहिद परिवारका नाममा अनावश्यक स्वार्थको राजनीति गरेर नेताहरूले कुर्सी जोगाइरहेका छन्।’
सहिदको नाममा खोकु, छिन्ताङ र आँखिसल्ला (खाल्सा) क्षेत्र समेटेर सहिदभूमि गाउँपालिकाको नामकरण गरिएको हो। राहत, रोजगारी, प्राविधिक तथा व्यावसायिक सीप तालिम, सहिद परिवार परिचयपत्रलगायतका माग उठाइए पनि राज्य उदासीन रहेको गुनासो छ।
१ सय १२ वर्षको अस्पताल धीमा गतिमा
वि.सं. १९७० सालमा स्थापना भएको अस्पतालले अपेक्षाकृत सेवा दिन सकिरहेको छैन। स्वास्थ्य जनशक्ति अभावदेखि सामान्यभन्दा जटिल उपचारका लागि पनि सेवाग्राहीले अझै धरान र विराटनगर धाउनुपर्ने बाध्यता टरेको छैन।
६ वर्षअघि ल्याइएका आईसीयू र भेन्टिलेटर मेसिन जनशक्ति अभावका कारण पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। यस वर्षदेखि भने डायलासिस सेवा सुरु भएको छ।
वि.सं. १९७० मा त्रिचन्द्र अस्पताल नामबाट खुलेको यो अस्पताल तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा स्थापना भएको थियो। दशकौँसम्म १५ शैयामा सीमित अस्पताल हाल २५ शैयामा सञ्चालनमा छ भने १ सय शैयामा स्तरोन्नति गर्ने क्रममा छ।
भ्याट बाहेक २५ करोड २० लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न पाँचतले भवन निर्माण भइरहेको छ। प्रदेश सरकारको सहयोगमा २०८३ सालसम्म सम्पन्न गर्ने लक्ष्य रहेको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए।
सरकारी मापदण्डअनुसार १ सय शैयाको अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक स्वास्थ्य, फिजिसियन, अर्थोपेडिक तथा नाक–कान–घाँटी विशेषज्ञ आवश्यक पर्ने जनाइएको छ।
सडक बन्यो, पुल निर्माण अधुरै
कोशी राजमार्ग (धरान–धनकुटा सडक) धनकुटालाई तराईसँग जोड्ने मुख्य लाइफलाइन हो। मर्मतसम्भार अभावका कारण सडकमा खाल्डाखुल्टी बढ्दा दुर्घटना हुने गरेका छन्। बाढीले क्षति पुर्याएका केही खण्डमा सुधार तथा पुनर्निर्माण कार्य भइरहेको छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत लेगुवादेखि हिले हुँदै तेह्रथुमको चित्रेसम्म सडक जोडिएको छ। वसन्तपुर–सिधुवा–शुक्रबारे डबल लेन सडक प्रदेश सरकारको लगानीमा निर्माण भएको १७ किलोमिटर लम्बाइको नयाँ सडक हो।
तराईदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने द्रुत मार्गका रूपमा निर्माण गरिएको तमोर करिडोर जिल्लाको महत्वपूर्ण सडक सञ्जाल हो। चतरा–मूलघाट–गणेशचोक सडक कालोपत्रे भइरहेको छ। १ सय ५५ किलोमिटर दूरीको यस सडकअन्तर्गत पहिलो चरणमा पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्म १ सय १२ किलोमिटर कालोपत्रे कार्य तीव्र छ।
तर सडक सञ्जाल विस्तार भए पनि छरुवा र मावा जस्ता खोलामा पुल अभावले वर्षायाममा यातायात अवरुद्ध हुने समस्या रहेको यात्रु पर्शुराम थापाले बताए।
दूधको ९ करोड भुक्तानी नहुँदा कृषक चिन्तित
दुग्ध विकास संस्थान (डीडीसी) ले सात महिनादेखि किसानबाट संकलित दूधको भुक्तानी नगर्दा धनकुटा र छिमेकी जिल्लाका करिब १ हजार १ सय कृषक प्रभावित भएका छन्।
गत साउनदेखि हालसम्म संकलित दूधको ९ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ। हिले र छथर जोरपाटीस्थित सहकारीमार्फत दैनिक ३ हजार लिटरभन्दा बढी दूध संकलन हुँदै आएको छ।
ऋण लिएर उन्नत गाईपालनमा लगानी गरेका कृषकहरू अहिले आर्थिक संकटमा छन्। ‘एकातिर बैंकको ऋण, अर्कोतिर भुक्तानी नपाउँदा कष्टकर अवस्थामा छौँ,’ जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारद कटुवालले भने।
जिल्लामा १ सय २५ गाईफर्म र ८४ दुग्ध संकलन केन्द्र रहेका छन्। दैनिक ४४ हजार ९८ लिटर दूध उत्पादन हुन्छ, जसमध्ये ३२ हजार १ सय लिटर बजारमा जाने गरेको छ।
तरकारी उत्पादनमा अब्बल
गत आर्थिक वर्षमा धनकुटामा १ लाख ६४ हजार २१८ मेट्रिक टन तरकारी उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्षमा १ लाख ३७ हजार ४४८ मेट्रिक टन उत्पादन भएको थियो।
उत्पादित तरकारीमध्ये ९० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको छ। धनकुटामा उत्पादित तरकारी धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड लगायत बजारमा पुग्ने गरेका छन्। साथै भारत, बंगलादेश र भुटान सम्म निर्यात हुने गरेको छ।
मतदाता र मतदानस्थल
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट ३ स्वतन्त्र र १४ विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन्। निर्वाचनका लागि १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ।
स्थानीय तहअनुसार विवरण यस्तो छः
धनकुटा नगरपालिका – २४ हजार २ सय ९८ मतदाता, १५ मतदानस्थल र २९ मतदान केन्द्र
पाख्रीबास नगरपालिका – १७ हजार ७ सय १ मतदाता, १५ मतदानस्थल र २३ मतदान केन्द्र
महालक्ष्मी नगरपालिका – १८ हजार ४ सय ४७ मतदाता, २१ मतदानस्थल र २७ मतदान केन्द्र
सहिदभूमि गाउँपालिका – १३ हजार ५ सय ६४ मतदाता, १४ मतदानस्थल र १९ मतदान केन्द्र
चौबिसे गाउँपालिका – १४ हजार २६ मतदाता, २१ मतदानस्थल र २४ मतदान केन्द्र
साँगुरीगढी गाउँपालिका – १६ हजार ७ सय २ मतदाता, २१ मतदानस्थल
छथर जोरपाटी गाउँपालिका – १३ हजार ६ सय ८७ मतदाता, १२ मतदानस्थल र १८ मतदान केन्द्र
पूर्वको मध्यपहाडी जिल्ला धनकुटा सम्भावना र संघर्ष दुवै बोकेको जिल्ला हो। नारा र योजनाभन्दा प्रभावकारी कार्यान्वयन हुन सके मात्र विकासको लक्ष्य यथार्थमा रूपान्तरण हुन सक्छ।
