पहिले केही सभा गरेर पार्टीका अरू उम्मेदवारका लागि मत माग्दै देश दौडाहामा निस्किने ओली यसपालि आफू उम्मेदवार बनेको झापा–५ मै सीमित छन्, बालेन्द्र पनि मतदातासँग भेटघाटलाई प्राथमिकता दिन थालेका छन्
What you should know
झापा — झापाबाट ६ पटक निर्वाचित भइसकेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली विगतका चुनावमा त्यति धेरै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन्थेनन् । एक/दुई वटा सभामा सहभागिता जनाउने, भाषण गर्ने अनि बाँकी एमाले उम्मेदवारको पक्षमा माहोल बनाउन अरू क्षेत्रतिर हिँडिहाल्थे ।
२०७९ को चुनावताका कनकाई नगरपालिका–३, सुरुंगामा आयोजित सभामा ओलीले भनेका थिए, ‘मेरो निर्वाचन क्षेत्रमा कुनै समस्या छैन, त्यसैले अरू उम्मेदवारलाई देशभरि जिताउन हिँड्ने हो ।’ विगतमा उनले ‘सहजै जित्नेमा कसैले शंकासमेत’ गर्थेनन् ।
तर, यसपालि काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट उम्मेदवारी दिएपछि भने परिस्थिति फेरिएको छ । ओलीनिकट स्रोतका अनुसार, जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगले ४ माघमा स्थानहद फुकुवा गरेपछि ५ सातामा उनले १६ दिन झापामा बिताइसकेका छन् ।
मनोनयन दर्ता गराएपछि सुरुमा दमकको कामक्ष होटलमा बसेर भेटघाट गरेका उनी पछिल्लो पटक डेरा नै लिएर कार्यकर्ता र मतदातासँग निरन्तर संवाद गरिरहेका छन् । चुनावी अभियानका लागि चौथो पटक गत शनिबार झापा पुगेका ओलीले मंगलबार दिनभर स्थानीय एमाले कार्यकर्ता गुणराज थापाको घरमा बसेर कार्यकर्ता भेटघाट गरे ।
बेलुकी स्थानीयस्तरमा आयोजित श्रीमद्भागवत पुराणमा गएर स्थानीयसँग नजिकिने प्रयास गरे । ‘उहाँको मंगलबार कुनै औपचारिक कार्यक्रम थिएन, आफू बसेकै ठाउँमा कार्यकर्ता, मतदाता र भ्रातृ संगठनका प्रतिनिधिसँग भेट्नुभयो,’ ओलीको सचिवालयका दीपेन्द्र दाहालले कान्तिपुरसँग भने ।
विगतमा भाषण र सभामा रुचाउने ओलीलाई यसपालि निकटस्थ र कार्यकर्ताहरूले धेरै नबोल्न, बरु मतदातासँगै भेटघाटमा केन्द्रित हुन सुझाव दिएका छन् । त्यसैले उनले पछिल्लो पटक झापा–५ मै केन्द्रित रहेर प्रत्येक मतदातासँगको भेटघाटलाई प्राथमिकता दिइरहेका छन् ।
‘सायद झापा–५ बाहेक अरूतिरका उम्मेदवारलाई उहाँले बोल्दा झन् नकारात्मक असर पुग्न सक्छ भन्ने मनमा परेको छ, त्यसैले बाहिर उहाँलाई धेरै बोलाइएको पनि छैन । ओली झापा–५ मा केन्द्रित हुँदा पार्टीलाई त फाइदै पुगेको छ भन्ने कतिपय एमाले नेता, कार्यकर्ताले नै भनेको सुन्छु,’ रिडर्स झापाका सदस्यसमेत रहेका विश्लेषक सागर शिवाकोटी भन्छन्, ‘तर, यसपालि झापामा उहाँ जसरी केन्द्रित हुनुभएको छ, त्यसले जोखिमलाई कति गम्भीरताका साथ लिनुभएको छ भन्ने देखाउँछ ।’
ओली निकटस्थहरूका अनुसार, सुरुमा उनले बालेन्द्र आफूसँग प्रतिस्पर्धा गर्न आउँछन् भन्ने विश्वास गरेकै थिएनन् । एमालेको बलियो संगठनात्मक पकड भएका कारण उनले त्यो जोखिम नलिने ओली र एमाले पंक्तिको विश्लेषण थियो । तर उम्मेदवारी दर्ता भएपछि कान्तिपुरसँगको संवादमा उनले ‘रवि (रास्वपा सभापति) बाठा रहेछन्’ भन्दै बालेन्द्रलाई हराउन झापा–५ मा पठाएको टिप्पणी गरेका थिए ।
६ माघमा मनोनयन दर्ता गर्नुअघि बालेन्द्रको पक्षमा देखिएको ‘क्रेज’ र त्यसयता पनि उनी जता जान्छन्, त्यहीं भीड देखिएकाले ओली गम्भीर बनेका छन् । विशेषगरी झापा–५ को सहरी क्षेत्रमा अहिले पनि बालेन्द्रको पक्षमा उस्तै लहर छ । दमकका ३६ वर्षीय रोनिश अधिकारी भन्छन्, ‘बालाई धेरै पटक हेरियो, अस्ति जेन–जी आन्दोलनमा भूमिका पनि देखियो ।’ अटो व्यवसाय गरिरहेका उनी आफूजस्तै अधिकांशले यसपाला फरक मन बनाएको सुनाए । यो माहोल बुझेका ओली झापामै केन्द्रित भएर आफ्नो पार्टीको मत जोगाउने पक्षमा लागेका छन् । बालेन्द्रलाई पनि कतिपय स्थानीयले मतदातासँग कुराकानी नगरेको, गाडीबाट मात्र हिँडेको आरोप लगाउने गरेका थिए । तर, पछिल्लो समय उनले पनि रणनीति बदलेर मतदातासँग दोहोरो संवादलाई बाक्लो पारेका छन् । दमकमा केही दिनअघि झापा–५ नै किन ? भन्ने प्रश्नमा उनले ‘जेन–जीका लागि आफूले गर्न सक्ने काम त्यहीं भएको’ अभिव्यक्ति दिएका थिए ।
ओलीको सक्रियता बढेकाले पनि बालेन्द्रले समेत झापा आएर मतदातासँगको भेटघाट बढाउन थालेका छन्, उनीहरूसँग संवादमा समेत सक्रिय बन्न थालेका छन् । झापा–५ मा उनको सचिवालयबाट सहयोगीदेखि बालेन्द्र पत्नी सबिना काफ्लेसमेत सक्रिय छिन् । झापाको सचिवालयमा रहेर काम गरिरहेका सहयोगी सुरेन्द्र बजगाईं आफूहरूको जित निश्चित भएको दाबी गर्दै भन्छन्, ‘६० हजार मतले जित्छौं, त्यति पुगिसकेपछि गणना गर्नै छोड्दिन्छौं ।’
स्थानीयको बुझाइअनुसार, सुरुवाती दिनमा बालेन्द्र झापा–५ मा हाबी भएजस्तो देखिए पनि पछिल्लो समय ओलीले समेत असन्तुष्ट कार्यकर्तालाई फकाउँदै आफ्नो पक्षमा माहोल बनाउँदै लगेका छन् । तर, परिणामप्रति एमाले कार्यकर्ताहरू नै ढुक्क छैनन् ।
झापा–५ मै पर्ने कमल गाउँपालिका, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगन्ज गाउँपालिकाको ४ वटा वडामा ओलीको ‘राम्रै प्रभाव’ देखिन्छ । कमल गाउँपालिका–७, सुम्निमा चोकमा भेटिएकी ४१ वर्षीया सुकमाया लावतीले आफूले एमालेलाई नै भोट हाल्ने बताइन् । मकै गोड्दै गर्दा भेटिएकी उनले एमालेका कारण गाउँमा विकास भएको भन्दै कान्तिपुरसँग भनिन्, ‘अहिलेसम्म एमालेले नै विकास गरिरहेको छ, सूर्यमै भोट हाल्छु ।’ तर, उनले आफ्नो छोराछोरीले घन्टीलाई भोट हाल्ने बताउँछिन् । ‘छोराछोरीले एकातिर हाल्छन्, हामी अर्कातिर हाल्ने स्थिति छ,’ उनले भनिन्, ‘अहिलेसम्म अरू पार्टी छान्नुपर्छ भन्ने मलाई लागेकै छैन ।’
बुद्धमाया केरुङ लिम्बू (४७) ले चाहिँ आफू माटोमा काम गर्ने किसान भएको बताउँदै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई मत दिने बताइन् । ‘नयाँलाई हेर्ने हो यसपालि, नयाँ भनेको माटो हो,’ उनले यो पार्टीका उम्मेदवार समीर तामाङलाई संकेत गर्दै भनिन् । उनले घन्टी (रास्वपा) का उम्मेदवार आफूहरूको घरसम्म नआएको भन्दै ‘बाटो बाटो कुद्दै आउने, नमस्ते पनि नगरी’ हिँड्ने गरेको सुनाइन् । ‘उम्मेदवार भनेको छ, भोलिपर्सि गाह्रो पर्दा चिन्ने पनि हुनुपर्छ, त्यसैले माटोमै भोट हाल्ने हो,’ उनले भनिन् ।
झापा–५ मा ब्राह्मण, क्षेत्री समुदायबाहेकको जनसंख्या ४४ प्रतिशत छ । जनजातिको जनसंख्या करिब २६ प्रतिशत छ, जसमध्ये धेरै मतदाताको ध्यान श्रम संस्कृति पार्टीले तानेको देखिन्छ । कमल गाउँपालिकामा ४० हजार ७ सय ८६ मतदाता छन् ।
गौरादह नगरपालिकाको ८ वटा वडा पनि झापा–५ मा पर्छ, त्यहाँ ४१ हजार ४ सय ७५ मतदाता छन् । ‘मैले विगतमा एमालेलाई नै भोट हाल्दै आएको थिएँ, तर यसपालि मत बदल्नुपर्छ भन्ने सोचेको छु,’ गौरादह–५ स्कुलचौनका खड्गबहादुर बराइलीले भने ।
गौरीगन्ज गाउँपालिकाका चार वटा वडाको मतदाता संख्या १५ हजार १ सय १९ छ । गौरीगन्ज बजारमा सिलाइ पसल चलाइरहेकी सरस्वती परियार (५५) ले पनि अहिले घन्टीकै पक्षमा माहोल भएको बताइन् । ‘यसपालि नयाँलाई नै हेर्ने भन्ने सोचेको छु, तर उसैलाई दिने टुंगो चाहिँ लगाइसकेको होइन,’ उनले भनिन्, ‘हेरौं अझै केही समय बाँकी छ ।’ ६५ हजार ९ सय ९७ मतदाता रहेको दमक बजार क्षेत्रमा धेरैजसो एमालेका समर्थक कसलाई मत दिने भनेर बताउन चाहेनन् । घन्टीका समर्थक भने खुलेर मत राख्छन् । गौरीगन्जमा भने परिस्थिति अलि फरक देखिन्छ, त्यो क्षेत्रमा एमालेका झन्डा ठाउँठाउँमा देखिन्छन् ।
तर, कतिपय ठाउँमा रास्वपामा मतदान गर्छु भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् । जस्तै, पूर्वप्रहरीसमेत रहेका ८२ वर्षीय चन्द्रप्रसाद राजवंशीले यसपालि अरू कोही नसोची घन्टीलाई मत दिने बताए । ‘सरकारले त घन्टी बजाउन नदिने भन्छ, तर अब बजाउन नदिए पनि मनमा बसिसक्यो,’ उनले कान्तिपुरसँग भने, ‘एकचोटि म कट्टर एमाले थिएँ, तर अब नयाँ पुस्ताका लागि घन्टीमा भोट हाल्छु ।’
बालेन्द्रले हालै निकालेको झापा–५ को वाचापत्रमा चीनको सहयोगमा बनाउने भनिएको ‘दमक औद्योगिक पार्क’ को विषय नसमेटिएकाले समेत कतिपयले प्रश्न गरिरहेका छन् । पार्क निर्माण समितिका अध्यक्ष एवं एमाले नेता गोविन्द थापाले बालेन्द्र ‘नेपालमा चिनियाँ लगानी निषेध गर्ने अभियानमा लागेको’ आरोप लगाएका छन् । एमालेले औद्योगिक पार्कसहित बालेन्द्रले सार्वजनिक गरेको वाचापत्रमा कुनै नयाँ कुरा नभई ओलीले नै अघि सारेको योजना भएको भन्दै मतदाताको मन फर्काउने कोसिस गरिरहेको छ । तर, गौरीगन्जका स्थानीय सञ्चारकर्मी आत्मराम राजवंशी भन्छन्, ‘अहिले संगठनात्मक शक्तिको जे कुरा गरे पनि मतदातामा नयाँको क्रेज छ, कोही बुझेर नयाँको पक्षमा होलान्, कोही नबुझी होलान्, त्यो अलग कुरा हो ।’
विगतमा ओली देशको प्रधानमन्त्री हुने उम्मेदवारका रूपमा झापा–५ आउने गरेकाले कांग्रेस–माओवादी–राप्रपाका कार्यकर्ताले समेत उनलाई भोट दिने गरेको भन्दै उनले थपे, ‘तर, अहिले परिस्थिति फेरिएको छ, उनलाई टक्कर दिन रास्वपाले प्रधानमन्त्रीकै उम्मेदवार ल्याएपछि माहोल फरक बनिरहेको छ ।’ त्यो तहको नेताले विगतमा ओलीलाई कहिल्यै झापामा चुनौती नदिएको समेत उनले बताए ।
२०४८, ०५१, ०५६, ०७०, ०७४ र ०७९ मा गरी ६ पटक उनले संसद्मा झापाको प्रतिनिधित्व गरेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनले उनलाई करिब १२ सय मतान्तरले हराएका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनभन्दा पनि ०७४ को दोस्रो संविधानसभा निर्वाचनमा उनी अझ धेरै मत र मतान्तरले विजयी भएका थिए ।
२०७४ को चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । समानुपातिकतर्फ एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो । २०७९ को चुनावमा प्रत्यक्षतर्फ ओलीले भने देशभरिका उम्मेदवारमध्ये सबैभन्दा धेरै ५२ हजार ३१९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत र रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए । त्यतिबेला ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत साथ दिएको थियो । बदलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले उनको क्षेत्र नं. ३ मा सहयोग गरेको थियो । त्यसबेला माओवादी केन्द्रले कांग्रेससँग चुनावी गठबन्धन गरेको थियो ।
त्यसअघि २०७४ को चुनावमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धन र तालमेलका कारण लामो समयदेखि माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारलाई भोट हाल्न पाएका थिएनन् । तर, अहिले माओवादीसमेत मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।
‘पूर्वमाओवादी केन्द्रसमेत मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले १२ वर्षपछि पहिलो पटक आफ्नो उम्मेदवारलाई मत हाल्न पाउँदै छन्,’ तत्कालीन माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत (रवि) भन्छन्, ‘यसले सबैमा उत्साह ल्याएको छ ।’
पार्टीका उम्मेदवार तामाङले पनि अहिले अरू सबै उम्मेदवार झापा–५ भन्दा बाहिरको भएको दाबी गर्दै ‘गुगललाई होइन, भूगोललाई भोट हालौं’ नारासहित मत मागिरहेका छन् । राप्रपाले झापा–५ मा लक्ष्मी संग्रौलालाई उम्मेदवार बनाएको छ । यस्तोमा ओलीलाई एमालेको संगठनात्मक मत जोगाउनैपर्ने चुनौती छ । त्यही जोखिम बुझेर होला उनले झापामा केन्द्रित भएर मतदाता र कार्यकर्तासँग भेटघाटलाई प्राथमिकता दिएका हुन् ।
