झापा ५ : ओली र बालेन्द्र दुवै बदल्दैछन् चुनावी रणनीति

पहिले केही सभा गरेर अरु उम्मेदवारलाई मत माग्दै देश दौडाहमा निस्किने ओली यसपालि झापा ५ मै सीमित छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन गरिरहेको प्रयासबारे जानकारी पाएका बालेन्द्र पनि मतदातासँग भेटघाट र कुराकानीलाई प्राथमिकता दिन थालेका छन् ।  

फाल्गुन १३, २०८२

पर्वत पोर्तेल, गौरव पोखरेल

Jhapa 5: Both Oli and Balendra are changing their election strategies

What you should know

दमक र गौरीगञ्ज — झापाबाट पाँच पटक निर्वाचित भइसकेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली विगतका चुनावमा त्यति धेरै आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन्थेनन् । एक/दुई वटा सभामा सहभागिता जनाउने, भाषण गर्ने अनि बाँकी एमाले उम्मेदवारको पक्षमा माहौल बनाउन अरु क्षेत्रतिर हिँडिहाल्थे ।

२०७९ को चुनाव ताका कनकाई नगरपालिका–३, सुरुङ्गामा आयोजित सभामा ओलीले भनेका थिए, ‘मेरो निर्वाचनमा क्षेत्रमा कुनै समस्या छैन, त्यसैले अरु उम्मेदवारलाई देशभरि जिताउन हिँड्ने हो ।’ विगतमा उनले ‘सहजै जित्नेमा कसैले शंका समेत’ गर्थेनन् ।

तर, यसपालि काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उनलाई चुनौती दिन झापा ५ बाट उम्मेदवारी दिएपछि परिस्थिति फेरिएको छ ।

ओलीनिकट स्रोतका अनुसार, ४ माघमा जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले स्थानहद फुकुवा गरेपछि एक महिनामा उनले १६ दिन झापामा बिताइसकेका छन् ।

Jhapa 5: Both Oli and Balendra are changing their election strategies

मनोनयन दर्ता गराएपछि सुरुमा दमकको कामाक्षा होटलमा बसेर भेटघाट गरेका उनी पछिल्लो पटक चाहिँ डेरा नै लिएर असन्तुष्ट कार्यकर्ता र मतदातासँग निरन्तर संवाद गरिरहेका छन् । चुनावी अभियानका लागि चौथो पटक गत शनिबार झापा आएका ओलीले मंगलबार दिनभर  स्थानीय एमाले कार्यकर्ता गुणराज थापाको घरमा बसेर कम्तीमा ५० बढी कार्यकर्तासँग भेट गरे ।

बेलुकी स्थानीयस्तरमा आयोजित श्रीमद्भागवत पुराणमा गएर स्थानीयसँग नजिकिने प्रयास गरे । ‘उहाँको मंगलबार कुनै औपचारिक कार्यक्रम थिएन, आफू बसेकै ठाउँमा कार्यकर्ता, मतदाता र भातृसंगठनका प्रतिनिधिसँग भेट्नुभयो,’ ओलीको सचिवालयका दीपेन्द्र दाहालले कान्तिपुरसँग भने ।

विगतमा भाषण र सभामा रुचाउने ओलीलाई यसपालि निकटस्थ र कार्यकर्ताहरुले धेरै नबोल्न, बरु मतदातासँगै भेटघाटमा केन्द्रित हुन सुझाव दिन थालेका छन् । त्यसैले उनले पछिल्लो पटक रणनीति बदलेर झापा ५ मै केन्द्रीत रहेर प्रत्येक मतदातासँग कुराकानीलाई प्राथमिकता दिइरहेका छन् ।

Jhapa 5: Both Oli and Balendra are changing their election strategies

‘सायद झापा ५ बाहेक अरुतिरका उम्मेदवारलाई उहाँले बोल्दा झन् नकरात्मक असर पुग्नसक्छ भन्ने मनमा परेको छ, त्यसैले ओली झापा ५ मा केन्द्रित हुँदा पार्टीलाई त फाइदै पुगेको छ भन्ने कतिपय एमाले नेता, कार्यकर्ताले नै भनेको सुन्छु,’ रिडर्स झापाका सदस्यसमेत रहेका विश्लेषक सागर शिवाकोटी भन्छन्, ‘तर, उहाँ यसपालि झापामा जसरी केन्द्रित हुनुभएको छ, त्यसले जोखिमलाई ओलीले कति गम्भीरताका साथ लिनुभएको छ भन्ने देखाउँछ ।’

पहिले रास्वपा उम्मेदवार बालेन्द्रलाई कतिपय स्थानीयले मतदातासँग कुराकानी नगरेको, गाडीबाट मात्र हिँडेको आरोप लगाउने गरेका थिए । तर, पछिल्लो समय उनले पनि रणनीति बदलेर मतदातासँग दोहोरो संवादलाई बाक्लो पारेका छन् । दमकमा केही दिनअघि उनले झापा ५ नै किन ? भन्ने प्रश्नमा उनले ‘जेनजीका लागि आफूले गर्न सक्ने काम त्यही भएको’ अभिव्यक्ति दिएका थिए ।

ओली निकटस्थहरुका अनुसार, सुरुमा उनले बालेन्द्र आफूसँग प्रतिष्पर्धा गर्न आउँछन् भन्ने विश्वास गरेकै थिएनन् । एमालेको बलियो संगठनात्मक पकड भएका कारण उनले त्यो जोखिम नलिने ओली र एमाले पंक्तिको विश्लेषण थियो । एक महिनाअघि कान्तिपुरसँग अन्तरर्वार्ता दिँदै उनले ‘रवि (रास्वपा सभापति) बाठो रहेछन्’ भन्दै बालेन्द्रलाई हराउन झापा ५ मा पठाउन खोजेको जिकिर गरेका थिए ।

तर, ६ माघमा मनोनयन दर्ता गर्नुअघि बालेन्द्रको पक्षमा देखिएको क्रेज र त्यसयता उनी जता जान्छन्, त्यहीँ देखिएको मानिसहरुको भीडले अर्कै संकेत गरिरहेको थियो । विशेषगरी झापा ५ को शहरी क्षेत्रमा अधिकांशले अहिले पनि बालेन्द्र उम्मेदवार बनेको रास्वपाको चुनाव चिह्न घन्टीमा मत दिने खुलेआम बताउँछन् ।

Jhapa 5: Both Oli and Balendra are changing their election strategies

 दमकका ३६ वर्षीय रोनिश अधिकारीले भने, 'बालाई धेरै पटक हेरियो, अस्ति जेन-जी आन्दोलनमा भूमिका पनि देखियो ।' अटो व्यवसाय गरिरहेका उनी आफूजस्तै अधिकांशले यसपाला फरक मन बनाएको सुनाए । 

यो माहोल बुझेका ओलीले झापामै केन्द्रित भएर चुपचाप आफ्नो पार्टीको मत जोगाउने पक्षमा लागेका छन् । २०७९ सालमा भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ ३५ हजार ८७२ मत ल्याएको थियो ।

ओली प्रत्यक्षतर्फ चाहिँ देशभरिका उम्मेदवारमध्ये सबैभन्दा धेरै ५२ हजार ३१९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका थिए, रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।

त्यसबेला ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत साथ दिएको थियो । बदलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले उनको झापा क्षेत्र नं. ३ मा सहयोग गरेको थियो । त्यसबेला माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गरेको थियो ।

त्यसअघि २०७४ मा चाहिँ एमाले र माओवादी केन्द्र  एकठाउँमा भएको नेकपा थियो । गठबन्धन र तालमेलका कारण लामो समयदेखि माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारलाई भोट हाल्न पाएका थिएनन् ।

तर, अहिले माओवादीसमेत मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।‘नेपाली कम्युनिस्ट पार्टी (पूर्वमाओवादी केन्द्रसमेत मिलेर बनेको पार्टी) का कार्यकर्ताले १२ वर्षपछि पहिलो पटक आफ्नो उम्मेदवारलाई मत हाल्न पाउँदैछन्,’ तत्कालीन माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत (रवि) ले भने, ‘यसले सबैमा उत्साह ल्याएको छ ।’

पार्टीका उम्मेदवार तामाङले पनि अहिले अरु सबै उम्मेदवार झापा ५ भन्दा बाहिरको भएको बुझाउँदै ‘गुगललाई होइन, भूगोललाई भोट हालौं’ नारासहित मत मागिरहेका छन् ।

राप्रपाले झापा ५ मा मार्वल व्यवसायी लक्ष्मी संग्रौलालाई उम्मेदवार बनाएको छ । यस्तोमा ओलीलाई एमालेको संगठनात्मक मत जोगाउनै पर्ने चुनौती छ । त्यही जोखिम बुझेर हुनसक्ने उनले झापामा केन्द्रित भएर मतदाता र कार्यकर्तासँग भेटघाटलाई प्राथमिकता दिएका हुन् ।

Jhapa 5: Both Oli and Balendra are changing their election strategiesस्थानीयको बुझाइअनुसार, सुरुवाती दिनमा बालेन्द्र झापा ५ मा हाबी भएजस्तो देखिए पनि पछिल्लो पटक ओलीसमेत असन्तुष्ट कार्यकर्तालाई फकाउँदै आफ्नो पक्षमा माहौललाई राम्रो बताउँदै लगेका छन् । तर, उनले अझै मेहनत गर्नुपर्ने एमालेकै कार्यकर्ता बताउँछन् ।

२०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा गरी ६ पटक उनले संसद्‍मा झापाको प्रतिनिधित्व गरेका छन् । २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनले उनलाई करिब १२ सय मतान्तरले हराएका थिए ।  २०७९ को निर्वाचनमा भन्दा पनि २०७४ मा उनले अझ धेरै मत र मतान्तरले विजयी भएका थिए ।

ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । अझै पनि झापा ५ मै पर्ने कमल गाउँपालिका, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडामा ओलीको ‘राम्रै’ उपस्थिति देखिन्छ।

कमल गाउँपालिका–७, सुम्निमा चोकमा भेटिएकी ४१ वर्षीय सुकमाया लावतीले आफूले एमालेलाई नै भोट हाल्ने बताइन् ।मकै गोड्दै गर्दा भेटिएकी उनले एमालेका कारण गाउँमा विकास भएको भन्दै कान्तिपुरसँग सुनाइन्, ‘अहिलेसम्म एमालेले नै गरिरहेको छ, सूर्यमै भोट हाल्छु ।’ तर, उनले आफ्नो छोराछोरीले चाहिँ घन्टीलाई भोट हाल्ने बताउँछन् । ‘छोराछोरीले एकातिर हाल्छन्, हामी अर्कातिर हाल्ने स्थिति छ,’ उनले भनिन्, ‘अहिलेसम्म अरु पार्टी छान्नुपर्छ भन्ने हामीलाई लागेकै छैन ।’

बुद्धमाया केरुङ लिम्बु (४७) ले चाहिँ आफू माटोमा काम गर्ने किसान भएको बताउँदै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई मत दिने बताइन् । ‘नयाँलाई हेर्ने यो यसपालि, नयाँ भनेको माटो हो,’ उनले यो पार्टीका उम्मेदवार समिर तामाङलाई संकेत गर्दै भनिन् । उनले घन्टी (रास्वपा) का उम्मेदवार आफूहरुको घरसम्म नआएको भन्दै ‘बाटो बाटो कुद्दै आउने, नमस्ते पनि नगरी’ हिँड्ने गरेको सुनाइन्।

‘उम्मेदवार भनेको छ, भोलिपर्सि गाह्रो पर्दा चिन्ने पनि हुनुपर्छ, त्यसैले माटोमै हाल्ने हो,’ उनले भनिन् । झापा ५ मा ब्राहमण, क्षेत्री समुदायबाहेकको जनसंख्या ४४ प्रतिशत छ । जनजातिको करिब २६ प्रतिशत छ, जसमध्ये अधिकांश मतदाताको ध्यान श्रम संस्कृति पार्टीले तानेको देखिन्छ । कमल गाउँपालिकाकामा ४० हजार ७ सय ८६ मतदाता छन् ।

गौरादह नगरपालिकाको ८ वटा वडा पनि झापा ५ मा पर्छ, त्यहाँ ४१ हजार ४ सय ७५ मतदाता छन् । ‘मैले विगतमा एमालेलाई नै भोट हाल्दै आएको थिएँ, तर यसपालि मत बदल्नुपर्छ भन्ने सोचेको छु,’ गौरादह–५, स्कुलचौनका खड्गबहादुर बराइलीले भने, ‘देशभरि अहिले घन्टीकै माहोल पनि छ ।’

गौरीगञ्ज गाउँपालिकाका चारवटा वडाको मतदाता संख्या १५ हजार १ सय १९ छ । गौरीगञ्ज बजारमा सिलाइ पसल चलाइरहेकी सरस्वती परियार (५५) ले पनि अहिले घन्टीकै पक्षमा माहौल भएको बताइन् ।

Jhapa 5: Both Oli and Balendra are changing their election strategies

‘यसपालि नयाँलाई नै हेर्ने भन्ने सोचेको छु, तर उसैलाई दिने टुंगो नै चाहिँ लगाइसकेको होइन,’ उनले भनिन्, ‘हेरौं अझै केही समय बाँकी छ ।’ ६५ हजार ९ सय ९७ मतदाता रहेको दमकको बजार क्षेत्रमा धेरैजसो एमालेका समर्थक कसलाई मत दिने भनेर बताउन चाहन्थेनन् । घन्टीका समर्थक भने खुलेर आफ्नो मत राख्थे । गौरीगञ्जमा चाहिँ परिस्थिति अलि फरक देखिन्छ, त्यो क्षेत्रमा एमालेका झण्डा–झण्डाहरु ठाउँठाउँमा देखिन्छ ।

तर, कतिपय ठाउँमा रास्वपामा मतदान गर्छु भन्नेहरु पनि प्रशस्तै भेटिन्छन् । जस्तै, पूर्वप्रहरीसमेत रहेका ८२ वर्षीय चन्द्रप्रसाद राजवंशीले यसपालि अरु केही नसोची घन्टीलाई मत दिने बताए ।

‘सरकारले त घन्टी बजाउन नदिने भन्छ, तर अब बजाउन नदिए पनि मनमा बसिसक्यो,’ उनले कान्तिपुरसँग सुनाए, ‘एकचोटी म कट्टर एमाले थिएँ, तर अब नयाँ पुस्ताका लागि घन्टीमा भोट हाल्छु ।’

बालेन्द्रले हालै निकालेको झापा ५ को वाचापत्रमा चीनको सहयोगमा बनाउने भनिएको ‘दमक औद्योगिक पार्क’को विषय नसमेटिएकाले समेत कतिपयले प्रश्न गरिरहेका छन् ।

पार्कका अध्यक्ष एवं एमाले नेता गोविन्द थापाले बालेन्द्रले ‘नेपालमा चिनियाँ लगानी निषेध गर्ने अभियानमा लागेको’ आरोप लगाएका छन् । एमालेले औद्योगिक पार्कसहित बालेन्द्रले सार्वजनिक गरेको वाचा पत्रमा कुनै नयाँ कुरा नभइ ओलीले नै अघि सारेको योजना भएको भन्दै मतदाताको मन फर्काउने कोशिश गरिरहेको छ ।

तर, गौरीगञ्जका स्थानीय सञ्चारकर्मी आत्मराम राजवंशी भन्छन्, ‘अहिले संगठनात्मक शक्तिको जे कुरा गरे पनि मतदातामा नयाँको क्रेज छ, कोही बुझेर नयाँको पक्षमा होलान्, कोही नबुझी होलान्, त्यो अलग कुरा हो ।’

Jhapa 5: Both Oli and Balendra are changing their election strategies

विगतमा ओली देशको प्रधानमन्त्री हुने उम्मेदवारका रुपमा झापा ५ आउने गरेकाले कांग्रेस–माओवादी–राप्रपाका कार्यकर्ताले समेत उनलाई भोट दिने गरेको भन्दै उनले थपे, ‘तर, अहिले परिस्थिति फेरिएको छ, उनलाई टक्कर दिन रास्वपाले प्रधानमन्त्रीकै उम्मेदवार ल्याएपछि माहोल फरक बनिरहेको छ ।’ त्यो तहको नेताले विगतमा ओलीलाई कहिल्यै झापामा चुनौती नदिएको समेत उनले बताए ।

ओलीको सक्रियता बढेपछि बालेन्द्रले समेत झापा आएर मतदातासँगको भेटघाट बढाउन थालेका छन्, उनीहरुसँग संवादमा समेत सक्रिय बन्न थालेका छन् । झापा ५ मा उनको सचिवालयबाट सहयोगीदेखि बालेन्द्र पत्नी सबिना काफ्लेसमेत सक्रिय छिन् ।

झापाको सचिवालयमा रहेर काम गरिरहेका सहयोगी सुरेन्द्र बजगाईं चाहिँ आफूहरुको जित निश्चित भएको भन्दै भन्छन्, ‘६० हजार मतले जित्छौं, त्यति पुगिसकेपछि गणना गर्नै छोड्दिन्छौं ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully