सामाजिक सञ्जाल, ट्राभल ब्लगर र चलचित्रमार्फत नेपालको पर्यटन आकर्षणलाई विश्वभर फैलाउन एमालेले योजना बनाएको छ ।
What you should know
काठमाडौँ — एमालेले आगामी अवधिका लागि पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक इन्जिनका रूपमा अघि सार्दै पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टीले नेपाललाई 'रहस्यमय हिमाली, आश्चर्यजनक प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधता र असाधारण साहसिक अनुभव' दिने विशिष्ट गन्तव्यका रूपमा विश्व पर्यटन बजारमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ। ' गन्तव्य नेपाल' अभियानमार्फत अन्तराष्ट्रिय बजारमा आक्रामक प्रचार–प्रसार गरिने उल्लेख छ। सन् २०२५ मा वार्षिक १२ लाख हाराहारी पर्यटक नेपाल भित्रिएको तथ्यांक छ ।
घोषणापत्रअनुसार पर्यटन पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार र नयाँ गन्तव्यको पहिचान तथा विकासलाई तीव्रता दिइनेछ।
'पर्यटकको सुरक्षा पहिलो प्राथमिकता' र ' हृदयस्पर्शी, अविस्मरणीय नेपाली सत्कार' लाई मूल मन्त्र बनाउँदै सेवा गुणस्तर सुधार गरी पर्यटकको बसाइ अवधि लम्ब्याइने पार्टीको प्रतिबद्धता छ।
अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उडान सेवा प्रदायकहरूसँग सहकार्य गरिने तथा आन्तरिक हवाई सेवालाई सुरक्षित, भरपर्दो र आरामदायी बनाइने योजना प्रस्तुत गरिएको छ। साथै भिसा प्रक्रिया र आन्तरिक उडान भाडादर पुनरावलोकन गरी नेपाललाई थप आकर्षक गन्तव्य बनाइने बताइएको छ।
लक्जरी रिसोर्ट, इको–लज र वेलनेस सेन्टर निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ। सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र तथा चलचित्रमार्फत नेपालका विविध पर्यटन क्षेत्र र अनुभवहरूको आक्रामक प्रचार गरिने योजना छ। यस अभियानमा नेपाली डायस्पोराको सक्रिय सहभागिता सुनिश्चित गरिने पार्टीले जनाएको छ ।
गाउँ–सहरमा रोजगारी र आम्दानी
घोषणापत्रले पर्यटन विस्तारलाई गाउँ र सहर दुवै क्षेत्रमा रोजगारी र आम्दानी सिर्जना गर्ने माध्यमका रूपमा अघि सारेको छ। 'लामो बसाइ, बढी खर्च' रणनीतिमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य पार्टीले राखेको छ। एमालेले पर्यटनलाई समग्र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएको छ।
